गाउँघरकै उद्यमबाट मासिक दुई लाख आम्दानी

पोखरा न्यूज- ०२, माघ ।

म्याग्दीको बेनी नगरपालिका– १ रत्नेचौरका एक युवाले रेडियो, टिभी र मोबाइल मर्मत पसल सञ्चालन गररेका छन् । साथै उनले मासु पसलसमेत सञ्चालन गरेर मासिक रु दुई लाखभन्दा बढी कमाइ गर्दै आएका छन् ।

रत्नेचौरमा विनोद एण्ड विजय फ्रेस हाउस सञ्चालन गर्नुका साथै रेडियो, मोबाइल र टिभी मर्मतको काम गर्दै आएका २६ वर्षीय विन्दु थापाले गाउँमा नै बसीबसी मासिक दुई लाखभन्दा बढी कमाइ गर्न सफल भएका हुन् । थापाले विगत छ वर्षदेखि गाउँमानै विद्युतीय सामानको मर्मत र बिक्री गर्दै आएका थिए । चार महीना अघि गत असोजदेखि उनले सोही ठाउँमा मासु पसल पनि सञ्चालन गर्न थालेपछि उनले आफ्नै घरमा बसीबसी मनग्य आम्दानी गर्न सफल भएका हुन् ।

त्यसका अतिरिक्त थापाले घरमा नै कुखुरा, बाख्रा र हाँस पनि पालेका छन । खोरमा ५०० कुखुरा, १५ वटा बाख्रा र हाँस छन् । त्यसको रेखदेखसाथै मोबाइल, टिभी र अन्य विद्युतीय सामानको मर्मत तथा बिक्री गर्न भ्याइनभ्याइ हुने थापालाई मासु पसल शुरु गरेपछि एकछिन पनि फुर्सद नहुने रत्नेचौरका अगुवा युवा एकेन्द्र महतले बताए ।

घर वाइरिङ गर्नुका साथै सम्पूर्ण विद्युतीय सामान मर्मत गर्ने सीप भएका थापालाई म्याग्दी र बागलुङका विभिन्न गाउँबाट सामान मर्मत र घर वाइरिङका लागि बोलाउन थालेपछि उनको व्यवस्तता झन बढेर गएको छ । “हातमा सीप हुने र तनमा जाँगर हुने हो भने गाउँघरमा नै बसीबसी जापान, कोरियामा कमाइने भन्दा बढी कमाउन सकिन्छ”, थापाले भने, “समयानुकूल व्यापार गर्न सकियो र अल्छी गरिएन भने घरगाउँमा नै प्रशस्त पैसा कमाइन्छ ।”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button