पोखरामा बालक हत्याका आरोपी कुमारको थर गर्बुजा नभई दर्जी भएको खुलासा, अनुसन्धानमा प्रहरीको लापरबाही !

पोखरा न्यूज- ४, फागुन ।  घटना छिटो सार्वजनिक गर्ने नाममा कास्की प्रहरी सही सूचना दिनबाट चुकेको छ । गत माघ २९ गते पोखरामा १४ वर्षीय बालक हत्यामा आरोपित युवालाई पक्राउ गरेको प्रहरीले बिना अनुसन्धान अभियुक्तकै  भनाइलाई आधार मानेर सूचना सार्वजनिक गरेको तथ्य फेला परेको छ  । कास्की प्रहरीले छिटो घटना सार्वजनिक गर्ने नाममा गलत सूचना दिएर अनुसन्धान माथि नै प्रश्न चिन्ह समेत  खडा गरेको छ ।

पर्वतको मल्लाज बस्ने २१ वर्षीय बेनी काले भनिने कुमार गर्बुजा ले पोखरामा बस्दै आएका पाल्पाका १४ वर्षीय सचिन सिन्जालीको हत्या गरेको भनी कास्की प्रहरीले घटना भएको १४ /१५   घण्टा भित्रमै हत्याका मुख्य अभियुक्त कुमार गर्बुजा भनी सार्वजनिक गरेको थियो । तर कुमारको वास्तविक थर  गर्बुजा  नभई दर्जी (परियार) भएको खुलासा भएको छ । घटनाको बारेमा कास्की प्रहरीले अभियुक्तको भनाइलाई  मात्र आधार मानेर उनका आफन्त तथा सम्बन्धित जिल्लाका प्रहरीसँग समेत  समन्वय नगरी गलत सूचना प्रवाह गरेको थियो ।

पत्रकार सम्मेलनमै अभियुक्त कुमारले पहिला अर्कै व्यक्तिले मारेको भनेको र पछि आफैले मारेको भनेर स्वीकार गरेको बताएको प्रहरीले पहिल्यै झुट बोलिसकेको अभियुक्तकै भनाइलाई आधार मानेर बिना अनुसन्धान अभियुक्त सार्वजनिक गर्नुले प्रहरीको अनुसन्धान माथि नै प्रश्न चिन्ह समेत खडा गरेको छ । त्यति मात्र हैन सडकमा बसेर  पैसा  मागेर रक्सी खाएका भनिएका अभियुक्त हत्याको रातमा पटक पटक ट्याक्सी चढेर आवतजावत गरेको भनेर प्रहरीले खुलाएको विवरणमा पैसा कहाँबाट आयो भन्न शंका उब्जिएको छ । यद्यपि प्रहरीले देखाएको भिडियोमा उसले ट्याक्सी चढेको र अन्य बाह्य गतिविधि  भने प्रस्ट देख्न सकिन्छ ।

प्रहरीले पत्रकार सम्मेलनमा दिएको बिवरण

उता अघिल्लो दिनमा पत्रकार सम्मेलन मार्फत कुमार गर्बुजा भनी गलत सूचना दिएको प्रहरीले भोलि पल्ट बयानको क्रममा बाबुको थरमा  कुरा बाझिएपछि  समेत त्यसैलाई पुष्टि हुने गरी आमा गर्बुजा भएकोले उनको नाम कुमार परियार गर्बुजा भनेर सच्चाउने प्रयास गरेको थियो । तर कुमारकी आमा गर्बुजा नभई उनको नाम चमेली दमाई रहेको र उनको कुमार ३/४ वर्ष उमेरको  हुँदा मृत्यु भइसकेको थाहा हुन् आएको छ  । यसरी अभियुक्तको भनाइलाई मात्र आधार मानेर सामान्य अनुसन्धान समेत नगरी  कास्की प्रहरीले पटक पटक गलत सूचना दिएको छ ।  अघिल्लो दिन समाचारमा कुमार गर्बुजा भनिएकोमा भोलिपल्ट आफूहरूले किटानी जाहेरी दिने बेलामा प्रहरीले अभियुक्तको नाम कुमार गर्बुजा परियार लेख्न लगाएको र आमाको नाम चमेली गर्बुजा लेख्न भनेको मृतक सचिनका फुपा खडक बहादुर साईले पोखरा न्यूजलाई बताए ।

कुमारको थर गर्बुजा भएको भनी प्रहरीले दिएको सूचनाको आधारमा सञ्चार माध्यममा गलत समाचार प्रवाह भएसँगै पर्वतका स्थानीय गर्बुजा समुदायले  घटनाको बारेमा निकै चासो र चिन्ता व्यक्त गरेपछि पोखरा न्युजले सोधखोज गर्ने क्रममा उनको थर गर्बुजा नभई दर्जी (परियार ) भएको र आमा पनि उनकै जात थरको भएको  खुलासा भएको छ ।

