कालीगण्डकी किनारमा रहेको सिद्धगुफा ओझेलमा

पोखरा न्युज – ०५ चैत्र ।

पाल्पाको बगनासकाली गाउँपालिका–५, राम्दीस्थित कालीगण्डकी किनारमा रहेको सिद्धगुफा प्रचारप्रसार र भौतिक संरचनाको विकास हुन नसक्दा आकर्षक पर्यटकीय गन्तव्य भएरपनि ओझेलमा परेको छ ।

धार्मिक र ऐतिहासिक महत्व बोकेको यस गुफा ऋषिमुनिको तपस्या गर्ने स्थलका रुपमा परिचित रहिआएको छ । कालीगण्डकी नदीको किनारामा रहेको यस गुफा शान्त र रमणीय गुफाभित्र अखण्ड धुनी, अखण्डदीप, रुद्री भइरहन्छ भने, शिव, गणेश, पार्वती लगायतका देवीदेवताका मूर्तिहरु स्थापना गरिएको छ । पाल्पा र स्याङ्जा जिल्ला जोडने राम्दी पुलदेखि दश मिनेट पैदल यात्रापछि गुफामा पुग्न सकिन्छ । सोही गुफामा कालीगण्डकी नदीमा स्नान गरी कार्तिक एकादशी, माघेसंक्रान्ति, शिवरात्रि, पितृमोक्ष, वैशाख एकादशीमा पूजा हुँदै आएको व्यवस्थापक विष्णुप्रसाद न्यौपानेले जानकारी दिए ।

लामो समय वर्षा हुन नसक्दा वैशाखमा यहाँ पानी माग्ने धार्मिक तथा सामाजिक परम्परासमेत रहेको छ । जसको व्यवस्थापन सिद्धगुफा धार्मिक पर्यटकीय क्षेत्र विकास समितिले गर्दै आएको छ । गुफामा सुनवीर माझी, तारापुरी, टीकाराम अधिकारी, नरभुपाल अधिकारी, नीलकण्ठ भट्टराईलगायत तपस्या गरी बसेको मन्दिरका व्यवस्थापक न्यौपानले बताए।

मन्दिरकी सदस्य पार्वती भट्टराईका अनुसार मनोकामना पूरा हुने भएकाले दैनिक ५० देखि सयसम्म मानिस दर्शनका लागि आउने गर्दछन् । गुफा अवलोकन लागि स्वदेशी तथा विदेशी पर्यटकसमेत यस क्षेत्रमा पुग्न थालेपछि चहलपहल बढेको हो । धार्मिक पर्यटकका लागि धर्मशाला निर्माण कार्य अगाडि बढाए पनि बजेटको अभावमा निर्माण कार्य अधुरो रहेको छ । गुफाको तल्लो भागबाट कालीगण्डकी कोरिडोर विस्तार गरेकाले गुफा जोखिममा परेको भन्दै स्थानीय बासिन्दा चिन्तित भएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button