तनहुँको मानुङकोटमा दृश्यावलोकन स्तम्भ बनाइने

तनहुँ, कास्की, नवलपरासी, गोरखा लगायतका जिल्लाको मनोरम दृश्य सजिलै देख्न सकिने

पोखरा न्यूज- २९, पुष ।

तनहुँको व्यास नगरपालिका कार्यालयले मानुङकोटको विकासको लागि गुरुयोजना थालेको छ । बसाइँसराइले रित्तो बन्दै गएको वडा नं ५ मा रहेको मानुङकोटको आकर्षण बढाउन नगरपालिकाले रु ३० लाख खर्चेर भ्यूटावर बनाउने भएको छ ।

उक्त क्षेत्रमा भ्यूटावर निर्माण गर्दा पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्न सक्ने वडाध्यक्ष मोहनकुमार श्रेष्ठले बताए । उनले भने मानुङकोटमा राखिएको भ्यूटावरबाट दमौली बजारको दृश्य, मादी र सेती नदीमा बनाइने ड्याम, विभिन्न हिमशृङ्खला, तनहुँ, कास्की, नवलपरासी, गोरखालगायतका जिल्लाको मनोरम दृश्यको साथै फाँटहरु सजिलै देख्न सकिनेछ ।”

दमौलीको चापाघाटदेखि करीब आठ किलोमिटर दूरीमा रहेको ६ किलोमिटरमा यसै वर्ष कालोपत्र गर्नका लागि ठेक्का प्रक्रिया अघि बढाइसकिएको छ । उक्त मार्ग कालोपत्र गर्नका लागि रु १० करोड विनियोजन गरिसकेको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए ।

किसान आन्दोलनका नेता एकदेव आले जन्मिनुभएको सो ठाउँदेखि छ शहीद भएको गाउँ पुलिम¥याङसम्मको करीब ४२ किमी दूरीमा अल्ट्रा म्याराथन दौड प्रतियोगिता राखिएको छ । नगरपालिकाले शहीद दिवसको दिन आगामी माघ १६ गते उक्त प्रतियोगिताको आयोजना गर्न लागेको हो । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीयलाई क्रमशः रु ८० हजार, रु ६० हजार, रु ५० हजार र सान्तवना हुने पाँच जनालाई रु १५ हजारका दरले पुरस्कार प्रदान गरिने छ ।

नगरपालिकाले उक्त क्षेत्रमा केबुलकार सञ्चालनका लागि सम्भावना अध्ययन थालेको छ । खानेपानीको समस्या रहेको उक्त क्षेत्रमा सो वडाको धारापानीमा ट्याङ्की निर्माण गरेर पानी सङ्कलन गरी लिफटिङ प्रणालीबाट पानीको व्यवस्था गर्न लागिएको र प्रदेश सरकारसँग खानेपानीको माग गरिएको छ । त्यसैगरी धार्मिक एवं ऐतिहासिकस्थलको रुपमा रहेको पुलिमर्‍याङमा शहीद पार्क निर्माण गर्न यस वर्ष रु २२ लाख विनियोजन गरिएको उनले जानकारी  दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button