फ्रान्स र क्रोएसियाको जीत, अर्जेन्टिना स्तब्ध

पोखरा न्युज -०७, असार ।

विश्वकप फुटबल अन्तर्गत हिजो भएका खेलहरुमा फ्रान्स र क्रोएसिया विजयी भएका छन् भने डेनमार्क र अस्ट्रेलियाले बराबरी खेलेका छन् । फ्रान्सले पेरुलाई १-० गोल अन्तरले हराउँदा अर्जेन्टिना भने क्रोएसियासँग ३-० ले स्तब्ध भयो ।

हिजो भएको पहिलो खेलमा समूह ‘ग’ का डेनमार्क र अस्ट्रेलियाले १-१ को बराबरी खेले । खेलमा क्रिस्टियन इरिक्सनको गोलमार्फत सातौं मिनेटमै डेनमार्कले अग्रता लिए पनि माइल जेडिनाकले ३८ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अस्ट्रेलियालाई खेलमा फर्काएका थिए ।  त्यसपछि दुबै टिमबाट गोल हुन नसक्दा खेल १-१ को बराबरीमा सकिएको थियो । यस नतिजापछि डेनमार्कले दुई खेलमा ४ अङ्क जोडेको छ भने अस्ट्रेलियाको खातामा एक अङ्क मात्र छ ।

हिजै भएको समूह ‘ग’ कै दोस्रो खेलमा काइल एम्बाप्पेको ३४ औं मिनेटको गोलको मद्दतले फ्रान्सले पेरुमाथि १-० को जीत दर्ता गर्यो । उत्कृष्ट खेल्दा खेल्दै पनि हार्न पुगेको पेरुको विश्वकप यात्रा यस हारसँगै टुङ्गिएको छ । फ्रान्स भने खेलेका दुवै खेल जित्दै ६ अङ्कका साथ अघिल्लो चरण प्रवेश गरेको छ । पेरुले अङ्कको खाता खोल्न सकेको छैन ।

हिजै भएको अर्को रोचक प्रतिस्पर्धामा उपाधी कै दावेदार मानिएको अर्जेन्टिनालाई क्रोएसियाले ३-० को लज्जास्पद हारको स्वाद चखाएको छ । क्लब फुटबलका नामि खेलाडीले सुसज्जित अर्जेन्टिनाले आफ्नो साख अनुरुप खेल्न नसक्दा दोस्रो हाफमा मात्र तीन गोल खान पुग्यो । क्रोएसियाका लागि एन्टे रेबिकले ५३ औ मिनेटमा, लुका मोडृकले ८० औं मिनेटमा र एभान र्याकिटिकले ९१ औं मिनेटमा गोल गर्दै टिमलाई ३-० को शानदार जीत दिलाए । खेलमा ५८% बल पोजेशन कब्जा गरे पनि अर्जेन्टिनाका लियोनेल मेस्सी, एन्जेल डि मारिया, सर्जियो अग्वेरो जस्ता चर्चित स्ट्राइकरले विपक्षी गोल पोस्टको जाली चुम्न सकेनन् । यस हारसँगै अर्जेन्टिनाको दोस्रो चरण प्रवेशको सम्भावना क्षीण बनेको छ । दुई खेलबाट एक अङ्क जोडेको अर्जेन्टिनाले समुहको आफ्नो अन्तिम खेल नाइजेरियासँग खेल्नेछ । जीत पछि क्रोएसिया भने दोस्रो चरणमा प्रवेश गरेको छ ।

विश्वकप अन्तर्गत आज ब्राजिल र कोस्टारिकाबीच नेपाली समय अनुसार ५:४५ बजे, नाइजेरिया र आइसल्याण्डबीच ८:४५ बजे र सर्बिया र स्वीजरल्याण्डबीच ११:४५ बजे प्रतिस्पर्धा हुनेछ ।

तस्वीर : reuters

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button