पोखरा विमानस्थलको धावनमार्ग मर्मत सुरु, १५ दिनसम्म ३ बजेपछि हवाई उडान नहुने

एक दशकपछि धावनमार्ग मर्मत गरिदै

डिएनबी, पोखरा न्यूज- ३, मंसिर ।

पोखरा विमानस्थलको धावनमार्गको मर्मत कार्य  सुरु भएको छ । विगत एक दशकपछि पोखरा विमानस्थलको धावन मार्ग मर्मत गर्न सुरु गरिएको पोखरा विमानस्थलका निर्देशक भोलाप्रसाद गुरागाईले बताए ।

पोखराको धावन मार्गमा केही खाल्टा खुल्टी भएकोले गर्दा प्राविधिकको राय सल्लाह अनुसार आईतबार देखि धावन मार्गमा मर्मत कार्य सुरु भएको हो । धावन मार्ग मर्मतको क्रममा दिउँसो ३ बजे देखि कुनै पनि हवाई उडान नहुने भएसंगै हवाई उडान प्रभावित हुने भएको छ ।

पोखराको धावन मार्ग मर्मतको कारणले गर्दा हवाई उडानमा समेत प्रभावित हुने भएको बुद्ध एयर पोखराका स्टेशन म्यानेजर गौतम बरालले बताए । उनका अनुसार बुद्ध एयरको ४ बजे पोखरा आएर भोलि पल्ट काठमाण्डौं जाने एउटा विमान पोखराको धावन मार्ग मर्मत कार्य सुरु भएसंगै राती काठमाण्डौंमै बस्न थालेको छ । उनले भने “ प्राविधिक हिसावले गर्दा यो मौसम नै पिच मर्मतको उपयुक्त देखियो तर दिउसो ३ बजे देखि पोखरामा हवाई उडान नहुदा  उडान केहि प्रभावित हुन्छ, काठमाण्डौंमा केहि हवाई ट्राफिक जाम भएमा त्यसको प्रभाव पोखरामा पर्छ । ”

१५ दिनसम्म दिउसो ३ बजे पछिका सवै उडानहरु अगाडी नै गर्ने गरी विभिन्न एयरलायन्स कम्पनीहरुलाई सूचना समेत दिएको निर्देशक गुरागाईले बताए । उनका अनुसार बिहान सुर्यदयसंगै करिब ६ः३० बजे देखि नै पोखरामा हवाई उडान हुने भएको छ ।

पोखरा विमान स्थलको धावन मार्ग मर्मतका लागि आइतबार देखी दैनिक करिब १५ घण्टा विमानस्थल बन्द हुने भएको छ भने करिब ९ घण्टा धावन मार्गमा संचालनमा आउने भएको हो । पिच भएको धावन मार्गको केही ठाउँमा खाल्टा खुल्टी परेर, गिटि देखिने भएकोले गर्दा स्लरीसिल( अलकत्र, वालुवा तथा सिमेन्टको लेदो पदार्थ) पिचमा राखेर धावन मार्ग मर्मत गर्न लागिएको निर्देशक गुरागाईले जनाए । यसरी मर्मत गर्दा उक्त पिचको आयू ३ बर्ष बढ्न सक्ने गुरागाईले जनाए ।

१ हजार ४ सय ४७ मिटरको रनवे, ३० मिटरको चौडाई, पार्किङ स्थल, फायर ब्रिगेड लगायतको क्षेत्रको पिच मर्मत गर्न लागिएको हो । दिउसो ३ बजे देखि धावन मार्गमा राति करिब १२ बजेसम्म मर्मतको काम हुने भएकोले हेलिकोप्टर बाहेक अन्य हवाई उडान नहुने उनले जनाए । पोखराको धावन मार्गको मर्मत गर्न करिब दुई करोड खर्च लाग्ने भएको निर्देशक गुरागाईले बताए ।

पोखरा देखि हाल दैनिक जसो ४३ वटा हवाई उडान हुदै आएको छ । पोखराबाट बुद्ध एयर, यति एयर, तारा एयर, सिर्मिक एयर र नेपाल एयरलाइन्स लगाएतका कम्पनीले उडान भर्दै आएका छन् । त्यसै गरि पोखराबाट दृश्यावलोकनको लागि हेलिकप्टर, अल्ट्रालाइट र जहाजले समेत हवाई उडान गर्दै आएका छन।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button