द्वन्द्व र शान्ति झल्काउन सिक्लेसमा शान्ति स्तम्भ

पोखरा न्यूज –०३, पुष ।

दश वर्ष लामो सशस्त्र द्वन्द्वमा मुलुक पिल्सिएका बेला शान्तिको धिपधिपे दियो बाल्न सफल सिक्लेसमा शान्ति सम्झौता प्रतिबिम्बित हुने गरी शान्ति स्तम्भ निर्माण गरिएको छ ।

टलक्क टल्कने चाँदीको हिमाल जस्तै देखिने एउटै ढुङ्गामा कुदिएको स्तम्भमा द्वन्द्वताकाको अवस्था झल्काइनाका साथै त्यसयता विकसित राजनीतिक घटना क्रमलाई समेटिएको छ । हिमाल, पहाड र तराईको समग्र भू–भागलाई एउटै थलोमा समेट्दै द्वन्द्वकालीन घटनाका सम्झनालाई प्रतीकात्मक रुपमा यसमा प्रस्तुत गरिएको छ । परिकल्पना गर्न झण्डै २० दिन र निर्माणमा अढाई महिनाको अवधि खर्चेको स्तम्भका निर्माता एवं परिकल्पनाकार नारदमणि हार्जम्छाली (कलाङ) ले जानकारी दिए ।

उनका अनुसार स्मारक परिसरमा निर्माण गरिएको त्रिभुज आकारको स्तम्भको सबैभन्दा माथिल्लो भागमा रातो, पहेंलो र नीलो रङका तीन वटा बत्ती जडान गरिएको छ जसलाई सङ्घर्ष, प्रतिवाद र संवादको रुपमा लिइएको छ । द्वन्द्वकालीन सङ्घर्ष, रगत, पसिना, आँशु, रातो विम्बका रुपमा प्रस्तुत गरिएको छ । विशेष गरी सो स्तम्भको पिंध पोखरी परिसरमा द्वन्द्वका समयमा शहादत प्राप्त गर्ने पाँच महिला र १० पुरुषको टाउका देखाइएको छ । यहाँ द्वन्द्वमा महिलाको सहभागिता रहेको समेत झल्काउन खोजिएको छ ।

स्तम्भमा पीडा एवम् श्रमलाई दर्शाउन पहेँलो र आँशुलाई बुझाउन नीलो रङ प्रयोग गरिएको छ । स्तम्भमा दुई पक्षबीच हात मिलाएर अङ्कमाल गरिएको र दिगो शान्तिको प्रतीकको रुपमा परेवाको चित्र कोरिएको छ ।

विस्तृत शान्ति प्रक्रिया १२ वर्ष पुगेको अवसरमा निर्माण गरिएको यो स्तम्भलाई बाह्रबुँदे सम्झौताको सम्झनाका रुपमा तीनवटै कोणमा चार-चार गरी कुल बाह्रवटा धारासमेत निर्माण गरिएको कलाकार कलाङले बताए । प्रविधि जडित धाराबाट पानी निरन्तर प्रवाह भइरहने व्यवस्था मिलाइएको छ ।

द्वन्द्वका अवसरमा ज्यान गुमाएका युवा, महिला, पुरुष एवं मुकुण्डो, द्वन्द्वकालीन टोपी, हेलमेट, कुखुरी, हँसिया र तरवारलगायतका विभिन्न घरेलु हतियार स्तम्भमा चित्रित छ । स्तम्भभित्रै तरवार र हँसिया भाँचिएको देखाउँदै युद्धको अन्त्य र शान्तिको प्रारम्भ भएको सङ्केत देख्न सकिन्छ ।

द्वन्द्वकालीन अवस्थामा ज्यान गुमाएका करीव १७ हजार जनताको पोखरीभित्र साङ्केतिक विम्बहरुको दृश्य रहनाका साथै शान्ति र क्रान्तिका विविध पक्ष दर्शाइएको छ ।

तत्कालीन सरकार र विद्रोही माओवादीबीच शान्ति सम्झौता गरिएको सङ्केत स्वरुप सरकार, माओवादी र राजनीतिक दलको त्रिकोणात्मक सन्तुलनलाई पनि स्तम्भमा समेटिएको छ ।

ललितकला, वास्तुकला, मूर्तिकला र चित्रकलासहित चारवटै विधि प्रयोग गरिएको बताउँदै कलाकार कलाङले भने – “स्तम्भ निर्माणमा ढुङ्गा, हतौडा, छिनो, ग्रील र ड्रिल मेसिन जस्ता औजार प्रयोग गरिएको हो ।” मादी गाउँपालिकाको वडा नं ७ तप्राङ भेडिखर्कबाट ठूलो मेहनतका साथ जेसिभी र ट्रयाक्टरको प्रयोग गरी ल्याइएको उक्त ढुङ्गाबाट पाँच फिट तीन इन्च उचाइ र ३७ इन्च चौडाइको स्तम्भ निर्माण गरिएको हो ।

