त्रिदेशीय मोटर र्‍याली चितवनमा

पोखरा न्युज – १३ फागुन ।

एशियाका तीनवटा देशका शहर पुग्ने त्रिदेशीय मोटर र्‍यालीले शनिबार चितवनका विभिन्न क्षेत्रको परिक्रमा गरेको छ । हिमालयन ड्राइभ–६ नाम दिइएको उक्त र्‍यालीमा नेपाल, भारत र भुटानका प्रतिस्पर्धी सहभागी भएका छन् ।

र्‍याली चितवन जिल्लाका बीसहजारी ताल, भरतपुर, नारायणगढ, देवघाट, कालिका नगरपालिका, पर्सा लोथर ड्याम हुँदै सौराहामा पुगेको छ । जिल्लामा १२२ किलोमिटर यात्रा गरिएको र्‍यालीका चितवन संयोजक राजन पियाले जानकारी दिए । आइतबार पुनः सौराहाबाट लोथर ड्याम हुँदै हेटौँडा, पथलैया, निजगढ, इटहरी हुँदै र्‍याली भारतको पश्चिम बंगाल प्रदेशको मूर्ति भन्ने ठाउँ हुँदै भुटान पुगेर पुनः भारतको दार्जिलिङ आएर समापन हुने कार्यक्रम रहेको छ ।

र्‍यालीमा प्रतियोगीका रुपमा ४२ वटा कार सहभागी छन् । त्यसमध्ये सात वटा नेपालका र सातमध्ये पाँच चितवनका रहेका छन् । र्‍यालीले तीन देशमा गरी दुई हजार किलोमिटरभन्दा बढी दूरी पार गर्नेछ । भारतको जस्ट स्पोर्ट, नेपालको नासा र चितवन अटोमोबाइल डिलर्स एशोसिएसनले र्‍यालीको आयोजना गरेका हुन् ।

र्‍याली भारतको सिलगुडीको सिटीसेन्टरबाट शुक्रबारदेखि शुरु भएको हो । र्‍याली छ दिनसम्म सञ्चालन हुने एशोसिएसनका सदस्य दाताराम घिमिरेले बताए ।

र्‍याली शुरु हुनुअघि आज बिहान सौराहामा स्वागत गरिएको थियो । चितवन अटोमोबाइल डिलर्स एशोसिएसनले आयोजना गरेको स्वागत कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान, रत्ननगर नगरपालिका वडा नं ७ का अध्यक्ष एवं रेवानका केन्द्रीय उपाध्यक्ष राजन भट्ट, एशोसिएसनका अध्यक्ष ईश्वरकुमार श्रेष्ठ, सचिव इन्द्र रेग्मीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सोही अवसरमा रेष्टुरेण्ट एण्ड बार एशोसिएसन, सौराहाले ¥यालीमा सहभागीलाई खादा र टीका लगाएर स्वागत गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button