आज लक्ष्मी पूजा, यस्तो छ लक्ष्मीपूजा अनि भैली र देउसीको गाथा

पोखरा न्यूज – २१, कार्तिक  ।

नेपालका प्रमुख पर्वहरुमध्ये गाइतिहार वा लक्ष्मीपूजा एउटा विशिष्ट पर्व हो । तिथिअनुसार सामान्यतया कर्तिक कृ्ष्ण अमावस्याका दिन यो पर्व मनाइन्छ । आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ ।

सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । यसै दिनलाई नेपालको तराई क्षेत्र र भारतमा ‘दीपावली’ वा ‘दिवाली’ भन्ने गरिन्छ । पूर्वी तराईमा भने सुकराइत (सुखरात्री) पनि भनिन्छ । वर्षका चारवटा महत्त्वपूर्ण रातहरुमध्ये लक्ष्मीपूजाको रातलाई सुखरात्री भनेर शास्त्रमा नामकरण गरिएको पाइन्छ । नेपालमा यो पर्व लक्ष्मी देवीको पूजा गरी घरभरि दियो बाली मनाइन्छ। यस दिन स्त्रीजाति विशेष गरी कुमारी केटीहरुले घरघरै गई भैलो खेल्ने चलन छ । यस दिन दिनभरि व्रत बसी साँझमा लक्ष्मीको पूजा गर्ने मनुष्यले धनधान्यबाट वञ्चित हुनु नपर्ने प्रसङ्ग विभिन्न पुराणमा उल्लेख गरिएको पाइन्छ :-

प्रदोषसमये विप्राः कर्त्तव्या दीपमालिका । दीपदानात् ततः पश्चाल्लक्ष्मीं सुप्तां प्रबोधयेत् ॥
त्वं ज्योतिः श्रीरविश्चन्द्रो विद्युत् सौवर्णतारकाः । सर्व्वेषां ज्योतिषां ज्योतिर्दीपज्योतिःस्थिते नमः ॥
मन्त्रेणानेन कमलां दीपहस्ताः श्रियो द्विजाः । देवीं प्रबोधयेयुश्च ततः कुर्य्युश्च भोजनम् ॥
प्रदोषसमये लक्ष्मीं भोजयित्वा भुनक्ति यः । पुमान् संवत्सरं यावत् लक्ष्मीस्तं नैव मुञ्चति ॥

कुनै पनि धार्मिक वा सामाजिक संस्कार गर्नुअघि गाईको गोबरले घर-आँगन लिपपोत गर्ने, गाईको गहुँत सबैतिर छर्केर आफ्ना घर-कोठा-चोटा पवित्र तुल्याउने हिन्दूहरुको संस्कार छ । गाईलाई पशुधनका रूपमा लिइन्छ । हिन्दूहरू गाईलाई लक्ष्मी र गौमाताका रूप मान्छन् । गाईजात्रा, गाईपाला, गाईप्राणी, गौप्राणी आदि शब्दले गाईमा आधारित विविध प्रतीकात्मक अर्थ प्रदान गर्छ । त्यसैले सनातन धर्मावलम्बीहरूले गार्इलार्इ विशेष महत्त्वका साथमा पूजाअाराधना र भक्तिभाव प्रदान गर्ने गर्दछन् । लक्ष्मीपूजाका साथमा गोमाताको पनि पूजा गरिने भएकाले यस दिनलार्इ गार्इतिहार भन्ने गरिएको हो । लक्ष्मीपूजा र गार्इतिहार दुबै पर्व अाैंसीका दिन सम्पन्न गर्ने विधान छ, तर लक्ष्मीपूजा गर्न सायंकाल (प्रदोष) मा अाैंसी तिथिले छुनु अावश्यक छ भने गार्इ पूजाका लागि प्रतिपदा मिश्रित अाैंसी हुनु अनिवार्य मानिन्छ । त्यसैले लक्ष्मीपूजाको भोलिपल्ट गार्इ पुज्ने गरिएको हो । (या कुहूः प्रतिपन्मिश्रा तत्र गाः पूजयेन्नृप ! पूजामात्रेण वर्द्धन्ते प्रजा गावो महीपतेः ॥)

