टि ट्वान्टी छनोटमा नेपाल १४० रनले विजयी, थाइल्याण्ड १८ रनमा सीमित

पोखरा न्यूज – २१, असोज ।

आइसिसि विश्व टिट्वान्टी क्वालिफायर एसिया क्षेत्र बी अन्तर्गत आज भएको खेलमा नेपालले थाइल्यान्डलाई १४० रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

मलेसियाको क्वालालम्पुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रन बनायो । नेपालका लागि करन केसी १४ बलमा अविजित ४० रनको शानदार पारी खेले । त्यस्तै शरद भेष्वाकरले ३४(२८) र दीपेन्द्र सिंह एेरीले३०(२६) रनको योगदान दिए । अन्तिम ओभरमा लगातार तीन छक्का प्रहार गरेका करनलाई साथ दिदैँ सोमपाल कामीले अविजित ४ रन बनाए ।

प्रतिउत्तरमा १७३ लक्ष्य लिएर उत्रेको थाइल्यान्डले गतिलो सुरुआत गर्न सकेन । ललित राजवंशी र सन्दिप लामिछानेका साथ सुरुआत गरेको नेपालका लागि दुवै ओपनर बलरले आ-आफ्नो पहिलो ओभरमै सफलता प्राप्त गरेपछि थाइल्यान्ड पहिलो दुई ओभरमा ५/२ को स्थितिमा पुग्यो । निरन्तर विकेट गुमाएको थाइल्याण्ड ८.५ ओभरमा १८/९ को स्थितिमा हुँदा वर्षा भएपछि खेल रोकिएको थियो । खेल पुनः संचालन हुन नसकेपछि नेपाल १४० रनले विजयी भयो। नेपालका लागि सन्दिप लामिछानेले ५ र ललित राजवंशीले १ विकेट लिए । त्यस्तै आफ्नो अलराउन्ड प्रदर्शनका लागि म्यान अफ द म्याच पनि भएका करन केसीले ३ विकेट चट्काए पछि नेपालले ८.५ ओभरमै शानदार जीत प्राप्त गर्यो ।

यसअघिको खेलहरुमा म्यान्मार र मलेसियालाई समान ८ विकेटको अन्तरले सजिलै हराएको नेपाली टिमले अब पर्सि भुटानको सामना गर्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button