बागलुङमा महिला सेवा केन्द्र स्थापना

पोखरा न्यूज- २८, मंसिर ।

हिंसापीडित महिलाको उद्दार तथा संरक्षणका लागि जिल्लाको बागलुङ नगरपालिकाले अल्पकालीन महिला सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । गत साउन १ गतेदेखि अनौपचारिकरुपमा काम गर्दै आएको सेवा केन्द्रलाई बिहीबार कार्यालय स्थापना गरेर औपचारिकरुपमा सञ्चालनमा ल्याइएको हो । साविकको महिला बालबालिका कार्यालयको भवनमा कार्यालय रहने गरी सेवा केन्द्र सञ्चालनमा आएको हो ।

नगरपालिकाको महिला विकास शाखाले हेर्ने गरी सेवा केन्द्र सञ्चालनमा ल्याइएको नगर प्रमुख जनकराज पौडेलले जानकारी दिए । नगरपालिकाले सेवा केन्द्रको व्यवस्थापन र सञ्चालनका लागि नगर कार्यपालिका सदस्य लक्ष्मी बोहराको संयोजकत्वमा पाँच सदस्यीय व्यवस्थापन समितिसमेत बनाएको छ ।

साविकको सेवा केन्द्रको सबै जिम्मेवारी नगरपालिकामा सरेकाले जिल्लाका सबै स्थानीय तहमा हिंसाको सिकार बनेका महिलाको उद्दार तथा संरक्षण गर्नेगरी सेवा केन्द्र स्थापना भएको पौडेलले जानकारी दिए । साविकको महिला तथा बालबालिका कार्यालयमार्फत बागलुङमा सञ्चालनमा रहेको सेवा केन्द्र गत असार मसान्तमा कार्यालय खारेजीसँगै खारेजीमा परेको थियो ।

महिला, बालबालिका कार्यालयले मन्त्रालयको निर्देशनअनुसार जिल्ला सदरमुकाममा रहेको बागलुङ नगरपालिकालाई जिम्मेवारी हस्तान्तरण गरेको थियो । सेवा केन्द्र खारेज भएपछि हिंसापीडित महिलाले आश्रय लिने ठाउँ सकिएको भन्दै अधिकारकर्मीले चौतर्फी विरोध गरेका थिए । तत्कालका लागि महिला शाखामा काम गर्ने तीन जना कर्मचारीको परिचालन गरेर सेवा केन्द्र सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ ।

साविकको महिला तथा बालबालिका कार्यालयमार्फत सञ्चालनमा रहेको सेवा केन्द्रका कर्मचारीले पाउनुपर्ने सेवा सुविधासमेत उपलब्ध गराउने गरी कार्यपालिकाले निर्णय गरेको छ । असार मसान्तसम्म सेवा केन्द्रमा काम गरेर भुक्तानी लिन बाँकी रहेको रु एक लाख ५० हजार तत्कालीन सेवा केन्द्रका कर्मचारीलाई उपलब्ध गराउने निर्णय भएको पौडेलले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button