भूकम्पको केन्द्र बारपाकमा चुनावी रौनक

पोखरा न्युज ।

भूकम्पले घर भत्किएपछि बनाएको टहरोमा नेपाली काँग्रेस र नयाँ शक्ति पार्टीको संयुक्त झण्डा राख्दै बारपाकका मनबहादुर घलेले भन्नुभयो, “स्थानीय तह निर्वाचनमा जुन पार्टीले असहयोग गरयो उसैको झण्डा धुरीमा सजाउनुपरयो ।”

नेपाली काँग्रेस बारपाक कार्यसमितिका सभापति रहेका घले गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा पराजित हुनुभएको थियो । अहिले उहाँ काँग्रेस र नयाँ शक्तिको संयुक्त प्रचार प्रसारमा जुट्नुभएको छ ।

काँग्रेसले नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईलाई गोरखा–२ प्रतिनिधि सभा र गोरखा २ (क)प्रदेश सभा छाडेर गोरखा १ प्रतिनिधि सभा र प्रदेश सभाका साथै गोरखा २ को (ख) प्रदेश सभा लिएको छ । गोरखा २ र (क) प्रदेश सभामा काँग्रेसले नयाँ शक्तिलाई सघाउने र अन्य क्षेत्रमा नयाँ शक्तिले काँग्रेसलाई सघाउने गरी संयुक्त चुनावी घरदैलो अभियान शुरु भएको छ ।

अहिले ‘गोरखा भूकम्प’ को केन्द्र बारपाकमा मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनको रौनक देखिएको छ । गोरखा २ का उम्मेदवार डा भट्टराई, गोरखा २ प्रदेश सभा (ख) का उम्मेदवार काँग्रेसका प्रकाशचन्द्र दवाडी बारपाक पुगेपछि घरदैलो र चुनावी सभाले चुनावी रौनकता थपेको छ । डा भट्टराई र दवाडी बुधबार र बिहीबार बारपाक रहनुभएको थियो ।

बारपाकीले टहरामा झण्डा फहराएका छन् । बारपाकका जितबहादुर घलेले भन्नुभयो, “भर्खर चुनावी सभा तथा घरदैलो अभियान शुरु भएको छ । भोट कसरी हाल्ने भन्नेबारे वृद्धवृद्धालाई मतदाता शिक्षा दिन जरुरी छ । भोट कसरी हाल्ने हो भन्नेमा बारपाकी अन्योलमा छन् ।”

दलहरुले मतदाता शिक्षा अभियान शुरु गरिसक्दा पनि निर्वाचन कार्यालयबाट भने मतदाता शिक्षाको कार्यक्रम शुरु भइसकेको छैन । प्रतिनिधि सभा र प्रदेश सभाका लागि बेग्लाबेग्लै मतपत्र छाप्ने भएपछि मतदाता शिक्षामा ढिलाइ भएको देखिन्छ ।

बारपाकीले विकास, निर्माणमा सहयोग पुरयाउने नेतालाई भोट दिएर जिताउने बताएका छन् । विगतमा खानेपानी, पक्की सडकलगायत विकासको आश देखाए पनि चुनाव जितेकाहरु फर्केर नआएको बारपाकीको गुनासो छ । घर बनाउन बालुवा चाल्दै गर्नुभएकी बारपाककी वृद्धा चिजमाया घलेले भन्नुभयो, “वृद्धभत्ता बढाउने, गाउँमा अस्पताल खोल्न जसले सघाउँछ उसैलाई भोट दिन्छौँ ।”

सरकारी अनुदान लिएर नयाँ घर बनाउन शुरु गर्नुभएका बारपाकका युवा खमबहादुर घलेले पार्टीमा लागेका कार्यकर्ताले जस्तै चुनावी कार्यक्रमलाई समय दिन नसके पनि आफूहरु भोट हाल्ने दिनको प्रतीक्षामा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “घर बनाउन रु १०-१५ लाख चाहिएला जस्तो छ । तर सरकारले रु तीन लाखमात्रै दिने भन्यो । कम्तीमा रु पाँच-सात लाख दिएको भए हुन्थ्यो ।”

घर बनाउन सहयोग गर्ने, गाउँसम्मको सडक कालोपत्र गरिदिने, गाउँमा अस्पताल, विद्यालय निर्माणमा सहयोग गर्ने विकासप्रेमी नेतालाई भोट दिएर जिताउने घलेको भनाइ छ । “विकास जसले गर्छु भन्छ उसैलाई भोट दिन्छौँ,” उहाँले भन्नुभयो ।

भूकम्पपछि विस्थापित बारपाकीले सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सघाउने नेतालाई भोट दिने बताएका छन् । बारपाकको दलित बस्ती, स्नान र मान्दे्र बस्ती सुरक्षित ठाउँमा सार्नुपर्ने भए पनि अहिलेसम्म प्रक्रिया शुरु भएको छैन । चुनावी घरदैलो अभियानका लागि बारपाक पुग्नुभएका गोरखा २ प्रदेशसभा क्षेत्र (ख) का उम्मेदवार दवाडीले भूकम्पपछिका पुनःनिर्माण, गाउँसम्म आउने सडक, नियमित बिजुलीलगायत विकासमा सघाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

यस्तै घरदैलो अभियानका क्रममा बारपाक पुग्नुभएका पूर्व प्रधानमन्त्री तथा गोरखा २ का प्रतिनिधि सभा उम्मेदवार डा भट्टराईले भूकम्पपीडितलाई घर बनाउन सरकारले कम्तीमा रु पाँच लाखका दरले अनुदान दिनुपर्ने बताउनुभयो । अर्थमन्त्री र प्रधानमन्त्री हुँदाका बखत बारपाकसम्म कच्ची सडक खुलाएको भन्दै डा भट्टराईले चुनाव जिताए एक वर्षभित्रमै बारपाकसम्म सडक कालोपत्र गर्ने बताउनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button