डा केसीको स्वास्थ्य अवस्था खतरायुक्त

पोखरा न्यूज -१८, असार ।
शनिबारदेखि जुम्लामा अनशनरत हाडजोर्नी चिकित्सक डा गोविन्द केसीको स्वास्थ्य खतरायुक्त अवस्थामा रहेको जनाइएको छ ।

अनशनरत डा केसीको हातखुट्टा, टाउको, छाती दुख्ने समस्या बढ्दै गएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका मेडिकल डाइरेक्टर डा पूजन रोकायाले जानकारी दिए । “२४ घण्टामा २०० मिलिलिटर मात्र पिसाब भएको छ, स्वास्थ्य दैनिकरुपमा निकै खस्किँदै गएकाले अवस्था खतरायुक्त छ,” मेडिकल डाइरेक्टर रोकायाले भने ।

बत्ती नभएको, भंगेराको दिसा झर्ने ठाउँमा मैनबत्ती बालेर अनशन गरेका डा केसीको सुरक्षा र स्वास्थ्य उपचारार्थ पहल गर्न मेडिकल टिमले प्रशासनलाई ध्यानाकर्षण गराइसकेको उनले बताए । स्वास्थ्य अवस्था खतरायुक्त भएकाले त्यसको जिम्मेवारी अब आफूहरुले नलिने उनले जनाए ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले डा केसीको सुरक्षा अवस्थामा निकै संवेदनशील भएर लागेको बताए । “डा केसीको माग आफ्नो ठाउँमा छन् र हामीले सम्मान गरेका छौँ, तर उनको मागलाई आन्दोलनको रुप दिएर हुलदंगा मच्चाउने, अपराधीकरणतिर लिन दुश्प्रयास गर्ने र शान्ति सुरक्षामा खलल पु¥याउनेलाई कडाइ गरेका छौँ,” प्रमुख जिल्ला अधिकारी पौडेलले भने।

डा केसीको स्वास्थ्य अवस्था भने हिजोभन्दा आज बिग्रदै गएको उनले जनाए । यो समस्याको सहजीकरण कसरी गर्ने भन्ने विषयमा लागि परेको उनको भनाइ छ । अनशनरत डा केसीका समर्थकले भने उनको मानव अधिकारको सुरक्षा र राखेका मागको अविलम्ब सम्बोधन गर्न सरकारलाई दबाब दिँदै आइरहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button