म्याग्दी र बागलुङको सिमानामा अवस्थित पर्यटकीय डुँडेलेक पूर्वाधारको पर्खाइमा

पोखरा न्युज – ०६ बैशाख  ।

म्याग्दीको मालिका गाउँपालिकाको रुम र छिमेकी बागलुङको ताराखोलाको सिमानामा अवस्थित डुँडेलेक प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।

जिल्लाकै अति विकटमा अवस्थित प्राकृतिक सौन्दर्यताले भरिपूर्ण लेकमा रहेको चुचुरोको प्रचुर पर्यटकीय सम्भावना भएपनि आवश्यक पूर्वाधार र प्रचारप्रचारको अभावमा ओझेलमा परेको हो ।

गाउँपालिकाको वडा नम्बर—२ रुमको बेलीगाउँबाट करीब पाँच घण्टाको दूरीमा रहेको डुँडेलेकबाट विभिन्न हिमश्रंखला, मालिका गाउँपालिकाको अधिकांश भूभागका साथै मंगला गाउँपालिका र बागलुङ जिल्लाका विभिन्न बस्तीसमेत देखिन्छन् ।

बहुमूल्य जडीबुटी, भिरमौरी, लालीगुँराससहितका वनस्पतीसमेत प्रशस्तै पाइने रुम बेलीका तुलप्रसाद पुनले बताए । जडीबुटी र पर्यटनका लागि अत्यन्त महत्वपूर्ण स्थान भएपनि सरकारी निकायबाट सहयोग नभएको गुनासो गरिएपछि मालिका गाउँपालिकाले स्थलगत अनुगमनसहित प्रचारप्रसारको तयारीसमेत गरेको छ ।

लेकलाई धार्मिक, पर्यटकीय तथा मह शिकारको गन्तव्य बनाएर आन्तरिक पर्यटकलाई भित्र्याउन सकिने भएकाले गाउँपालिकाले पूर्वाधार विस्तारमा समेत बजेट विनियोजनको तयारी गरेको अध्यक्ष श्रीप्रसाद रोकाले बताए। उनले पदमार्गका लागि करीब रु तीन लाख बजेटसमेत विनियोजन गरिएको जानकारी दिए । “त्यस ठाउँ जडीबुटी र पर्यटनको प्रचुर सम्भावना रहेको क्षेत्र हो । वैशाख महिनाभित्र पदमार्ग त्यहाँ पुग्ने योजना छ”, रोकाले भने ।

गाउँपालिकाभित्रका हरेक वडामा रहेका सम्भावनालाई प्राथमिकता दिएको अध्यक्ष रोकाको भनाइ छ । विकट लेकमा मृग, रतुवा सहितका वन्यजन्तुसमेत देखिन्छन् । लेकमा हरेक वर्ष जेठको २० गते विशेष पूजाआजासहित मेलासमेत लाग्ने गर्दछ । लेकमा रहेको शिव मन्दिरमा पूजा गर्न रुम, ओखरबोटसहित बागलुङबाट मनोकामना पूरा हुने जनविश्वासका साथ मानिस आउने गर्दछन् ।

(प्रतिकात्मक तस्बिर)

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button