भोजपुरको षडानन्द गाउँपालिका–११ मा आज भन्दा ६० वर्ष अघि जन्मेका जोशिला र पूर्तिला कलाकार कलाङले यसअघि पेरिस डाँडामा शहीद तथा बेपत्ता स्मृति स्तम्भ बनाइसकेका छन् भने इटहरी तथा भीमफेदीमा पनि यस्तै प्रकारका स्तम्भ निर्माण गरिसकेका छन् ।

विसं २०६२ जेठ महिनामा तत्कालीन माओवादी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन गृहमन्त्री एवं वार्ता समितिका संयोजक कृष्णप्रसाद सिटौलाबीच सिक्लेसमा भएको पहिलो भेटवार्तापछि विकसित राजनीतिक घटना क्रमले देश वर्तमान अवस्थासम्म आइपुगेको हो । जोखिम मोलेर देशलाई शान्ति प्रक्रियामा डोर्याउन महत्वपूर्ण योगदान गरेका पूर्वप्रधानमन्त्री प्रचण्ड र काँग्रेस नेता सिटौलाले शान्ति स्तम्भको यही मङ्सिर २४ गते सामूहिक रुपमा अनावरण गरेका थिए ।

नेपालकै मध्यविन्दु मानिने पर्यटकीय गाउँ सिक्लेसमा करीब दुई रोपनी क्षेत्रफलमा निर्माण गरिएको सो स्तम्भका लागि गाउँपालिकाको १० लाख अनुदान र पाँच लाख रुपैयाँ बराबरको स्थानीय जनश्रम परिचालन गरिएको उपभोक्ता समितिका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए ।

उनका अनुसार स्तम्भ निर्माण गरिसकेपछि सिक्लेसमा आफूले पाएको स्नेह र त्यहाँको वातावरणले प्रभावित भई कलाकार कलाङले आफुूले पाउने पारिश्रमिकबाट दुई लाख रुपैयाँ उपभोक्ता समितिलाई सहयोग गरेका थिए । उनलाई कुल चार लाख रुपैयाँ पारिश्रमिक दिने सहमति भएको थियो ।

शान्ति प्रक्रियाको थालनीको प्रारम्भ सिक्लेस भएकै कारण त्यसको संस्मरणमा शान्ति स्तम्भ निर्माण गरिएको मादी गाउँपालिकाका अध्यक्ष वेद बहादुर गुरुङ (श्याम) बताए । उननुसार प्राकृतिक संरक्षण कोष (एनटिएनसी) को हातामा निर्माण गरिएको स्तम्भले सिक्लेस गाउँको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्नेछ । प्राकृतिक सुन्दरताले भरिपूर्ण यस गाउँमा यसअघि स्वागतद्वार, भ्यूटावर र सङ्ग्रहालयलगायतका विभिन्न भौतिक संरचना निर्माण गरिसकिएको छ ।

स्तम्भको निर्माणपछि अब यस गाउँलाई शान्ति प्रक्रियाको अध्ययन अवलोकन गर्ने थलोको रुपमा प्रवद्र्धन गर्न सहयोग पुग्ने सिक्लेस युवा क्लबका सल्लाहकार देवीजङ्ग गुरुङको विश्वास छ । सिक्लेस होमस्टे व्यवस्थापन समितिका अध्यक्ष टाइमाया गुरुङ स्तम्भ निर्माणपछि थप पर्यटक आकर्षित हुनेमा आशावादी छन् ।

उनका अनुसार गाउँका २२ वटा घरमा १०० भन्दा बढी पाहुना राख्न सक्ने क्षमता छ । शुक्रबार आन्तरिक पर्यटकको भीड लाग्ने गरेको कारण समितिले थप कोठाको व्यवस्था गर्ने तयारी गरिरहेको छ । असोज, कात्तिक र मङ्सिर महीनामा पर्यटकको सङ्ख्यामा वृद्धि भएको र तीन महिनामा लगभग छ लाख रुपैयाँ बराबरको आम्दानी भएको नमस्ते गेष्ट हाउसका सञ्चालक कुमारी गुरुङले राससलाई बताए ।

यहाँ अर्गानिक चामल, साग, भट्ट, अचार लगायतका विभिन्न परिकारसहित साँझको चिया, बिहानको नास्ता, खाना र बासको एक हजार र मासु खानामा थप २०० पर्छ ।

समुद्री सतहबाट दुई हजार मिटरको उचाइमा अवस्थित उक्त पर्यटकीय गाउँसम्म पुग्ने लगभग ४० किलोमिटर काहुँखोला–सिक्लेस सडक आगामी दुई वर्षभित्र निर्माण गरिने प्रदेशसभा सदस्य मनबहादुर गुरुङ बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button