म्याग्दीमा घुम्ती शिविरबाट आठ सय लाभान्वित

पोखरा न्यूज-०८, पुष ।

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने मङ्गला गाउँपालिका–१ कुहुँमा शनिबार जिल्ला प्रशासन कार्यालय र गाउँपालिकाको आयोजनामा सम्पन्न एकीकृत घुम्ती शिविरमार्फत आठ सय जना लाभान्वित भएका छन् ।

शिविरमा ७९८ जनाले गाउँमै नागरिकता, कृषि, पशु स्वास्थ्य, आयुर्वेद, स्वास्थ्य, ज्येष्ठ नागरिक, अपाङ्गता परिचयपत्र, वाणिज्य दर्ता, मतदाता परिचयपत्र दर्तालगायतका सेवा लिएका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिए ।

भौगोलिक विकटता, आर्थिक अभाव र गरीबीका कारण सदरमुकाममा रहेका कार्यालयमा पुगेर सेवा लिन नसकेका ग्रामीण क्षेत्रका सर्वसाधारणलाई लक्षित गरेर एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको प्रजिअ अधिकारीले बताए ।

जिल्ला प्रशासन कार्यालयको टोलीले ६० जनालाई नयाँ र चार जनालाई प्रतिलिपि नागरिकता प्रमाणपत्र वितरण गरेको छ । कृषि ज्ञान केन्द्रको टोलीले २१० कृषकलाई तरकारीको बीउ र परामर्श सेवा दिएको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको टोलीले १६४ जनालाई स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरणको सेवा दिएको छ । बेनी अस्पतालका चिकित्सक र गाउँपालिकाको स्वास्थ्य शाखाको टोलीले ७० जनालाई सेवा दिएका छन् । गाउँपालिकाको महिला तथा बालबालिका शाखाले ११० जनालाई ज्येष्ठ नागरिक र ११ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ ।

भेटिरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत १३३ कृषकको १३२८ पशुपछीका लागि निःशुल्क औषधि र परामर्श सेवा दिएको छ । जिल्ला निर्वाचन कार्यालयले २७ जनाको तस्वीरसहितको मतदाता नामावली दर्ता गरेका छन् ।

घरेलु तथा साना उद्योग विकास समितिमार्फत पाँच वटा वाणिज्य फार्म दर्ता भएको छ । पूर्णगाउँ, कुहुँ, भरजुला, तुसारेपानी, हिदी, सल्यान क्षेत्रका बासिन्दाले शिविरबाट सेवा लिएका गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले बताए ।

गाउँपालिकाका अध्यक्ष रोकाले ग्रामीण क्षेत्रका बासिन्दाको समय र आर्थिक बचत भएको र शिविर प्रभावकारी भएको बताए । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा यसअघि धवलागिरि गाउँपालिकाको गुर्जा, लमसुङ र रघुगङ्गा गाउँपालिकाको कोटगाउँमा एकीकृत घुम्ती शिविर सञ्चालन भइसकेको छ । मालिका गाउँपालिकाको देवीस्थान र अन्नपूर्ण गाउँपालिकाको शिखमा पनि शिविर सञ्चालन गर्ने तयारी भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button