दश महिनाभित्रै गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउने

पोखरा न्यूज -१५, साउन ।

सरकारले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अबको १० महिनाभित्रै सञ्चालनमा ल्याउने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले गाउँ पर्यटन प्रवद्धन मञ्च (भिटोफ) को २२ औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै भने, “ निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम प्रभावकारी रुपमा अघि बढेको छ, ५५ प्रतिशत सम्पन्न भइसकेको छ ।”

एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालनमा ल्याई व्यवस्थापकीय पक्ष सुधारेपछि अहिले हवाई ट्राफिक व्यवस्थापन धेरै गुणा प्रभावकारी भएको मन्त्री अधिकारीको भनाइ थियो । “म पूरै परिवर्तन भए त भन्दिन तर अध्ययनले पनि देखाएको छ विमानस्थलको प्रभावकारी व्यवस्थापनकै कारण अहिले अन्तर्राष्ट्रिय उडान अपवादबाहेक कुनै पनि होल्डमा बस्नुपर्दैन र केही अन्तर्राष्ट्रिय उडान थपिने क्रममा छन्,” , उनले भने ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य साकार तुल्याउन महत्वपूर्ण पूर्वाधार विमानस्थल निर्माणलाई बजेट तथा नीति कार्यक्रममा समेटेको छ । पर्यटन मन्त्री अधिकारीले भने, “पर्यटकको संख्या बढाउने हो भने विमानस्थल बढाउनै पर्छ, त्रिभुवन विमानस्थल साँघुरो भएको छ । त्यसैले विमानस्थल विस्तारको कार्यलाई अघि बढाएका छौँ । एक वर्षभित्र अहिलेको क्षमतामा ४० प्रतिशत वृद्धि गर्ने गरी पार्किङ बेलगायतका काम भइरहेको छ ।”

आन्तरिक उडान व्यवस्थापनमा सुधार गरी अबदेखि विहान ६ बजेदेखि उडान सञ्चालन गर्ने र धेरै यात्रु जाने गन्तव्यमा वैज्ञानिक ढंगले समय व्यवस्थापन गरी उड्डयनलाई प्रभावकारी बनाउन लागिएको उनको भनाइ थियो । राष्ट्रिय गौरवको गौतमबुद्ध विमानस्थलसँगै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई प्रभावकारी बनाइनाका साथै दोस्रो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण शीघ्र अघि बढाउने सरकारको योजना छ ।

आर्थिक वर्ष २०७५/७६ को वार्षिक नीति तथा कार्यक्रममा हाल निर्माणाधीन गौतमबुद्ध विमानस्थललाई निर्माण गरी सञ्चालनमा ल्याइने उल्लेख छ । विमानस्थल निर्माणको बाँकी ४५ प्रतिशत काम समानान्तर ढंगले अघि बढ्ने हुँदा सन् २०१८ को अन्त्यसम्ममा विमानस्थलको प्रमुख काम सकिने र त्यसको चार महिनापछि सेवा सञ्चालनमा आउने विमानस्थल आयोजना प्रमुख ओम शर्माले राससलाई जानकारी दिए ।

उनका अनुसार अहिले धावनमार्गको वेसको काम सकिएको छ । वर्षा सकिनासाथ धावनमार्ग कालोपत्रे शुरु गरी ४ देखि ६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य छ । टर्मिनल भवन र जहाज पार्किङ क्षेत्रको ढलान सकिने चरणमा छ । विमानस्थलको सबै काम पूरा गरी सन् २०१९ जूनसम्ममा सञ्चालनमा ल्याउने अवस्था रहेको प्रमुख शर्माको भनाइ छ ।

एशियाली विकास बैंक र नेपाल नागरिक उड्डयन प्राधिकरणको करीब रु ७ अर्ब लागतमा निर्माण भइरहेको सो विमानस्थल नेपालको पर्यटन प्रवद्धन र आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा लिइएको छ ।

सरकारले सन् २०३० सम्म करीब ५० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको र सन् २०२० सम्म २० लाख पर्यटक पु¥याउने कार्यक्रम तय गरेको छ । सन् २०१७ मा करीब दश लाख पर्यटक नेपाल आएका थिए । सन् २०१८ को छ महिनामा ५ लाख २५ हजार पर्यटकले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले हालै भित्र्याएको दुई वाइड बडी विमानबाट पनि पर्यटकको संख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ । निगमको सेवा थप प्रभावकारी बनाई अन्तर्राष्ट्रिय गन्तव्य विस्तारलाई तीव्रता दिने पर्यटनमन्त्री अधिकारीले उल्लेख गरे।

उनले ग्रामीण पर्यटनको विकासले नै अन्तर्राष्ट्रिय पर्यटन प्रवद्धनमा टेवा पुग्ने भएकाले घरबास कार्यक्रम सेवालाई गुणस्तरीय बनाई नयाँ पर्यटकीय गन्तव्य प्रवद्धन गर्न सरकारले प्रोत्साहनको नीति लिएको बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता डा प्रकाशशरण महतले मुलुकको आर्थिक समृद्धिको दरिलो आधारे पर्यटन क्षेत्रको विकासका लागि पर्यटकीय पूर्वाधार विकासलाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिए । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य साकार तुल्याउन निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल चाँडो भन्दा चाँडो सम्पन्न गरी सञ्चालनमा ल्याइनुपर्ने उनले उल्लेख गरे ।

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपालका अध्यक्ष नवराज दाहालले २० लाख पर्यटक पु¥याउने सरकारको योजनालाई सफल बनाउन समग्र पर्यटन व्यवसायी एकताबद्ध ढंगले लागिपर्ने बताउँदै पर्यटकीय पूर्वाधार विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने औंँल्याए । प्रा डा प्रेम शर्माले शहर केन्द्रित पर्यटनलाई गाउँसम्म पु¥याएर प्रभावकारी प्रवद्धनात्मक अभियान चलाइनुपर्ने बताए ।

भिटोफका अध्यक्ष कमल सापकोटाले गाउँ पर्यटनलाई गुणस्तरीय र प्रभावकारी बनाउन ‘होमस्टे ट्रेकिङ ट्रेल’ निर्माण, घरबास तालीम तथा नयाँ गन्तव्य प्रवद्धनको कार्यलाई प्राथमिकता दिइएको बताए । सो अवसरमा पर्यटन प्रवद्धनमा योगदान पु¥याउने नवीन काफ्ले, कुमार चौलागाईँ, लोकेन्द्र शाह र जनार्दन शर्मालाई जनही रु ५ हजारसहित पुरस्कृत गरिनाका साथै उत्कृष्ट पर्यटकीय गाउँ कास्कीको कालाबान घरेडीलाई रु ११ हजारसहित पुरस्कृत गरियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button