advertisement

लक्ष्मीलाई धन्यधान्यकी देवी एवं ऐश्वर्यकी प्रतीक मानिन्छ । कार्तिक कृष्ण औंसीको रातलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ । यो अन्धकारमा रातलाई उज्यालोको प्रकाशले आलोकित पार्ने कार्य घरघरमा बत्ती बाली लक्ष्मीको आह्वान गरिन्छ । यस कर्मभित्र कुनै पनि अन्धकारलाई आफूमा अन्तर्निहित चेतनाशक्तिको प्रकाशले हटाउनुपर्ने सन्देश लुकेको छ। सुख-सम्पत्ति र ऐश्वर्य अभिवृद्धिको मनोकामनासहित कार्तिक कृष्ण औंसीका दिन माता लक्ष्मीको विशेष रूपमा पूजाआजा र अर्चना गर्नु तथा त्यसपछि लक्ष्मीकै प्रसाद प्रयोग गरी आफ्ना दराज, सेफ, भण्डार आदिमा स्वस्तिक चिह्न अङ्कित गर्नु वा शुभलाभ लेख्नु हाम्रो धार्मिक परम्परा हो । ‘तमसोमा ज्योतिर्गमय’ अर्थात् अन्धकारबाट प्रकाशतर्फ लागि आफूलाई आत्मिक रूपमा सुखसन्तोष प्रदान गर भन्ने यो दिन चेलीबेटीहरू भैलो खेलेर रमाइलो गर्छन् । गाईलाई लक्ष्मीको प्रतीक मानेर त्यसै दिन लक्ष्मीपूजा पनि गरिन्छ । भगवान् रामचन्द्रले लोककल्याणको भावनाले रावणादि विविध असुरहरूको नाश गरेपछि कार्तिक कृष्ण औंसीको दिन अयोध्याको राजाका रूपमा राज्यारोहण गरेको खुसियालीमा अयोध्यावासीले दीपावली गरेको प्रसङ्ग होस् वा यमराजले यमपञ्चकका पाँच दिन आफ्नी बहिनी यमुनाकहाँ बसेका कारण यस दिन मृत्यु हुने कुनै मानिसले नरक देख्नु नपर्ने विश्वासमा खुसी मनाउँदै दीपावली गर्ने प्रचलन आरम्भ भएको नै किन नहोस्, यी सबै प्रसङ्गमा यो दिनको ठूलो महत्त्व रहेको तथ्य स्पष्ट हुन्छ ।

भैली अनि देउसी

अयोध्यावासीहरुले आफ्ना परम प्रिय राजाको आगमनमा खुसियाली मनाएका थिए । श्री रामको स्वागतमा अयोध्यावासीहरुले घिउका दियाहरु बालेका थिए । कार्तिक मासको बाक्लो कालो अमावस्याको त्यो रात्री दियाहरुको उज्यालोले जगमगाएको थियो । मानिसहरुले घरघरमा, गल्लीगल्लीमा देव श्री राम (जसको अर्थ हुन्छ: हाम्रा राम देउता हुन्) को नारा लाउँदै घुमेका थिए, त्यसै खुसियाली व्यक्त गर्ने शब्दको अनुकृतिबाट क्रमशः देव श्री रामबाट विकृत हुँदै देउसिरी राम, देउसिरे, देउसी आदि शब्दमा अपभ्रंश भएको अनुमान गरिन्छ र सोही परम्परालाई मान्दै आज पनि नेपालीहरू देउसी खेल्दै हिंड्ने चलन छ । देउसी खेल्ने टोलीलाई देउसे भनिन्छ र उनीहरुमा एउटा भट्याउने र अरु भट्याउनेको पछिपछि देउसिरे भन्ने हुन्छन् ।

