ग्याँसमा प्राप्त हुने कमिशन बढाउनको लागी बिक्रेतानै एकजुट हुनुपर्छ – अध्यक्ष बर्तौला

पोखरा न्युज – १७ चैत ।

ग्याँस बिक्रीमा प्राप्त हुने कमिशन बढाउनको लागी ग्याँस बिक्रेतानै एकजुट हुनुपर्ने गृहलक्ष्मी ग्याँस कम्पनि प्रा.लि. का  अध्यक्ष धर्मराज बर्तौलाले बताएका छन् ।

ग्याँसको मूल्य तथा कमिशन निर्धारण गर्ने काम सरकारको हो भन्दै अध्यक्ष बर्तौलाले सरकारलाई दबाब दिनका लागी सम्पूर्ण डिलर तथा बिक्रेता एकजुट हुनुपर्ने बताएका हुन् । गृहलक्ष्मी ग्याँस कम्पनि प्रा.लि. ले शनिबार पोखरामा आयोजना गरेको नयाँ बर्ष शुभकामना तथा बिक्रेता भेटघाट कार्यक्रममा बर्तौलाले यस्तो बताएका हुन् । ‘नेपालमा ५३ वटा मात्र ग्याँस फ्याक्ट्री छन् तिनीहरुको मात्र आवाज सरकारले सुन्दैन त्यसैले हजारौको संख्यामा रहेका डिलर तथा बिक्रेता  एकजुट भइ कमिशन वृद्धिको  लागी सरकारलाई दवाब दिनुपर्छ,’ – बर्तौलाले भने । उनले बिक्रेताहरूको आवाज बुलन्द पार्न एलपीजी ग्याँस बिक्रेता संघ कास्कीको सदस्यता लिएर एकबद्ध हुन् बिक्रेताहरूलाई आग्रह समेत गरे। हाल बिक्रेताहरुले प्रति सिलिन्डर बिक्रीमा ३२ रुपैया मात्र कमिसन पाउने गरेको बर्तौलाले बताए ।

यस क्षेत्रमा गृहलक्ष्मी ग्याँस र शक्ति ग्याँस २०५२ सालदेखि संचालनमा आएको बताउदै बर्तौलाले यिनीहरुको अवस्था राम्रो भएमा मात्र अरु कम्पनि आउन सक्ने र थप रोजगारी पनि सिर्जना हुन सक्ने धारणा राखे । बर्तौलाले आफ्नो कम्पनीको कुल मासिक बिक्री ६० हजार सिलिन्डर रहेकोमा त्यसको ३८ प्रतिशत मात्र कास्की र तनहुँमा बिक्रि हुने गरेको बताउदै बिक्रेता तथा उपभोक्तालाई आफ्नो क्षेत्रको स्थानीय उत्पादनलाई माया गरिदिन आग्रह समेत गरे । ‘हामीले संकटकालमा समेत यो क्षेत्रका उपभोक्ताहरुलाई ग्याँस उपलब्ध गराएका हौ बाहिरका कम्पनीले यता अप्ठ्यारो परेमा अथवा उनीहरुलाई उतै सजिलो भएमा यहाँ आएर ग्याँस बाड्दैनन्, यसमा तपाइहरु सचेत हुनुहोस्’,- बर्तौलाले भने ।

कार्यक्रममा प्रमुख अतिथि लेखनाथ उद्योग वाणिज्य संघका  अध्यक्ष कृष्णहरि भण्डारीले बिक्रेताहरुले ग्याँस ढुवानी गर्ने बेला बिल भौचर साथमा लिएर हिड्न र नेपाल सरकारको नियम कानुन पूर्णरुपमा कार्यान्वयन गर्ने तर्फ सचेत रहन आग्रह गरे । भण्डारीले अस्वस्थ प्रतिस्पर्धा हटाउन बिकेत्राहारु आफै अग्रसर हुनुपर्नेमा जोड दिए ।

उपभोक्ता मंच कास्कीका अध्यक्ष कपिल नाथ शर्माले बिक्रेताले ग्याँस १४ सय सम्म बेचेको गुनासो आएकाले सरकारले तोकेको मुल्यमा उपभोक्तालाई ग्याँस उपलब्ध गराउनुपर्ने बताए । शर्माले उत्पादक तथा बिक्रेताले उपभोक्तालाई सुरक्षाको हिसाबले कुनैपनि खतरा नहुनेगरि ग्याँस उपलब्ध गराउनुपर्ने र उपभोक्ताले पनि सिलिन्डरलाई माया गरेर जतनसाथ प्रयोग गर्नुपर्ने कुरामा जोड दिए।

नापतौल विभागका कार्यालय प्रमुख मनोज पोखरेलले ग्याँस कम्पनीलाई गुणस्तर चिन्ह दिन खोजिएकाले सोहि अनुसारको भौतिक पूर्वाधार तथा मापदण्ड पुरा गर्ने तर्फ उत्पादक तथा बिक्रेता लाग्नुपर्ने बताए । बिक्रेताले ग्याँस सेफ्टी सम्बन्धि पूर्ण जानकारी लिनु-दिनुपर्ने र नापतौलका लागी ढक तराजु राख्नुपर्ने पनि पोखरेलले बताए ।

कार्यक्रममा बिक्रेताहरुले आ-आफ्नो धारणा तथा समस्या राख्दै ३२ रुपैया कमिशनले  घरभाडा, ढुवानीभाडा तिर्न समेत नपुग्ने बताउदै कमिशन बृद्दि गरिनुपर्ने बताएका थिए । कमिशन थोरै हुदाँहुदै पनि ट्राफिकले ग्याँस ढुवानी गर्ने गाडीलाई यो वा त्यो बहानामा बारम्बार १ हजारको चिट काट्दा आफुहरु थप पिडामा परेको बिक्रेताहरुले गुनासो गरेका थिए । बिक्रेताहरुले ग्याँस बिक्रेता भनेपछि घर धनीले घर भाडामा दिन समेत छाडेको गुनासो  ब्यक्त गरेका थिए ।

कार्यक्रमको अन्त्यमा अध्यक्ष बर्तौलाले आफ्ना बिक्रेताहरु माझ केहि बोनसका स्किम सार्वजनिक गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button