पल्सर स्पोर्टस् अवार्ड साउनको पहिलो हप्ता

 

पोखरान्युजडटकम, ५ असार –

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले यो वर्ष बजाज पल्सर स्पोर्टस् अवार्ड आगामी साउन महिनाको पहिलो हप्ता गर्ने भएको छ ।

अवार्डको १२औँ संस्करण आगामी साउन ६ गते गर्ने निर्णय गरिएको मञ्चले यहाँ आज पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ ।

यो वर्ष विभिन्न आठ विधामा अवार्ड प्रदान गरिनेछ जसमा उत्कृष्ट पुरूष, महिला र युवा खेलाडी तथा वर्षका उत्कृष्ट प्रशिक्षकका अवार्ड हुनेछन् । त्यस्तै, लाइफटाइम अचिभमेन्ट अवार्ड, लोकप्रिय खेलाडी, वर्षका उत्कृष्ट पारा खेलाडी र स्पेशल अवार्डसमेत प्रदान गरिनेछ । त्यसमध्ये वर्षका उत्कृष्ट पुरूष, महिला र लोकप्रिय खेलाडीले जनही एउटा पल्सर मोटरसाइकल पाउनेछन् । त्यसैगरी, अन्य विधाका विजेताले रु ५० हजार पाउनेछन् ।

मञ्चका सचिव राजु घिसिङको संयोजकत्वमा रहेको खेलाडी छनोट समितिले विभिन्न विधामा परेका खेलाडीको सूची सार्वजनिक गरेको बताइएको छ । सोही समितिले छानेका खेलाडीमध्ये उत्कृष्ट खेलाडी पुरस्कृत हुने मञ्चले जनाएको छ ।

मञ्चले हरेक वर्ष अवार्डको आयोजना गर्दै आएपनि अघिल्लो वर्ष भूकम्पका कारण अवार्ड रोकिएको थियो । तर अबका दिनमा अवार्डलाई निरन्तरता दिइने मञ्चको भनाइ छ । यसैबीच, मञ्चले पल्सर स्पोर्ट्स् अवार्ड २०७२ का मुख्य प्रायोजक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिसँग पाँच वर्षका लागि रु १५ लाख बराबरको प्रायोजन सम्झौता गरेको छ । सम्झौतापत्रमा मञ्चका तर्फबाट अध्यक्ष महेश आचार्य र हंसराज हुलासचन्दका तर्फबाट कार्यकारी निर्देशक शेखर गोल्छाले हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार हंसराजले रु सात लाख बराबरको तीनथान पल्सर बाइक उपलब्ध गराउनेछ जसबापत अवार्डको नाम बजाज पल्सर स्पोर्ट्स् अवार्ड–२०७२ हुनेछ । सम्झौतापत्र आदानप्रदान गर्दै कम्पनीका कार्यकारी निर्देशक शेखर गोल्छाले यस वर्ष मञ्चसँग रु १५ लाखको सम्झौता गरेपनि आगामी वर्षमा प्रायोजन बढाउँदै लैजाने बताउनुभयो ।

मञ्चका अध्यक्ष आचार्यले अवार्डको बजेट रु ३० लाख रहेको जानकारी दिँदै यस्ता अवार्ड आयोजना गरेर खेलाडी र खेल क्षेत्रकोे विकासमा टेवा पु¥याउने कार्यमा निरन्तर लागिपर्ने बताउनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button