Pokhara News

पोखराको न्युरोडमा २ सय जनाको निशुल्क मधुमेह र टिजी जाँच

पोखरा न्युज -२९, वैशाख ।

पोखरा लेखनाथ  -०८  न्युरोडमा करिब दुई सय जनाको निशुल्क मधुमेह र टिजी जाँच गरिएको छ ।

शुभम् बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो छैठौं वार्षिकोत्सवको अवसरमा शनिबार न्युरोड स्थित कार्यालय परिसरमा  आयोजना गरेको मधुमेह तथा रगतमा हुने खराब बोसो(टिजी)सम्बन्धी रक्त परीक्षण तथा सचेतना कार्यक्रममा २ सय ५ जनाको रक्त परीक्षण गरिएको हो  ।

कार्यक्रममा वरिष्ठ फिजिसियन डा. विश्व बरालले मधुमेह र रगतमा हुने खराब बोसोबाट पर्न सक्ने असर, यी रोग लाग्नुअगावै अपनाउनुपर्ने सावधानी र रोग लागिसकेपछि गर्नुपर्ने उपचार पद्धतिबारे प्रकाश पारे । उनले अधिकांश रोग लापरवाहीपूर्ण जीवनशैली, खानपान र अस्वस्थकर बानीकाका कारण लाग्ने भएकाले आफ्नो स्वास्थ्यबारे सजग भए धेरै हदसम्म रोगको चपेटाबाट मुक्ति मिल्ने बताए । उनले समय समयमा नियमित स्वास्थ्य परीक्षण, स्क्रिनिङ टेस्ट र केही समस्या देखिए चिकित्सककहाँ जान आग्रह गरे ।

शिविरमा प्राविधिक सहयोग युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले गरेको थियो । युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले स्थापनादेखि नै आर्थिक लाभ भन्दा सामाजिक सेवालाई प्राथमिकतामा राखिएको बताए । उनले आगामी आर्थिक वर्षमा विभिन्न संघ, संस्थासँगको सहकार्यमा थाइराइड परीक्षण निशुल्क गरिने जानकारी दिए ।

शुभम् सहकारीका प्रवन्धक ढाकामोहन  बरालले सहकारीले सेयर सदस्यहरुको हितमा विभिन्न क्रियाकलाप गरिरहेको बताए । २३ सय सेयर सदस्य रहेको सहकारीमा ४ करोड सेयर पुँजी छ ।

सहकारीका उपाध्यक्ष आशीष सिंहको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका लेखा समिति सदस्य तोयानाथ आचार्य, जनप्रतिनिधि तथा सल्लाहकार दिनवन्धु पौडेल, तोयानाथ आचार्य, सेयर सदस्य कमल पौडेलले पनि बोलेका थिए । कार्यक्रममा सस्थाका कार्यसमिति सदस्य तिर्थ कुमार सिंहले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रम सञ्चालन सचिव सूर्यप्रसाद पौडेलले गरेका थिए ।

Related posts

चार वर्षमा सबै स्थानीय तहमा सरकारी अस्पताल

रासस

तीलगंगा आँखा प्रतिष्ठानलाई १० करोड अनुदान

रासस

साढे छ हजार बालबालिका खोपबाट वञ्चित

रासस