विश्वकप फुटबल : ब्राजिल, नाइजेरिया र स्वीजरल्यान्ड विजयी

पोखरा न्यूज -०९, असार।

विश्वकप फुटबलमा हिजो भएका खेलहरुमा ब्राजिल, नाइजेरिया र स्वीजरल्यान्ड विजयी भएका छन् ।

हिजो भएको समूह ‘ङ’ अन्तर्गतको खेलमा ब्राजिलले नाटकीय ढङ्गले कोस्टारिकालाई २-० ले हरायो । निर्धारित ९० मिनेटसम्म दुबै टिमले गोलरहित बराबरी खेले पनि ब्राजिलले इन्जुरी समयमा दुई गोल गर्दै विजय हासिल गर्यो । ब्राजिलका लागि ९१ औं मिनेटमा कोटिन्हो र ९७ औं मिनेटमा नेमारले गोल गर्दै टिमलाई प्रतियोगितामा पहिलो जीत दिलाए ।

त्यस्तै हिजै भएको समूह ‘डि’ को खेलमा नाइजेरियाले आइसल्याण्डमाथि २-० गोल अन्तरकै जीत हासिल गर्यो । नाइजेरियाका लागि अहमद मुसाले दुबै गोल गरेका थिए । उनले ४९ औ र ७५ औं मिनेटमा गोल गरे । यस जीतसँगै समुहका सबै टिमका लागि अघिल्लो चरण प्रवेशको ढोका खुला भएको छ जसमध्ये क्रोएसिया दुई जीतका साथ अघिल्लो चरण प्रवेश गरिसकेको छ ।

हिजो भएको समूह ‘ङ’ को अर्को खेलमा स्वीजरल्याण्डले सर्वियालाई २-१ गोल अन्तरले हरायो । खेलमा अग्रता भने सर्वियाले अलेक्सेण्डर मित्रोभिचको गोल मार्फत ५ औं मिनेटमै लिएको थियो । तर त्यसपछी दोस्रो हाफमा खेलमा फर्कदै स्वीजरल्यान्डले दुई गोल गर्दै नतिजा आफ्नो पक्षमा पारेको थियो । उसका लागि ग्रानिट शाकाले ५२ औं र जोर्डन साकिरीले ९० औं मिनेटमा गोल गरेका थिए । यस जीतसँगै स्वीजरल्यान्ड र ब्राजिलले अङ्कतालिकामा ४-४ अङ्क जोडेका छन् भने सर्वियाको ३ अङ्क छ । ब्राजिलसँग हारेको कोस्टारिका भने प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतियोगितामा आज बेल्जियम र ट्युनिसियाबीच ५:४५ बजे, दक्षिण कोरिया र मेक्सिकोबीच ८:४५ बजे र जर्मनी र स्वीडेनबीच ११:४५ बजे खेल हुनेछ ।

तस्वीर : Reuters

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button