हत्याका मुख्य अभियुक्त कुमारका बाबु एवं उनका आफन्तबाटै १९ वर्षीय अभियुक्तको थर  गर्बुजा नभई   कुमार दर्जी (परियार) भएको खुलासा भएको हो । कुमारकी आमा चमेली दमाई र बाबुको नाम मन बहादुर दर्जी (परियार ) भएको पुष्टि भएको छ । कुमारका बाबु मन बहादुरले आफ्नै छोराको डरले पटक पटक घर छाड्दै बस्नु परेको गुनासो समेत गरेका छन् ।

उनले हामीसँग टेलिफोनमा कुराकानी गर्दै भने “ मेरो छोरा कुमारले म सहित हाम्रो गाउँमै पटक पटक चोरी डकैती गर्ने धम्काउने गर्दै आएको थियो, त्यसलाई भारतको बम्बईसम्म पुराउँदा पनि रेलमा झुण्डेर पनि नेपाल आएको हो, छोरो मेरै हो तर उनको व्यवहार मैले सुधार गर्न सकिन, मलाई ठुलो चिन्ता  लागेको छ । ” उनले आफ्नो छोरा पटक पटक विभिन्न मुद्दामा पर्वत तथा बेनीमा पक्राउ परेर थुनामा  परे पनि नसुध्रिएको बताए ।  “मेरो श्रीमतीलाई र मलाई नै गाँजा रक्सी खाएर चक्कु देखाउँदै मार्छु भन्दै आउँथ्यो अहिले ज्यान नै मारेछ।” – मन बहादुरले दुख व्यक्त गर्दै भने । उनले आफ्नी पहिली श्रीमती चमेली दमाई रहेको र उनको माइती  तनहुँको थर्पुमा भएको समेत बताए  ।  मन बहादुरले दोस्रो विवाह गरी हाल पर्वतको जलजला १ को छिनाखेतमा बस्दै आएका छन्।

कुमारका बाबु मनबहादुर

पर्वत जलजला १ का लक्ष्मण गर्बुजाले आफू गर्बुजा भएका कारण आफूलाई आफन्त तथा स्थानीयले शंका गरेर  उक्त घटनाको बारेमा पटक पटक सोधपुछ गर्ने गरेकोले आफूलाई विना कारण सोधपुछ गर्दा निकै तनाव भएको गुनासो गरे । उनले भने “ प्रहरीले गहिरो अनुसन्धान र सोधपुछ विना हत्याराको सही पहिचान नगरी उसैले भनेका आधारमा सूचना प्रवाह गर्दा हामीलाई अप्ठ्यारो परेको  छ ।”

यस विषयमा कास्कीका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले आफूहरूले अभियुक्त कुमार सँगैको सोधपुछका आधारमा सूचना सार्वजनिक गरेको  स्वीकार गरेका छन्।  उनले भने – ” हामीले उसैले दिएको बयानका आधारमा सूचना दिएका हौ , अहिले अनुसन्धान गर्दै छौ ।”

अभियुक्त पक्राउ परेपछि सम्बन्धित जिल्लाका प्रहरी कार्यालयसँग  सामान्य सोधपुछ तथा समन्वय  समेत नगरी गलत सूचना जाने गरी अभियुक्तलाई सार्वजनिक गरिनुले प्रहरीको अनुसन्धान माथिको  विश्वसनीयतामा समेत प्रश्न उब्जिन सक्छ ।

अभियुक्त कुमार दर्जी ( परियार ) विरुद्ध जिल्ला प्रहरी कार्यालय पर्वतमा समेत पटक पटक झैझगडा लगायतका घटनामा उजुरी परेको खुल्न आएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी इन्स्पेक्टर रवीन्द्र बहादुर श्रेष्ठले कुमारको बारेमा विभिन्न समयमा उजुरी परेको र धेरै पटक मेलमिलाप गरेर पठाइएको पोखरा न्युजलाई बताए ।

उता अभियुक्त कुमार परियार २०७३ /८/१३ गते बेनीमा ट्याक्टरका पाट पुर्जा चोरी लगायतका सार्वजनिक अपराधको मुद्दामा पक्राउ परेको  तथ्य फेला परेको छ  । जिल्ला प्रहरी कार्यालय बेनीले उनलाई सार्वजनिक अपराधको मुद्दामा पक्राउ गरी २० दिन पछि छाडेको मुद्दा फाँटका सई सुदर्शन लम्सालले पोखरा न्युजलाई जानकारी दिए ।

यसरी विभिन्न आपराधिक घटनामा संलग्न रहिसकेका अभियुक्तलाई सामान्य अनुसन्धान बेगर सार्वजनिक गर्दा समाजमा गलत सूचना प्रवाह गरी शंका उब्जाएको  छ नै  अभियुक्तको परिचय फरक पर्दा यसअघि अपराधिले उन्मुक्ति पाएका र पिडितले न्याय पाउनबाट बन्चित भएका सार्वजनिक घटनाबाट कास्की प्रहरीले पाठ सिक्नु पनि आवश्यक छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button