उन्नाइस वर्षमा पनि बनेन रङ्गशाला

पोखरान्युजडटकम, ५ असार –

जग्गा खरिद गरेको १९ वर्ष बित्न लाग्दासमेत मोरङको वैजनाथपुरमा रङ्गशाला बन्न नसक्दा खेलाडीलाई समस्या भएको छ ।

सुविधासम्पन्न अत्याधुनिक क्षेत्रीय रङ्गशाला निर्माण गर्ने उद्देश्यले खेलकुद मन्त्रालयले मोरङको वैजनाथपुरमा २०५५ सालमा रु ८५ लाखमा १५ बिगाहा १५ धुर जग्गा खरिद गरेको थियो ।

पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय सचिव टङ्कप्रसाद कट्टेलका अनुसार ०६५-६६ मा जग्गा घेराबारका लागि आएको रु ६८ लाख ८५ हजार बजेटबाट त्यहाँ कम्पाउन्ड वाल र एकतले कार्यालय भवन निर्माण गरिएको छ ।

त्यस्तै ०६९-७० र ०७०-७१ मा क्रिकेट पिच र तारजालीका लागि परिषद्बाटै ठेक्का लागेर निर्माणकार्य सम्पन्न गरिएको छ । आव ०७१-७२ मा प्याराफिट निर्माणका लागि रु १० लाख, त्यस्तै ०७२-७३ मा पुनः क्रिकेट पिच, कम्पाउन्ड वाल बनाउन भन्दै रु ४० लाख बजेट आएको छ । तर यति धेरै बजेट आउँदासमेत जग्गा खरिद गरिएको १९ वर्ष लागिसक्दासमेत त्यहाँ कुनै एउटा खेल खेलाउने अवस्थासम्म पनि सिर्जना भएको छैन ।

कार्यालय सचिव कट्टेलका अनुसार वैजनाथपुर रङ्गशालामा अहिलेसम्म क्रिकेट पिच निर्माण गरी तारजालीले घेर्ने, १५ मिटरको प्याराफिट निर्माण, एकतले कार्यालय भवन निर्माणलगायतका कार्य गरिएको छ । जसका लागि परिषद्ले विभिन्न चरणमा गरी लगभग रु दुई करोडभन्दा बढी रकम खर्च गरिसकेको छ । हाल उक्त स्थानमा रु १८ लाखको लागतमा सुटिङ हलको समेत निर्माणकार्य सुरु भएको छ ।

मास्टर प्लानअनुसार यस मैदानमा क्रिकेट पिच, कबड्डी मैदान, कभर्ड हल, स्विमिङ पुल, हक्की, बास्केटबल, टेनिस, भलिबल, सफ्ट टेनिस, सुटिङ हललगायतका खेल खेलाउन मिल्ने गरी भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने हुन्छ । साथै चिल्डे«ेन पार्क, चमेना गृह, स्विमिङ पुल र कार्यालय भवनसमेत निर्माण गर्ने योजना बनाइएको छ ।

पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष रवीन नगरकोटीका अनुसार विराटनगरस्थित सहिद रङ्गशालालाई अभ्यास गर्ने मैदानका रुपमा मात्रै प्रयोग हुने गरी वैजनाथपुरको रङ्गशालामा पूर्वाधार निर्माण गर्नुपर्ने छ ।

तर बजेट नै आवको अन्त्य हुने समयमा पठाउने सरकारको परिपाटीले कतिपय अवस्थामा काम नै नभई बजेट फ्रिज हुने गरेकाले रङ्गशाला निर्माण गर्न समस्या हुने गरेको कार्यालय सचिव कट्टेलको भनाइ छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button