१०० वर्ष उमेर पुगेका उपसैनिकलाई मासिक १० हजार भत्ता दिइने

पोखरा न्युज – २६ फागुन ।

नेपाली सेनाले १०० वर्ष उमेर पुगेका उपसैनिकलाई मासिकरुपमा रु १० हजार भत्ता उपलब्ध गराउने भएको छ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीले धनकुटाको दुई नं वाहिनी अड्डा हिलेमा शनिबार आयोजित भूपू सैनिक सम्मेलनमा १०० वर्ष उमेर पुगेका भूपू सैनिकलाई शताब्दी मासिक भत्ता उपलब्ध गराउने जानकारी दिए।

नेपाली सेनाले ९० देखि ९९ वर्ष उमेर समूहका भूपूसैनिकलाई कल्याणकारी कोषबाट पूर्व शताब्दी मासिक भत्ता रु तीन हजार उपलब्ध गराउनेछ। सैनिक कल्याणकारी कोषले ७० देखि ८० वर्ष उमेर समूहका भूपूलाई मासिक रु दुई हजार तथा अन्यलाई रु ४०० भत्ता उपलब्ध गराउँदै आएको छ।

विसं २०३२ मा रु एक करोड २४ लाखबाट शुरु भएको सैनिक कल्याणकारी कोषको यथार्थ रकम रु ४२ अर्ब तीन करोड ३८ लाख पुगेको छ। शान्ति सैनिकबाट प्राप्त हुने रकम उक्त कोषको मूल स्रोत हो। उक्त कोषमा रहेको रकमको ब्याजबाट बहालवाला तथा भूपूको हितका लागि विभिन्न कल्याणकारी कार्यक्रम सञ्चालन हुँदै आएको छ।

भूपू सम्मेलनका क्रममा तेह्रथुम, धनकुटा, संखुवासभा र भोजपुरमा रहेका ज्येष्ठ भूपूमध्ये ८६ वर्षीय जसबहादुर लिम्बूलाई नगद पुरस्कार र दोसल्ला ओढाएर सम्मान गरिएको थियो। सो अवसरमा सर्वोत्कृष्ट र उत्कृष्ट लघुवित्त कार्यक्रमका उद्यमीलाई पुरस्कार तथा अशक्त भूपू सैनिक र तिनका परिवारलाई ह्लिचियर वितरण गरिएको थियो।

सैनिक कल्याणकारी कोषबाट भूपू सैनिकको निधन भएमा किरिया खर्चबापत रु २५ हजार आर्थिक सहयोग उपलब्ध गराउने जानकारी गराइयो। सम्मेलनका क्रममा आयोजना गरिएको स्वास्थ्य शिविरबाट ४९२ भूपू र तिनका परिवार लाभावान्वित भएका थिए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button