म्याग्दीमा घुम्ती शिविरबाट दुई सय लाभान्वित

पोखरा न्यूज- २, मंसिर ।

म्याग्दीको दुर्गम क्षेत्रमा पर्ने रघुगङ्गा गाउँपालिका–६ पाखापानीको कोटगाउँमा शनिबार सम्पन्न एकीकृत घुम्ती शिविरबाट २०० जनाभन्दा बढी लाभान्वित भएका छन् ।

गाउँपालिका र वडा कार्यालयको संयोजनमा जिल्ला प्रशासन कार्यालयको आयोजनामा सम्पन्न शिविरबाट २०६ जनाले गाउँमै नागरिकता, ज्येष्ठ नागरिक परिचयपत्र, स्वास्थ्य उपचार, तस्वीरसहितको मतदाता नामावली दर्तालगायतका सेवा पाएका छन् ।

जिल्ला प्रशासन कार्यालयको टोलीले ३८ लाई नयाँ र आठ जनालाई प्रतिलिपी नागरिकता प्रमाणपत्र वितरण गरेको प्रजिअ लीलाधर अधिकारीले जानकारी दिए । २३ जनालाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिएको छ । बेनी अस्पतालका चिकित्सकको टोलीले ७१ जनाको निःशूल्क स्वास्थ्य परीक्षण, परामर्श र औषधि वितरण सेवा दिएको छ ।

१८ जनाको जन्मदर्ता, २ मृत्यु दर्ता, २३ महिला र २३ जना पुरुषको तस्वीरसहितको मतदाता नामावली दर्ता भएको छ । सशस्त्र प्रहरीको टोलीले ‘एक वडा एक हेलीप्याड’ कार्यक्रमका लागि सम्भाव्यता अध्ययन गरेको छ । जिल्ला प्रहरी कार्यालयले विद्यार्थी र युवायुवतीलाई लागुऔषध दुव्र्यसनीविरुद्ध प्रशिक्षण दिएको छ ।

कोटगाउँ, ठाडाखानी, रायखोर, चिमखोला, दर्मीजा, कुइनेखानीलगायत दुर्गम बस्तीका बासिन्दाले शिविरबाट सेवा लिएका वडाध्यक्ष मनकुमार शेरपुञ्जाले बताए । भौगोलिक विकटताका कारण सदरमुकामका कार्यालयमा पुगेर सेवा लिन नसकेका सर्वसाधारणलाई गाउँमै सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको प्रजिअ अधिकारीले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button