देउसीका सन्दर्भसँग जोडिएको एउटा अर्को कथा पनि छ, जुन यस प्रकार छ :- एक जना बलि भन्ने राजा पृथ्वीमा राज्य गर्थे, उनी अति नै दानी थिए, प्रत्येक दिन दान नगरी उनी केही खादैंनथे। यस पुण्यको प्रतापले स्वर्गादि लोकहरू हल्लिन थाले र देवताहरूले भगवान् विष्णुको शरणमा गर्इ प्रार्थना गर्नथाले । देवताको स्तुतिबाट प्रसन्न भएका विष्णुले देवताहरूलार्इ बलिको दमन गरी पाताल पुर्यासउने आश्वासन दिए । त्यसपछि वामन(बाहुन्ने)को रूप लिएर बलिलाई छल्न विष्णु बलीका दरबारमा गए र तीन पाउ जमिन दान मागे, यसमा बलिले सानो ब्राह्मणले मागेको जम्माजम्मी तीन पाइला जग्गालाई गौण र तुच्छ याचना ठान्दै होसै नराखी दान गर्ने सङ्कल्प गरे । सङ्कल्प गरी प्रतिज्ञाबद्ध भएको निमेषभरमा नै ती बाहुन्ने फुच्चाको रूप विराट भयो । उनको एउटै पाइलाले समस्त पृथ्वी ढाकियो, अर्को पाइलाले आकाश ढाक्यो, अनि त्यस पछि तेस्रो पाइलो अड्याउने ठाउँ भेटिएन, बलि अब के दिनु भनी अन्योलमा परे र उनले आफ्नो थाप्लो थापे, थाप्लोमा विष्णुको पाइलो पर्ना साथ बलि भासिएर पाताल लोकमा पुगे, अन्त्यमा उनले विष्णुसित आफुलाई वर्षमा एक पल्ट तिहारको बेलामा पृथ्वीलोकमा भ्रमण गर्ने अवसर दिइयोस् भनी प्रार्थना गरे । प्रार्थनालाई स्वीकार गरेर बलिलाई वर्षमा एकपल्ट पृथ्वीलोकमा घुम्न आउने अनुमति प्राप्त भयो :-

यथार्पितं देहमनेन विष्णवे भीतेन मिथ्यावचसो महात्मना ।
दैत्येन तेनाथ कठोरचेष्टया बद्धो बलिर्वामनमूर्तिना वत ॥
बद्धानीतोऽथ पातालं विमनाः खिन्नमानसः ।
नाभ्यसूयद्धरिं दैत्यस्त्यक्ताहंममतः सुधीः ॥
तदोवाच हरिः प्रीतस्तस्मै दैत्याय भागकृत् ॥
अश्रोत्रिये दत्तममन्त्रकं हुतं जप्तं तथा व्यग्रधिया जनेन यत् ।
तथोर्जशुक्लप्रतिपद्दिनेन तु त्वामर्च्चयेत्तत्सुकृतं तवास्तु ॥
अवलम्बः तस्मै वरो दत्तो हरिणा दितिजाय च ।
ततोऽवश्यं प्रपूज्योऽसौ बलिराजदिने मुदा ॥
कृष्णसान्निध्यतश्चापि पूजनीयः प्रयत्नतः ॥
दीपोत्सवैर्जनितसर्वजनप्रमोदैः कुर्वन्ति ये सुमतयो बलिराजपूजाम् ।
दानोपभोगसुखवृद्धिशताकुलानां नूनं प्रयाति सकलं प्रमुदैव वर्षम्॥ (पद्मपुराण)

बलि पाताल लोकबाट तिहारको अवसरमा यहाँ घुम्न आउँछन् भन्ने जनविश्वास छ, त्यसैले उनको स्वागतमा घरघरमा दीप जलाइएको हो भन्ने पनि भनाइ छ । देउसेहरु बलि राजा आउन नभ्याएको र उनीहरुलाई बलिले पठाएको भनी देउसी भट्याउँदा भन्ने गर्दछन् । स्त्रीजातिहरुले पनि बलिको स्वागतमा भैली गीत गाउँछन्, यो पनि ‘बलि गीत’कै विकृत रूप हो, जुन औंसीको रातभरि गाइन्छ र खेलिन्छ ।

धर्म संस्कृति – कृष्ण प्रसाद कोइराला 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

Close
Close
Close