पोखरा न्युज –
भदौ १ गतेदेखी सडक पार्किङ पनि हटाईने
देशकै ठुलो महानगरपालिका पोखरा लेखनाथ महानगरपालिकालाई हर्न निशेधित क्षेत्र (नो हर्न जोन) बनाउनुका साथै सडक पार्किङ हटाउने भएको छ ।
आउदो साउन १ गतेदेखी हर्न निशेधित क्षेत्र बनाउने तयारी भएको महानगरपालिकाका सूचना अधिकारी ओमराज पौडेलले बताए । उनका अनुसार भदौ १ गतेदेखी महानगरभित्र भईरहेको सडक पार्किङ हटाउने समेत महानगरपालिकाले निर्णय गरेको छ । सडकमै पार्किङ गर्न दिएर महानगरले पार्किङ शुल्क लिएको भन्दै यसअघी पटकपटक विरोध खेप्दै आएको महानगरपालिकाले यस पटक यस्तो निर्णय गरेको हो ।
पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जिसी, उपमेयर मन्जु देवी ग्ुुरुङ, सबै वडाका वडाध्यक्षहरु, नागरिक समाज, पत्रकार, पर्यटन व्यवसायी, उद्योगी, ब्यवसायी लगायत सम्पूर्ण सरोकारवाला पक्षको विहीबार बसेको बेठकले महानगरलाई हर्न निशेधित क्षेत्र बनाउने निर्णय गरेको हो । उक्त निर्णयसंगै असार मसान्त भित्र त्यसको तयारी गर्न सरोकारवाला पक्षहरुलाई आग्रह गर्ने निर्णय भएको महानगरपालिकाका सूचना अधिकारी पौडेलले बताए ।
साथै उक्त बैठकले महानगरपालिका भित्र तत्कालै माईकिङमा रोक लगाउने निर्णय गरेको छ । स्वास्थ्य, सुरक्षा र बिपद्बाहेक अन्य बेला माईकिङमा समेत साउन १ गतेदेखी प्रतिबन्ध लगाउने निर्णय भएको पौडेलले बताए ।
सडक पार्किङ हटाउन सार्वजनिक जग्गाको खोजि गरेर त्यसलाई पार्किङ स्थल बनाउने र सार्वजनिक जग्गा पर्याप्त नभए नीजि क्षेत्रलाई जिम्मा दिएर भएपनि सडक पार्किङको विकल्प खोज्न तर्फ महानगरपालिका उन्मुख भएको छ । यसैगरी बैठकले महानगरभित्र सञ्चालित डिस्को तथा डान्स रेष्टुरेण्टहरुलाई अनिवार्य रुपमा दर्ता प्रकृयामा आउदा आग्रह गरेको छ। डिस्को तथा डान्स रेष्टुरेण्टहरुलाई ‘साउण्ड प्रुफ’ बाहिर आवाज नजाने किसिमको प्रविधि जडान गरेर व्यवसाय संचालन गर्न महानगरपालिकाले आग्रह गरेकोे पौडेलले बताए ।