शुक्रबारदेखि पोखरामा क्रिकेटको महाकुम्भ

उद्घाटन खेल जित्ने पोखरा पल्टन र विराटनगर दुबैको दाबी

डिएनबी, पोखरा ८, कार्तिक  ।

पर्यटकीय नगरी पोखरामा शुक्रबार देखि क्रिकेट खेलको महाकुम्भ शुरु हुने भएको छ । स्थानिय दुई, अन्तराष्ट्रिय स्तरका दुई /दुई जना खेलाडीहरु संहालेर राष्ट्रिय क्रिकेटरहरु सर्वाधिक राषि पुरस्कार भएको पोखरा प्रिमियर लिग (पीपीएल) का लागी पोखरा रंगशालाको क्रिकेट मैदानमा  शुक्रबारदेखि उत्रिदै छन्  ।

शुक्रबार हुने उद्घाटन खेलमा घरेलु टिम पोखरा पल्टनसँग विराटनगर टाइटन्सले प्रतिस्पर्धा गर्ने भएको छ । उद्घाटन खेलमा दुबै टिमले जित्ने दाबी गरेका छन। विराटनगर टाइटन्सले यो समाचार तयार पार्दा सम्म दुई जना विदेशी खेलाडीहरुको नाम सार्वजनिक गरेको छैन । यद्यपी खेलाडीहरुसंग कुराकानी भईरहेको तर केही प्राविधिक कुराले गर्दा खेलाडीहरुको टुंगो नलागेको विराटनगरका विजय धितालले जनाए । राष्ट्रिय खेलाडी सन्दिप लामिछानेको कप्तानीमा मैदानमा उत्रिन लागेको बिराटनगरले मिनस थापा र लव कामललाई स्थानिय खेलाडीको रुपमा समावेस गरेको छ । आफुहरुसंग अनुभवी र युवा खेलाडीहरुको टिम भएको हुदा उद्घाटन खेलमा जित हुने धितालले दाबी गरे ।

यता, राष्ट्रिय खेलाडी शरद भेष्वाकारको कप्तानिमा मैदानमा उत्रिन लागेको पोखराले दूई जना विदेशी खेलाडीको समेत टुंगो लगाएको छ । पोखराको टिमको लागि भारतका रविन्दर सिंह पोखरा आइसकेका छन भने यूएईका मोहम्मद नभिद भने पोखरा आउदै गरेको पोखरा टिमका प्रशिक्षक बिनोद कुमार दासले बताए । आफुहरुसंग राष्ट्रिय तथा युवा खेलाडीहरु र घरेलु दर्शकको साथ हुनाले उद्घाटन खेलमा जित हुने उनले दाबी गरे । पोखरा पल्टनको टिममा पोखराका दीपेस खत्री र सुमन घिमिरेले स्थानिय खेलाडीको रुपमा अवसर पाएका छन। पोखरा पल्टनका कप्तान भेष्वाकरले आफुहरु केहि दिन अघि देखि पोखरामा प्रशिक्षण गरेकोले गर्दा र घरेलू मैदानमा दर्शकको साथ हुनाले आफुहरुले उत्कृष्ट खेल प्रदर्शन गर्ने जनाए ।

यसैबीच यही कात्तिक २० गतेसम्म पोखरा रंगशालाको क्रिकेट मैदानमा हुने उक्त प्रतियोगिताको अन्तिम तयारी पूरा भएको आयोजक क्वीन्स इभेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले बताए ।

इभेन्टका प्रबन्ध निर्देशक लामाका अनुसार पोखरा रंगशालामा हाल ४ वटा पिच निमार्ण भएको छ । त्यसै गरी ४ हजार दशक क्षमताको अस्थायी प्यारापिट निमार्ण भएको उनले जनाए । ६ टिमको सहभागिता हुने प्रतियोगितामा विजेताले सर्वाधिक रकमको पुरस्कार  २७ लाख भन्दा बढी प्राप्त गर्ने भएको छ । उपविजेता टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । पूर्वघोषित पुरस्कार अनुसार प्रतियोगिताको म्यान अफ द सिरिज, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले सुजुकी जिक्सर १ सय ५५ सीसी मोटरसाइकल प्राप्त गर्ने भएका छन।

उक्त प्रतियोगितामा विराटनगर टाइटन्स, चितवन राइनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज गरी ६ टिम सहभागि हुदैछन।  प्रतियोगिता सम्पन्न गर्न करिब दुई करोड खर्च लाग्ने निर्देशक लामाले बताए । प्रतियोगिताको प्रवर्द्धनमा नेपाल पर्यटन बोर्ड, भिजिट नेपाल २०२०, राष्ट्रिय खेलकुद परिषद, पोखरा महानगरपालिका रहेका छन भने पीपीएलको सम्पूर्ण खेलको प्रत्यक्ष प्रसारण हिमालयन एचडी टेलिभिजनले गर्ने भएको छ ।

यसै बिच शुक्रबार  बिहान करिब ९ जबे पछि सभामुख कृष्ण बहादुर महराले उक्त प्रतियोगिताको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । उद्घाटन पश्चात बिहान ११ बजे पछि उद्घाटन खेल संचालन हुने भएको छ ।

विहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा पोखरा पल्टनले खेलाडीहरुको नाम सार्वजनीक गरेको छ । उक्त कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले खेलाडीहरुको टोलीलाई खादा लगाउदै स्वागत सहित उद्घाटन खेलमा जितको सफलताको कामना गरेका थिए ।

पोखराको प्रतिष्ठासंग जोडिएकोले यस्तो प्रतियोगितालाई सफल पार्न पोखरेलीलाई उनले आग्रह गरे । पोखराका कप्तान भेष्वाकरले पोखरामै ट्रफी राख्ने गरी आफुहरु उत्कृष्ट प्रदर्शन गर्ने जनाए । पोखरा पल्टनका अध्यक्ष विनय पोख्रेलले पोखरेलीहरुको साथ र सहयोगले आफ्नो टिमले उत्कृष्ट खेल प्रदर्शन गर्ने बताए ।

राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमटाले यस्ता प्रतियोगिताले खेलकुदको विकास हुने बताए । उनले भने “राष्ट्रिय, अन्तराष्ट्रिय र स्थानिय खेलाडीहरु समावेस गरेर हुने यस प्रतियोगिताले समग्र क्रिकेटको विकास संगै खेलाडीहरु समेत व्यवसायीक हुन सक्छन,यस्ता प्रतियोगिता खेलको विकासको लागि अति नै आवश्यक छ । ”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button