समाजवादमा पुग्नको लागी सहकारीको भूमिका महत्वपूर्ण हुन्छ – मुख्यमन्त्री गुरुङ

पोखरा न्युज – १५ चैत्र । 

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समाजवादमा पुग्नको लागी सहकारीको भूमिका महत्वपूर्ण हुने बताएका  छन्।

सहकारी अध्यक्ष समाजद्धारा पोखरामा विहिबारदेखि शुरु गरेको बृहत् लगानी सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले यस्तो बताएका हुन् । ‘हामीले समाजबादको कुरा गरेका छौ,’ गुरुङले भने, ‘ म एउटा कम्युनिष्ट भएको नाताले पनि एउटा कुरा भन्छु, समाजवादमा पुग्नको लागी जति भूमिका राज्यको हुन्छ त्यो भन्दा बढी सहकारीको भूमिका रहन्छ ।

४ नं प्रदेशको सहकारी क्षेत्रसंग ६५ अर्व  रुपैया रहेको उल्लेख गर्दै  मुख्यमन्त्री गुरुङले सहकारीले पर्यटन, कृषि तथा जलबिद्युत जस्ता क्षेत्रमा लगानी गर्नुपर्ने औल्याए ।  अब फेवाताल र माछापुच्छ्रेको नाम बेचेर मात्र नपुग्ने बताउदै मुख्यमन्त्री गुरुङले पर्यटनको विकास गर्ने हो भने  यहाँको पर्यटनमा छुटै प्रडक्ट निर्माण गर्ने तर्फ लाग्नुपर्छ भन्दै सहकारीलाई त्यसतर्फ केन्द्रित हुन् आग्रह गरे ।  कृषिमा आत्मनिर्भर बनाउदै , जलबिद्युत तथा पर्यटनमा लगानी गरेमा  ४ नं प्रदेशलाई सात बटा प्रदेश मध्येकै उत्कृष्ट र सम्वृद्ध प्रदेश बनाउन सकिने गुरुङले  दाबी गरे ।

आर्थिक विकासका सरकारले लिएको  तीनखम्बे मेरुदण्डमध्ये महत्वपूर्ण मेरुदण्डका रुपमा सहकारी क्षेत्र रहेको  रहेको बताउदै  सहकारीको  पुँजीलाई उत्पादन तथा समृद्धिको अभियानमा लगाउन आग्रह गरे। लगानी सुरक्षाको प्रत्याभूति दिलाउने काम सरकारले गर्नुपर्ने बताउदै  मुख्यमन्त्री गुरुङले  लम्बेतान सरकारी कानुनी प्रक्रियालाई हटाउदै छिटोछरितो बनाउने तर्फ आफुहरु लागिपर्ने बताए ।

पाँच बर्षभित्र सबै खेतीयोग्य जमिनमा सिंचाई, दुई बर्षभित्र प्रदेशभित्रका प्रत्येक घरहरुमा  धाराको पानी पु¥याउने, पाँच बर्षभित्र आर्थिक बृद्धिदर दश प्रतिशत पु¥याउने तथा १४ प्रतिशत जनसंख्या गरिवीको रेखामुनी रहेको  ४ नं प्रदेशमा  पाँच बर्षभित्र  घटाएर १० प्रतिशतमा झार्ने लक्ष्य आफुहरुले लिएको पनि गुरुङले  बताए ।

कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले अध्यक्ष समाजले अघि सारेको मोडेललाई स्थापित गर्ने कुरामा सम्मेलनल कोशेढुङ्गा बन्ने बिश्वास दिलाए।प्रदेशसभा सदस्य कुमार खड्काले प्रदेशसभाले कानून बनाउँदा सहकारीकर्मीहरुको सल्लाह र सुझावमा लगानीमैत्री कानून बनाउन सुझाव दिदै उत्पादन र रोजगारी सिर्जना गर्ने क्षेत्रमा सहकारीले  लगानी गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा एमाले प्रदेश नं ४ सचिवालय सदस्य भीम कार्की, जिल्ला सहकारी संघका रविरमण पराजुली, नेकपा एमाले कास्कीका प्रचार विभाग प्रमुख तेजनारायण अधिकारी, नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण के.सी., नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य झलकपाणि तिवारी र लायन्स क्लब ३२५ बी वानका डिष्ट्रिक्ट गभर्नर धनराज आचार्य लगायतले बोलेका थिए। बक्ताहरुले आ-आफ्नो धारणा राख्दै  अध्यक्ष समाजले महत्वपूर्ण कार्यक्रम राखेको भन्दै कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

सहकारी अध्यक्ष समाजका अध्यक्ष डिल्लीराम बरालको अध्यक्षता भएको बृहत लगानी सम्मेलन कार्यक्रम शुक्रबार सम्म चल्नेछ । सम्मेलनमा सहकारी अध्यक्ष समाजका अध्यक्ष डिल्लीराम बरालले स्वागत मन्तब्य राखेका थिए भने महासचिव रामचन्द्र शर्माले कार्यक्रमबारे प्रकाश पारेका  थिए । कार्यक्रममा सयौको संख्यामा कास्की लगायत प्रदेश ४ का सहकारी अभियन्ताहरु, बौद्धिक व्यक्तित्व तथा समाजसेबीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button