पिपिएल् : काठमाडौँ विजयी, विराटनगरको तेस्रो हार

पोखरा न्यूज – १२, कार्तिक ।

पोखरा प्रिमियर लिगमा विराटनगर टाइटन्सले लगातार तेस्रो हार चाख्दा काठमाडौँले भने आफ्नो दोस्रो जीत दर्ता गरेको छ ।

आज बिहान भएको खेलमा काठमाडौले विराटनगरलाई ५ विकेटले पराजित गर्यो । यससँगै प्रतियोगितामा दोस्रो ब्याटिङ गर्दै विकेटको अन्तरको पहिलो जीत पनि काठमाडौको नाममा रह्यो । यस अघि भएका सबै खेलमा पहिले ब्याटिङ गरेका टिमले जीत हासिल गरेका थिए ।

खेलमा टस जित्दै ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४९ रनको स्कोर खडा गर्यो । विराटनगरका ओपनर पाकिस्तानका मोहम्मद जाएद आलमले आक्रामक ६७(४७) रन बनाउँदा सुनिल धमलाले पनि ३०(२९) रनको योगदान दिए । राजेश पुलामीले पनि ३0(२७) रन बनाए । बलिङतर्फ काठमाडौँका सुसन भारी, गौरव तोमार र वसन्त रेग्मीले २-२ विकेट लिए ।

प्रतिउत्तरमा १५० रनको लक्ष्य लिएर ब्याटिङमा उत्रेको काठमाडौँका लागि विदेशी खेलाडी गौरव तोमारले ६७ रनको शानदार पारी खेल्दै टिमलाई जीततर्फ डोहोर्याए । उनले दोस्रो विकेटका लागि अमित श्रेष्ठसँग ६२ रनको साझेदारी गरे । अमितले ३५(३३) रनको एङ्कर भुमिका खेले । खेलको १९ औं ओभरमा तोमारलाई सन्दीप लामिछानेले क्याचआउट गराएर टिमलाई खेलमा फर्काउन प्रयास गरे पनि विराटनगरले अन्तिम ओभरमा ७ रन जोगाउन सकेन । विराटनगरका लागि सहाब आलमले २ विकेट लिँदा किशोर महतो, सन्दीप लामिछाने र जितेन्द्र मुखियाको भागमा १-१ विकेट पर्यो । खेलको म्यान अफ दि म्याच टिमका लागि अर्धशतकीय पारी खेल्दै २ विकेट पनि लिएका गौरव तोमार भए ।

आजै दोस्रो खेलमा पोखरा पल्टनले चितवनको राइनोजको सामना गर्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button