पोखरालाई पर्यटनको राजधानी घोषणा गरिने

पोखरा न्यूज -१४, कार्तिक ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले पोखरालाई देशकै पर्यटनको राजधानी घोषणा गरिने बताएका छन् । मन्त्री लम्सालले सन् २०२२ मा २० लाख पर्यटक गण्डकी प्रदेश भित्र्याएरै छाड्ने ठोकुवा पनि गरेका छन् । बुधबार नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले आयोजना गरेको टुरिजम् उद्यमी सिड क्याम्पलाई सम्बोधन गर्दै मन्त्री लम्सालले प्रदेश सरकारले २० लाख पर्यटक भित्र्याउन तयारी थालिसकेको बताए । उनले सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको वर्ष २०२० लाई कतिपयले निकै महत्वाकांक्षी रूपमा विश्लेषण गर्दै आएको चर्चा समेत गरे ।

“सन २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा घोषणा गरेर सोही अनुसार पर्यटक भित्र्याउन अहिलेदेखि नै तयारी गर्न थालेका छौँ ।” मन्त्री लम्सालले भने, “पर्यटन विभाग, पर्यटन बोर्ड, पर्यटन मन्त्रालयले आ-आफ्ना क्षेत्रबाट पर्यटकीय क्षेत्रका बारेमा प्रचार प्रसार थालिसकेका छौँ ।”

सरकारले लिएको लक्ष्य पुरा गर्न पर्यटक जाने स्थानसम्म सडक, हवाइ तथा होटल,रेष्टरेन्ट,होमस्टे लगाएको सुविधाका कामलाई तीव्रता दिएको बताए । पर्यटन बर्षको सन्देश र लोगो बिभिन्न भाषामा बनाएर प्रचार भईरहेको जनाउदै उनले पछिल्लो समय भारत, चीन र संयुक्त राज्य अमेरिका, जापान, नेदरल्याण्ड जस्ता देशका पर्यटकहरु नेपालमा धेरै आउने देशको सुचीमा रहेको उल्लेख गरे । नेपालमा पछिल्लो समय चिनियाँ पर्यटकहरूको सङ्ख्यामा क्रमशः वृद्धि हुँदै गएको मन्त्री लम्सालको भनाई थियो । यद्यपि चिन र भारतका पर्यटकहरु सोचे अनुसार भने भित्र्याउन नसकिएको बताए । उनले अन्तर्रा्ष्ट्रिय बजारमा नेपालको पर्यटन क्षेत्रको बारेमा प्रचार प्रसार गर्न विदेशस्थित नियोगहरूलाई पनि परिचालन गरिने बताए ।

मन्त्री लम्सालले स्वदेशमै उत्पादन हुने हस्तकला, शालिग्राम, चिया, प्रसिद्ध पर्यटकियस्थलको तस्बिर जस्ता वस्तुहरु पर्यटकलाई मायाको चिनोको रुपमा प्रदान गर्ने गरि तयारी गर्न सबैमा अपिल गरे । सरकारले आर्थिक समृद्धिको आधारमध्ये पर्यटन क्षेत्रलाई लिएको चर्चा गर्दै प्राकृतिक,सांस्कृतिक तथा मानव निर्मित पर्यटन प्रोडक्टबाट नै सरकारले लिएको ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सकिने दाबी गरे ।

नेपालमा पर्यटक आगमनको सङ्ख्यामा सुधार हुँदै गएको दाबी गर्दै मन्त्री लम्सालले नेपालमा आउने बिदेशी पर्यटकलाई अतिथि देवो भवः अर्थात पाहुनालाई भगवान ठानेर न्यानो आतिथ्यता प्रदान गर्नुपर्नेमा जोड दिए । उनले उक्त कार्यक्रमले पर्यटन प्रवर्धनमा ठुलो टेवा पुग्ने विश्वास व्यक्त गरे । नेपाल पर्यटन बोर्ड वरिष्ठ निर्देशक कासीराज भण्डारीले पर्यटन वृद्धिका लागि नयाँ चिज तथा पर्यटन क्षेत्रको डिजिटलाइजेसनमा जोड दिए ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणी लामिछानेले सरकारले लिएको लक्ष्य अनुरूप आन्तरिक तथा पर्यटन प्रवर्धनमा अभियान नै चलाएको बताए । लामो समयसम्म पर्यटकबाट कसरी फाइदा लिने, उद्यमी कसरी बन्ने, नेपालको प्रचार कसरी गर्ने, उत्पादनमा नयाँपन कसरी ल्याउने भन्ने विषयमा ज्ञान प्रदान गर्ने गरी उक्त कार्यक्रम आयोजना गरिएको र यसै सम्बन्धी तालिम समेत सञ्चालनमा ल्याउन लागेको बोर्डले जनाएको छ । गुणस्तरीय पर्यटक भित्र्याउन मद्दत पुग्ने गरि आयोजना गरिएको उक्त कार्यक्रममा २० भन्दा बढी युवा युवतीहरुको टोलीले पर्यटन प्रवर्धनका लागि शुभ यात्रा, मेरो यात्रा तथा गन्तव्य, बाजेको पाला, युवा पावर, हेरिटेज वाक नेपाल जस्ता नयाँ अभियान चलाउनु पर्ने बताएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button