बागलुङमा सरकारी उपचार कोषबाट १९४ जना लाभान्वित

पोखरा न्यूज -०४, साउन।

सरकारले बनाएको ‘विपन्न नागरिक औषधि उपचार कोष’बाट गत आवमा यहाँका एक सय ९४ जनाले आर्थिक सहायता पाएका छन्।

स्वास्थ्य मन्त्रालयले तोकेबमोजिम कडा रोगबाट पीडित विपन्न नागरिकलाई आर्थिक सहायता दिइएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

उपचारमा लागेको खर्चमध्ये बढीमा रु १ लाखसम्म उक्त कोषबाट दिन सकिने व्यवस्था छ । क्यान्सर, मिर्गौलामा असर, मुटुरोग, पार्किन्सन/अल्जाइमर्स र स्पाइनल तथा हेड इन्जुरीका पीडितले मात्र कोषबाट सहायता पाउँछन् । आव ०७४/७५ मा आर्थिक सहायता पाउनेमा सबै भन्दा बढी क्यान्सरबाट पीडित १०२ जना छन् ।

त्यस्तै मुटुरोगी ५० जना, मिर्गौला सम्बन्धी रोग लागेका ३२ जना, स्पाइनल इन्जुरीका ६ र हेड इन्जुरी भएका ४ जनाले कोषबाट लाभ लिएका हुन् । कोषको निर्देशिकामा उल्लेख भएका र मन्त्रिस्तीय निर्णयबाट तोकिएका अस्पतालबाट मात्रै उक्त सेवा प्रदान हुने गरेको छ ।

कोषबाट आर्थिक सहायता लिन बिरामीलाई प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको जिल्लास्तरीय सिफारिस समितिले सम्बन्धित अस्पतालमा सिफारिस गर्नुपर्ने र ती अस्पतालले गरेको रोग पहिचानको प्रमाणपत्र, वडाले दिने विपन्नताको सिफारिस, बिरामी या आफन्तको हस्तलिखित निवेदन, नागरिकताको प्रमाणपत्र पेश गरेको आधारमा समितिले सिफारिस गर्ने गरेको छ ।

उपचारमा लाग्ने खर्चमध्ये बढीमा रु १ लाखसम्मको उपचार निःशुल्क हुने समितिका सदस्य एवं वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपक तिवारीले बताए । उनका अनुसार निःशुल्क उपचार गरेको रकम स्वास्थ्य मन्त्रालयले अस्पताललाई शोधभर्ना गर्ने गरेको छ ।

मिर्गाैला प्रत्यारोपण नै गर्नुपर्ने बिरामीलाई भने रु २ लाखसम्म आर्थिक सहायता उपलब्ध हुने गरेको छ । मिर्गौला प्रत्योरापण गरेका बिरामीलाई औषधिबापतको उपचार खर्च भनेर छुट्टै रु १ लाख दिने व्यवस्था छ ।

‘आर्थिक अभावमा उपचारबाट वञ्चित व्यक्तिलाई कोषले ठूलो राहात मिलेको छ,’ प्रशासक तिवारीले भने, “कोषको प्रचारप्रसारले सेवा लिनेको संख्या वर्षेनी बढ्दो छ ।” उनका अनुसार कोषबाट गत आवमा जिल्लाका विपन्न नागरिकलाई रु २ करोड भन्दा बढी आर्थिक सहायता उपलब्ध भएको छ । कोषबाट आउने रकमले जटिल रोगमा सबै उपचार सम्भव नभएपछि राज्यले विपन्न नागरिकको उपचारमा ठूलो खर्च गरेको छ ।

सरकारले तोकेका अस्पतालमा मात्रै विपन्न नागरिक कोषबाट आर्थिक सहायता लिन सकिन्छ । क्यान्सरका लागि वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल लगायतका अस्पताल तोकिएको छ । त्यस्तै मिर्गौला रोगको उपचारका लागि पनि वीर अस्पताल, कान्ति बाल अस्पताल, त्रिवि शिक्षण अस्पताल, मुटुरोगको लागि वीर अस्पताल, सहित गंगालाल हृदयरोग केन्द्रलगायत अन्य रोगका लागि पनि विभिन्न अस्पताल तोकिएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button