अन्नपूर्ण क्षेत्रमा टिम्स कार्ड छल्ने प्रवृत्ति बढ्दो, कारबाहीको व्यवस्था फितलो

काउन्टर व्यवस्थित नहुँदा टिम्स छली रोक्न कठिनाइ :

हरि वास्तोला, पोखरा न्युज – ११ वैशाख ।

अन्नपूर्ण क्षेत्रको भ्रमणमा जाने पर्यटकसँग टिम्स (पदयात्री सूचना व्यवस्थापन प्रणाली) वापत शुल्क उठाउने गरिए पनि यसको राम्रो व्यवस्थापन गर्न नसक्दा टिम्स छली रोक्न कठिनाइ भएको छ ।  टिम्स छली गर्नेलाई हुने कारबाहीको व्यवस्था फितलो हुनुले पनि टिम्स छलीले प्रसय पाएको छ । टिम्स कार्ड छलेको पदयात्री भेटेको खण्डमा  समाएर अनिवार्य कार्ड लिन लगाइए पनि अन्य कारबाहीको व्यवस्था  छैन ।

नेपालमा पर्यटन व्यवसायको महत्वपूर्ण हिस्सा ओगटेको पदयात्रा पर्यटनलाई व्यवस्थापन गर्नका लागि ७ वर्ष अघिदेखि पदयात्रीका लागि ‘टिम्स कार्ड’ अनिवार्य लिनुपर्ने व्यवस्था गरिए पनि यसलाई व्यवस्थित गर्न नसक्दा त्यस वापत उठ्नुपर्ने राजस्वमा कमी आएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत पर्ने अन्नपूर्ण सर्किटमा जाने पदयात्रीले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप)को प्रवेश कार्ड र टिम्स कार्ड लिनुपर्ने भए पनि एक्यापको कार्ड लिने तर टिम्स कार्ड सकेसम्म छल्ने प्रवृत्ति देखिएको छ ।

नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख सूर्य थपलियाले उक्त क्षेत्रमा पर्यटक लिएर जाने सवारीका चालकले काउन्टरमा अटेर गरेर कर्मचारीलाई धम्क्याउँदै टिम्स बिना नै छिर्ने गरेको पाइएको बताए । टिम्स कार्ड छल्ने प्रवृति बढेसँगै नेपाल पर्यटन बोर्ड पोखराले हालै म्याग्दीको तातोपानीस्थित टिम्स काउन्टर र विरेठाँटीमा गरेको स्थलगत अनुगमनका क्रममा पनि टिम्स कार्ड छल्ने गरेको पाइएको उनले जानकारी दिए ।

भएका टिम्स काउन्टरमा कर्मचारी थप गर्नुका साथै पर्यटक प्रहरी परिचालन गर्न सकिएमा टिम्स ठगीलाई रोक्न सकिने उनको भनाइ छ ।
व्यक्तिगत रुपमा विना ट्रेकिङ कम्पनी जाने पर्यटकका लागि टिम्स कार्डको वितरण नेपाल पर्यटन बोर्ड गरेको छ भने र समूहगत रुपमा गाइड र सहयोगी सहित जाने पर्यटकका लागि ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान) मार्फत टिम्स शुल्क लिने गरिएको छ ।

नेपाल पर्यटन बोर्डले टिम्स कार्डबापत प्रति पदयात्री दुई हजार रुपैयाँ लिने गरेको र टानले समूहगत रुपमा प्रति पदयात्री एक हजार रुपैयाँ लिने गरिएको छ ।

टिम्स कार्डको बिक्रीबाट सङकलित रकम बोर्ड र टानले समझदारीमा खर्च गर्नुपर्ने व्यवस्था छ । उक्त रकम मध्ये ३० प्रतिशत बोर्डको र ३० प्रतिशत टानको भागमा पर्छ भने बाँकी ४० प्रतिशतमा ३० प्रतिशत यी दुबै संस्थाले संयुक्त रूपमा पर्यटकीय विकासमा र १० प्रतिशत मजदुर कल्याणकारी कोषमा खर्च गर्नुपर्ने प्रावधान छ । अन्नपूर्ण पदयात्रा मार्ग अन्तर्गत बेँसीसहर, धम्पुस, वीरेठाँटी र तातोपानीमा टिम्स काउन्टर रहेका छन् ।

टान पश्चिमाञ्चलका अध्यक्ष दीपकराज अधिकारी टिम्स कार्डको अनिवार्यता सम्बन्धमा पर्यटकलाई सचेतना गराउने किसिमका कार्यक्रम गर्दै आइएको र यस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने बताए । पर्यटन प्रहरीलाई अझै स्रोतसाधन सम्पन्न गराउँदै परिचालन गर्नु आवश्यक रहेको अधिकारीको भनाइ छ ।

उनका अनुसार अन्नपूर्ण क्षेत्रमा पदयात्राका लागि जाने पर्यटकलाई टानले पथ प्रदर्शक र सहयोगी अनिवार्य हुनुपर्ने व्यवस्था गरे पनि विना पथप्रदर्शक र सहयोगी लिएर जान अटेर गर्ने प्रबृत्ति बढेको छ ।

“टानले पदयात्रामा जो पथप्रदर्शक र सहयोगीका लागि १० लाख रुपैयाँको विमाको व्यवस्था गरेको छ,” अधिकारीले भने, “सम्बन्धित कम्पनीले टिम्स काट्दा उल्लेखित विवरणका आधारमा मात्र विमा सम्बन्धमा दावी गर्न सकिने हुँदा पनि यसलाई हामीले उच्च प्राथमिकतामा राख्ने गरेका छौं ।”

टिम्स काउन्टरलाई व्यवस्थित गर्नु आवश्यक भएको बताउँदै उनले टिम्स छल्ने, पथप्रदर्शक र सहयोगी बिना पदयात्रामा जाने क्रमलाई रोक्नु अपरिहार्य भएको बताए ।

पथप्रदर्शक र सहयोगी बिना पदयात्रामा जाने क्रम बढ्दा सो क्षेत्रमा काम गर्ने मजदूरको रोजगारीमा कमि आउन थालेको छ ।
विहान ६.०० बजेबाट बेलुका ६.३० बजेसम्म टिम्स काउन्टरहरू खुल्ने भए पनि उक्त समयको अघि पछि टिम्स छल्दै पर्यटक छिर्ने भएका कारण पनि समस्या बढेको हो ।

अन्नपूर्ण सर्किटमा पदयात्रा गर्ने मुख्य समय समय सेप्टेम्बरदेखि नोभेम्बर र मार्चदेखि मे सम्म हो । पदयात्राका लागि आउने पर्यटकको काउन्टरबाट टिम्स कार्ड भए नभएको जाँच गर्ने गरिए पनि कतिपय पर्यटक टिम्स कार्ड छल्ने उद्देश्यले नै आउने गरेका कारण पनि यसको रोकथाम अपरिहार्य छ ।

पछिल्लो जनवरीदेखि मार्चका तीन महिनामा सार्क राष्ट्रबाट आउने पर्यटकको संख्या क्रमशः ७६, ९८ र एक सय २७ छ भने अन्य राष्ट्रबाट आउने पर्यटकको संख्या क्रमशः एक हजार नौ, एक हजार ४९१ र दुई हजार ८२३ रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button