गण्डकी प्रदेशका पाँच विधेयक प्रमाणिकरण

पोखरा न्यूज -२७, असार । 
गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेश सभाले पारित गरेका पाँच वटा विधेयक बुधबार प्रमाणिकरण गरेका छन् ।

प्रदेश प्रमुख कुवँरले ‘प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वय गर्न बनेको विधेयक’, ‘आर्थिक वर्ष २०७५/७६ को सेवा र कार्यहरुको लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’,‘प्रदेश आकस्मिक कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ ‘स्थानीय तहको कानून निर्माण प्रक्रियाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘खोप सेवा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई प्रमाणिकरण गरेका हुन् ।

नेपालको संविधान धारा १९९ को उपधारा १ मा गण्डकी प्रदेश सभाले पारित गरेका विधेयक प्रमाणिकरणका लागि प्रदेश प्रमुख समक्ष पेश गर्नुपर्ने प्रावधान छ । पारित गरिएका दुवै विधेयकलाई नेपालको संविधान धारा २०१ को उपधारा १ बमोजिम गण्डकी प्रदेश का कार्यबहाक सभामुख सृजना शर्माले प्रमाणित गरेकी थिइन् ।

नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले विधेयक प्रदेश प्रमुखले प्रमाणिकरण गरेपछि विधेयक ऐन बन्छ । ‘प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वय गर्न बनेको विधेयक’, असार ५ र ‘आर्थिक वर्ष २०७५/७६ को सेवा र कार्यहरुको लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई प्रदेश सभाले असार ६ गते पारित गरेको थियो ।

यस्तै ‘प्रदेश आकस्मिक कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ ‘स्थानीय तहको कानून निर्माण प्रक्रियाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘खोप सेवा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई असार २४ गते प्रदेश सभाले पारित गरेको थियो ।

कार्यबहाक सभामुख शर्माले प्रमाणित गरेका पाँच वटै विधेयकलाई प्रदेश सभा सचिवालयले प्रमाणिकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो । प्रदेश प्रमुख कुँवरले पाउने बित्तिकै बुधबार नै पाँच/पाँच प्रति विधेयकमा हस्ताक्षर गरि प्रमाणिकरण गरेका थिए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button