ढाका मोहन बराल ( गणेश )
पोखरा, १० बैशाख –
“मनकामना केबलकार पोखरा कप २०७२” को उपाधि लक्ष्मी हुण्डाई मनाङ मर्स्याङ्दी क्लवले हात पारेको छ । शनिबार पोखरा रंगशालामा सम्पन्न भएको पोखरा कपको पाचौं संस्करणको फाईनल खेलमा मनाङले विभागिय टिम त्रिभुवन आर्मी क्लवलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो ।
खेलमा म्यान अफ दी म्याच घोषित कप्तान अनिल गुरुङले दुई, ओलावालेले दुई र सुजल श्रेष्ठले एक गोल गर्न सफल भएका थिए । खेल सुरु भएको पहिलो मिनेटमै गोलरक्षक विकास कुथुलाई छल्दै कमल श्रेष्ठको पासमा पहिलो गोल गर्न सफल अनिलले खेलको १० औं मिनेटमा ओलावालेको पासमा पुन दोश्रो गोल गरी आफ्नो टिमलाई अग्रता दिलाए ।
ओलावालेको पासमा सुजल श्रेष्ठले खेलको ३० औं मिनेटमा गोल गरे । खेलको ३४ मिनेटमा आफ्नो पहिलो गोल गरेका ओलावालेले ५० औं मिनेटमा विश्वास श्रेष्ठले कर्नरमा अनिल गुरुङको हेड पासमा हेड टु हेड गोल गरेका हुन ।
प्रतियोगितामा उपाधि बिजेता मनाङले ट्रफी, मेडल र प्रमाण पत्र को साथमा ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्यो भने उपविजेता आर्मीले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा मनाङबाट उत्कृष्ट डिफेन्डर (कमल श्रेष्ठ) , उत्कृष्ट गोलकिपर (किरण चेम्जोङ) र उत्कृष्ट प्रशिक्षक (छिरीङ लोप्साङ) घोषित भए भने उत्कृष्ट मिडफिल्डरमा आर्मीका विमल राना घोषित भए । उनीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्रको साथमा जनहि १५-१५ हजार प्रदान गरीएको थियो । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी रुपमा पनि मनाङका अनिल गुरुङनै घोषित भए । उनले यामाहा कम्पनीको एक थान मोटरसाइकल प्राप्त गरेका छन ।
सर्वाधिक गोलकर्ताको उपाधि भने मनाङका ओलावाले र सशस्त्र प्रहरी वल एपिएफका रन्जन विष्टले बाडे। प्रतियोगिता अवधि भर ५-५ गोल गरेका उनीहरुले १५ हजार राशिको उक्त पुरस्कार बाँडेका हुन् ।
आर्मी करीब ३ महिना अघि आहा रारा गोल्ड कपको फाईनलमा १–० ले मनाङसंग पराजित भएको थियो । खेलको सूरुवातमै गोल खाएर दबाबमा परेको बताउदै आर्मीका प्रशिक्षक मेघराज केसीले आफ्ना खेलाडीहरुको तालमेल मिल्न नसक्दा हार व्यहोर्नु परेको बताए । मनाङका प्रशिक्षक छिरिङ लोप्साङले आफुहरुको रणनिती र खेलाडीको उत्कृस्ट पर्दशनको कारणले गर्दा जित सहज भएको बताए ।
खेलको २१ औं मिनेटमा मनाङका हेमन गुरुङ र आर्मीका सन्तोस तामाङ आपसमा हात हालाहाल गर्दा रेफ्रि सुदीस पाण्डेले दुबैलाई रातो कार्ड देखाएपछी खेलको बाकी समयमा १०-१० खेलाडीमा दुबै टिम सिमित रहे ।
कार्यक्रमका प्रमुख अतिथि राखेप सदस्य सचिव केशवकुमार विष्ट, एन्फाका कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ, मनकामना केवलकारका महाप्रवन्धक विरेन्द्र श्रेष्ठ, क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, एन्फा कास्कीका कार्यवाहक अध्यक्ष धरम बहादुर लामिछाने, प्रतियोगिता संयोजक मिलन गुरुङ लगायतले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए । प्रतियोगिता समापनकोे अवसरमा पुर्व खेलाडी मोतिमान शाक्यलाई सम्मान गरीएको छ ।
कास्की जिल्ला फुटवल संघ (एन्फा) कास्कीको आयोजनामा र मनकामना केवलकारको मुख्य प्रायोजनमा १२ दिनसम्म पोखरा रंगशालामा संचालन भएको उक्त प्रतियोगितामा एक विदेशी सहित १२ टिमको सहभागिता रहेको थियो ।