Pokhara News

महले सबै भाँडा भरिए, मह बेच्न बजारको खोजी

पोखरा न्युज – ०४ बैशाख ।

मोरङका मौरीपालक किसान मह बेच्न बजारको खोजी गरिरहेका छन् ।

आफूहरुले उत्पादन गरेको मह बिक्री नभएपछि मौरीपालक किसान आफूले उत्पादन गरेको मह बेच्ने बजारको खोजी गरिरहेका हुन् । उर्लाबारी र पथरी शनिश्चरे नगरपालिकाका ८८ जना किसान व्यावसायिक मौरीपालनमा लागेपछि महको उत्पादन बढेका कारण मह बेच्ने ठाउँ नहुँदा समस्या भएको हो ।

स्थानीय बजारको मागभन्दा बढी उत्पादन भएपछि किसान घरमै मह भण्डारण गरी बजार खोज्न थालेको मेलीफेरा मौरीपालन सहकारी संस्था अध्यक्ष बोधराज खतिवडाको भनाइ छ । उर्लाबारी क्षेत्रमा मात्र यो मौसममा ९० क्विन्टल मह उत्पादन भएको संस्थाका अध्यक्ष खतिवडाले सुनाए।

किसान रमेश खड्काका अनुसार तोरी फुल्ने मौसममा भन्दा जंगली बिरुवा फुल्ने मौसममा मह बढी उत्पादन भएको छ । एक दिन अघि मह काढ्नु भएका खड्काले घरमा धान भण्डारण गरे जसरी नै मह राखेको सुनाए। उनले भने– “मह यति धेरै उत्पादन भयो कि किनेर ल्याएका सबै भाडा भरिएर घरका जग, अंखोरामा पनि मह राख्नुपर्ने अवस्था छ ।”

खड्काले यो वर्ष तोरी फुलेको सिजनमा चार क्विन्टल र जंगली फूलको मौसममा दुई क्विन्टल गरी छ क्विन्टल मह उत्पादन गरेका छन् । उनले हाल २५ घार मौरी पालेका छन् । गत वर्ष पाँच क्विन्टल मह उत्पादन गर्नुभएका खड्काले भने–“४ क्विन्टल बिक्री भयो । एक क्विन्टल मह मौरीलाई खुवाएर सकेँ ।”

अध्यक्ष खतिवडासँग अहिले ७० घार मौरी छन् । एक पटकमा एक घारबाट १० किलोसम्म मह उत्पादन हुने खतिवडाको भनाइ छ । अर्का किसान भोला पोख्रेलको १३ घारबाट ११४ किलो, हरि विष्टको १६ घारबाट १०८ किलो र नवीन कार्कीको १० घारबाट ८० किलो मह दुईदिन अघि मात्र काढिएको हो ।

मौरीपालन विकास शाखा, गोदावरीका प्राविधिक सहायक सुवास खनालको प्रत्यक्ष निगरानीमा मह काढेका किसान डाबर र पतञ्जलीको महको प्रयोगलाई घटाउन सरकारी स्तरबाट जनचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउछन् ।

प्राविधिक सहायक खनालका अनुसार महलाई आगोमा पकाउनु हुँदैन, तर बहुराष्ट्रिय कम्पनीको मह ८० डिग्री तापक्रममा उमालेको हुन्छ । त्यसैले, सबै फूलबाट प्राप्त मह एकै रङको हुने हुन्छ । हरेक वनस्पतिअनुसार महको पनि फरक स्वाद र रङ हुने हुनाले स्वदेशी महको प्रयोग उपयोगी हुन्छ ।

(प्रतिकात्मक तस्बिर)

अन्य खबर

विना धितो कर्जा उपलब्ध गराउन माग

पोखरा न्युज

दूधकोशी जलविद्युत् आयोजनाको सुरुङ खन्न टिबिएम प्रयोग गरिने

रासस

पूर्वाधार निर्माणका माध्यमबाट राष्ट्रको समृद्धि : अर्थमन्त्री

रासस
खुल्दैछ.......