म्याग्दीमा तरकारीखेतीको आम्दानीले जीवनस्तर फेरियो

पोखरा न्यूज -३०, असार ।
म्याग्दी बेनी नगरपालिका–२ ज्यामरुककोट अम्बोटका ४८ वर्षीय हरिलाल घिमिरेको जीवनस्तर तरकारी खेतीबाट फेरिएको छ ।

तीस वर्षअघि गरिबीका कारण गाउँमा बस्ने अवस्था नहुँदा विदेश जानका लागि रु ६० हजार ऋण नपाएर छट्पटिएका घिमिरे अहिले तरकारी खेतीबाट नै मासिक ६० हजार भन्दा बढी आम्दानी गर्दै आएका छन् ।

दस वर्षसम्म साउदी अरबको चर्को गर्मीमा पसिना बगाइ मेहनत गर्दा पनि मासिक रु २० हजार कमाइ गर्न नसकेपछि गाउँ फर्किएका घिमिरेले २०५६ सालदेखि व्यावसायिकरुपमा तरकारीखेती गर्दै आएका हुन्।

सात रोपनी जग्गामा गोलभेँडा, करेला, साग, भण्टा, रामतोरिया, बोडि, बन्दागोभी लगायतका मौसमी तथा बेमौसमी तरकारीखेती गरेका घिमिरेले यसबाट वार्षिक रु ६ लाख भन्दा बढी कमाइ हुनेगरेको बताए ।

गतवर्ष आफूले फलाएको १० टन बन्दागोभी सदरमुकाम बेनीमा बिक्री हुन नसकेपछि पोखरा, काठमाडौँ, चितवन र बुटवलसम्म पु¥याएर सस्तो मूल्यमा बिक्री गर्नुपरेको उनले गुनासो गरे । तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि घिमिरेको जीवनस्तर समेत फेरिएको छ ।

पहिला दुई/चार सय आवश्यक पर्दा अरुसँग हातथाप्नुपर्ने घिमिरेले अहिले विभिन्न बैंक तथा वित्तीय संस्थामा बचत, छोराछोरीको पढाइ र घरघडेरी समेत जोडेका छन् ।

सरकारले कृषकलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याइ कृषकले उत्पादन गरेका कृषिउपजको बजारीकरणमा स्थानीय तहले व्यवस्था गरिदिन सके कृषकलाई राहत पुग्ने विश्वास उनको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button