तनहुँमा अल्ट्रा म्याराथनको तयारी पूरा

पोखरा न्यूज- १५, माघ ।

शहीद दिवसका अवसरमा व्यास नगरपालिकाले बुधबार आयोजना गर्न लागेको दोस्रो अल्ट्रा म्याराथन प्रतियोगिताको तयारी पूरा भएको छ ।

नगरपालिकाले आज पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले खेलकूदका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना हुन लागेको प्रतियोगिताको तयारी पूरा भएको बताए । मानहुँबाट शुरु भएर नगरपालिकाको वडा नं ८ पुलिमराङमा टुङ्गिने म्याराथनका लागि सोमबार साँझसम्म ७७ धावकले नाम दर्ता गराइसकेका छन् । आज साँझसम्म १५० धावकले नाम दर्ता गराउने अनुमान गरिएको छ ।

प्रतियोगिताका लागि तनहुँसहित अन्य जिल्लाका धावकलेसमेत नाम दर्ता गराएका छन् । व्यास नगरपालिकाका ४६, म्याग्देका चार, भानुका चार, भिमादका चार, रिसिङ गाउँपालिकाका एक र आबुखैरेनीका एक धावकले नाम दर्ता गराएका छन । कास्की, बाँके, लमजुङ, झापा, रुकुम, गोरखा, धनकुटा, पाँचथर, भक्तपुर, डोटी, सिन्धुपाल्चोक र ललितपुरका धावकले नाम दर्ता गराएको नगरपालिकाले जनाएको छ ।

म्याराथनको दूरी ४४ किमी रहनेछ । म्याराथन मानहुँकोट सिद्ध मार्ग हुँदै अलैँचे–चापाघाट–अनशन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर सकिनेछ । प्रतियोगितामा प्रथमलाई रु ८० हजार, दोस्रोलाई रु ६० हजार, तेस्रोलाई रु ५० हजार र सान्त्वना हुने पाँच जनालाई रु १५-१५ हजार प्रदान गरिनेछ । गत वर्ष आयोजना गरिएको प्रथम व्यास नगर अल्ट्रा म्याराथनमा तीस जिल्लाका १४४ धावकको सहभागिता थियो ।

अल्ट्रा म्याराथनपछि त्यस ठाउँमा आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेको नगर प्रमुख न्यौपानेले बताए । उनले भने, “प्रतियोगिताले नगरपालिकाको गरिमा बढाउन सहयोग पुगेको छ भने त्यस ठाउँमा आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेको छ ।” म्याराथनको अवसरमा नगरपालिकाले ख्यातिप्राप्त धावक वैकुण्ठ मानन्धर र कान्छीमाया कोजुलाई सम्मान गर्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button