गण्डकी प्रदेश नीति तथा योजना आयोगको सदस्य ढुङ्गानाद्वारा शपथ ग्रहण

पोखरा न्यूज – ०६, फागुन ।

गण्डकी प्रदेशको नीति तथा योजना आयोगको सदस्यमा नियुक्त डा भीमा ढुङ्गानाले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा नीति तथा योजना आयोगका उपाध्यक्ष डा गिरीधारी शर्मा पौडेलले उनलाई शपथ गराएका हुन् । गत मङ्गलबारको मन्त्रिपरिषद्को बैठकले आयोगको सदस्यमा ढुङ्गानालाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

ढुङ्गानाको नियुक्तिसँगै तीन सदस्यीय आयोगले पूर्णता पाएको छ । गैँडाकोट नगरपालिका–८, नवलपुर निवासी उनले जापानको विश्वविद्यालयबाट कृषि, अर्थशास्त्र तथा वातावरण विषयमा विद्यावारिधि गरेकी छन् । कार्यक्रममा ढुङ्गानाले प्रदेशको विकासमा अवसर र चुनौती दुवै देखेको भन्दै टोलीमा रहेर काम गर्दै समृद्ध प्रदेश निर्माणको योजना बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।

मुख्यमन्त्री गुरुङले पञ्चवर्षीय योजना निर्माणका साथै सरकारको वार्षिक बजेट, नीति तथा कार्यक्रम निर्माणमा पनि आयोगको भूमिका हुने बताए । प्रदेशको योजना तथा नीति निर्माण गर्दा राष्ट्रिय लक्ष्यभन्दा पनि माथिको लक्ष्य राखेर योजना बनाउनुपर्ने उनले बताए ।

कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्साल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगर, नीति योजना आयोगका अध्यक्ष डा शर्मा, तथा मुख्य सचिव लक्ष्मीराम पौडेलले कार्यान्वयन गर्न सकिने र व्यावहारिक योजना निर्माणमा आयोग सफल हुने विश्वास व्यक्त गर्दै नवनियुक्त सदस्य ढुङ्गानाको कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button