पुम्दीकोटमा महादेवको मूर्ति स्थापना हुँदै

पोखरा न्यूज-५ , मंसिर ।

धार्मिक पर्यटकको पनि गन्तव्य स्थलका रूपमा विशिष्ट पहिचान बनाएको पुम्दीकोटमा महादेवको विशाल मूर्ति स्थापना कार्यले गति लिएको छ ।

परापूर्वकालदेखि भूमेश्वर महादेवको मन्दिर रहेको पोखरा–२२ को पुम्दीकोटमा ५६ फिट उचाइको सोही नामको महादेवको मूर्ति स्थापनाका लागि आठ हजार वर्गफिटको गोलाकार जग निर्माण कार्य भइरहेको छ ।  नेपाल सरकारले उपलब्ध गराएको २२ रोपनी जग्गाको परिसरको भुइँतल्लामा ध्यान केन्द्रसहित गोलाकार जगको वरिपरि १०८ वटा शिवलिङ्ग, दोस्रो तल्लामा गणेशद्वारा शिवलाई परिक्रमा गर्दै गरेको मूर्ति राखिने छ । सौर्य ऊर्जा विधिद्वारा सो परिक्रमा निरन्तररुपमा जारी रहनेछ । तेस्रो तल्लामा फाइबर ग्लासको पद्मासन अवस्थाको महादेवको मूर्ति स्थापना गरिनेछ । उक्त मूर्तिको लागत रु तीन करोड १८ लाख पर्ने पुम्दीकोट पर्यटन प्रवद्र्धन विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले जानकारी दिए ।

साथै स्वर्गद्वारी सिँढी, रुङ्गटा वैकुण्ठ कक्ष, गुरु महाराज आश्रम, हरियाली बगैंचा, शान्ति भवन, ज्येष्ठ नागरिक मिलनकेन्द्र र पार्किङस्थललगायत निर्माण गरिने लक्ष्य राखिएको उनले बताए ।  प्याराग्लाइडिङका लागि पोखराको प्रसिद्ध सराङकोट डाँडाको आमुन्ने– सामुन्ने पुम्दीकोट डाँडा पर्दछ । दुवै डाँडाको बीचमा पोखरा उपत्यका, फेवाताल, दक्षिणमा हराभरा रानीवन, हरिया पहाडी भूभागको मनमोहक दृश्य देख्नसकिन्छ ।

यसका साथै, पश्चिममा थाप्ले लेकदेखि धार्मिक एवं पर्यटकीयस्थल पञ्चासेसम्म तथा हिमशृङ्खलामा माछापुच्छ्रे र अन्नपूर्ण पहाडको मनोरम दृश्यको अवलोकन सजिलैसँग गर्न सकिन्छ ।  सो मनोरम दृश्यको अवलोकनका लागि निर्माणाधीन मन्दिरकै परिसरमा शान्ति तथा पुनःनिर्माण मन्त्रालयको सहयोगमा रु ६० लाखको लागतमा दृश्यावलोकन स्तम्भ निर्माण गरिएको छ । पर्यटकलाई रात्रि विश्राम गर्नुपरेमा वरपर स्तरीय होटलको निर्माण कार्य भइरहेको छ । पोखराको छोरेपाटनबाट सात किलोमिटर दक्षिण पश्चिममा अवस्थित सो स्थलमा पुग्नका लागि नगर बससमेत सञ्चालन हुने गरेको समितिका सल्लाहकार नरेन्द्र बरालले बताए ।

पदयात्राको लागि पोखराको रानीवन, पुम्दीकोट, भुम्दीकोट, थाप्लेडाँडा हुँदै पञ्चासेसम्मको पुरानो बाटोलाई नयाँ पहिचान दिने लक्ष्य रहेको पोखरा–२२ का वडासदस्य मातृका बरालले जानकारी गराए ।  महादेवको विशाल मूर्ति स्थापना गर्ने उद्देश्यका साथ २०७३ साल फागुन ३ गतेदेखि १४ गतेसम्म लगाइएको शिवपुराणबाट रु छ करोड १८ लाख उठाइएको थियो ।  रु तीन करोड १८ लाख मूल्य पर्ने मूर्तिलगायत र संरचना निर्माणका लागि विभिन्न दाता अग्रसर रहेको समाजसेवी समितिका अध्यक्ष बरालले जानकारी गराए ।

निर्माण कार्यमा नेपाल सरकारबाट पनि सहयोग प्राप्त भएको छ । आव ०७३/०७४ मा रु २० लाखको निर्माण कार्य सम्पन्न भएको छ । चालू आवमा रु ८० लाख विनियोजन भएको छ । उक्त रकम प्रदेश सरकारमार्फत निकासाको प्रक्रियामा रहेको समितिका अध्यक्ष बरालले बताए ।

मूर्ति स्थापनालगायत सम्पूर्ण कार्य सम्पन्न गर्नका लागि रु ४० करोड खर्च हुने अनुमान गरिएको छ । आर्थिक व्यवस्थापन भएमा आउँदो तीन वर्षमै निर्माण कार्य सम्पन्न गरिने समितिका अध्यक्ष बरालले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button