घरबासबाट पर्यटन प्रवर्द्धनमा गलेश्वरका युवा

पोखरा न्यूज- २५ , कार्तिक ।

विसं २०७२ को विनाशकारी महाभूकम्पले काठमाडौँको कोटेश्वरमा आफू बस्दै आएको घर भत्किएपछि गाउँ फर्किएका म्याग्दीका एक युवा कृषिमार्फत पर्यटन प्रवद्र्धनको अभियान सञ्चालन गरेर उदाहरणीय बनेका छन् ।

पश्चिम म्याग्दीको मङ्गला गाउँपालिका–२ सिमलचौरका युवा अशोक शर्माले साढे दुई वर्षअघि आग्र्यानिक कृषि उपजहरूको उत्पादन गरी आफैँ कटेज सञ्चालन गरी पर्यटन प्रवद्र्धनको अभियान शुरु गरेका हुन् । उनले सञ्चालन गर्नुभएको के डी कटेज आग्र्यानिक खानेकुरा र ग्रामीण जीवन पद्धतिको नमूना बनेको छ ।

शर्माले सिमलचौरको तीन रोपनी जग्गामा माछापोखरी र कटेज निर्माण गरेर व्यवसाय शुरु गरेको बताए । हरेक क्षेत्रमा व्यावसायिकता खोज्ने गरेका शर्माले आफू कृषि परिवेशमा जन्मिएर हुर्किएको हुँदा त्यसै क्षेत्रबाट पर्यटनमा प्रवेश गरेको जानकारी दिए ।

कृषिको प्रयोग गरेरै पर्यटन क्षेत्रको प्रवद्र्धन र विकास गर्नका लागि आफू यस क्षेत्रमा लागेको उनको भनाइ छ । शुरुमा रु १५ लाख लगानीबाट स्थापना भएको कटेजमा अहिले रु ५० लाख लगानी पुगेको सञ्चालक शर्मा बताउछन् । शर्माले कटेजकै छेउछाउमा तीन पोखरी निर्माण गरेर माछापालन गरेका हुन् । पाहुनालाई अग्र्यानिक परिकार खुवाउने उद्देश्यसहित उनले पोखरीमा कमन र ग्रासकार्प जातको माछापालन गरेका छन् ।

होमस्टे (घरबास)मा आधारित शर्माको कटेजमा एक रातमा १० जनासम्म बस्न सकिन्छ भने कुनै विशेष पार्टी वा कार्यक्रमका लागि ५० जना जति अट्न सक्ने ठाउँ रहेको छ । विशेषगरी प्राकृतिक उपचारको स्थल बनेको तातोपानी कुण्ड र पर्यटकीय क्षेत्र टोड्केमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य रहेको शर्माको कटेजमार्फत टोड्केका लागि ग्राहकको चाहनाअनुसार टोड्के जोन प्याकेजको व्यवस्था गरिएको सञ्चालक शर्माले  बताए ।

व्यवस्थापन विषयमा स्नातकोत्तर र समाजशास्त्र तथा अर्थशास्त्रमा स्नातक गरेका शर्माले म्याग्दी जिल्लाको पश्चिम क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न आफूले घरबास सञ्चालन गरेको बताए । उनको कटेजमा जेठोबुढो र गौरिया धानको लोकल चामलको भातसहित फापर तथा कोदोको ढिँडो र गुन्द्रुकको समेत स्वाद लिन पाउनुका साथै स्थानीय परिकारहरु खान पाइन्छ ।

प्रायः एक पटक आउने ग्राहकहरु पटक– पटक पनि आउने गरेको सञ्चालक शर्माले बताए । कटेजप्रति ग्राहक र पाहुनाको आकर्षण बढ्दै जान थालेको उनको अनुभव छ ।

शर्माले कटेजमा पाँच जनालाई रोजगारी दिएका छन् । उनले कटेजमार्फत मासिक रु तीन लाखदेखि पाँच लाखसम्म कमाई हुने हुँदा महीनामा रु एक लाखभन्दा बढी बचत गर्ने गरेको जानकारी दिए । आगामी दिनमा कटेजका साथै सेवासुविधाको पनि विस्तार गर्ने लक्ष्य उनको छ । घरबास सञ्चालन गरेर पर्यटन क्षेत्रको विकास गर्ने र पर्यटक आकर्षण बढाउन सकिने शर्माको अनुभव रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button