बन्दीपुरमा पर्यटक प्रहरी

पोखरा न्यूज – २१, फागुन ।

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा स्थायीरूपमा नै पर्यटक प्रहरी राखिने भएको छ । बन्दीपुर घुम्न आउने विदेशी पर्यटकको सुरक्षा र उनीहरूको सहजताका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्थायीरूपमा पर्यटक प्रहरी खटाउन लागेको हो ।

गत जेठ १७ गतेदेखि बन्दीपुरमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट अस्थायीरूपमा तीन पर्यटक प्रहरी खटाइएकामा अब मन्त्रालयबाट नै पर्यटक प्रहरीको दरबन्दी सिर्जना गरी खटाउन लागिएको पर्यटक प्रहरी काठमाडौँका प्रमुख प्रहरी निरीक्षक अमृतबहादुर बस्नेतले जानकारी दिए ।

उनको अनुसार बन्दीपुरमा घुम्न आउने विदेशी पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढिरहेको हुँदा उनीहरूको सुरक्षा र उनीहरूलाई सहज वातावरण निर्माणका लागि प्रहरी नायव निरीक्षकको नेतृत्वमा आठ पर्यटक प्रहरी खटाइन लागिएको छ ।

आन्तरिक पर्यटकको सुरक्षालगायतको व्यवस्था स्थानीय प्रहरीले नै गर्ने भए पनि विदेशी पर्यटकका लागि पर्यटक प्रहरी आवश्यक पर्ने उनले बताए । उनले भने, “स्थानीय प्रहरीमा भाषागत समस्या हुने र विदेशी पर्यटकले स्थानीय प्रहरीलाई सहजरूपमा आफ्नो कुरा भन्न पनि नसक्ने अवस्था भएकाले विदेशी भाषामा दक्षता भएका पर्यटक प्रहरी खटाइनेछ ।”

पर्यटक प्रहरीले पर्यटन क्षेत्रमा गस्ती र पेट्रोलिङ गर्ने, पर्यटकका लागि आवश्यक सूचना प्रवाह गर्ने, पर्यटकलाई विभिन्न भाषामा समन्वय गर्ने, पर्यटकको गुनासो सुन्ने र उनीहरूबाट आएको उजुरी र निवेदनमाथि छानबिन गरी कारवाहीको प्रक्रिया थाल्ने, पर्यटकीयस्थलमा सुरक्षा व्यवस्था मिलाउने, होटल, ट्राभल, ट्रेकिङ र र्‍याफ्टिङ एजेन्सीको निरीक्षण र अनुगमन गर्ने तथा पर्यटकको विरुद्धमा व्यवसायीबाट आएको गुनासो सुन्नेलगायतका काम गर्नेछन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले स्थानीय तह, स्थानीय जनता र व्यवसायीले बन्दीपुरमा रहेका स्थानीय प्रहरी र पर्यटक प्रहरीलाई सहयोग गर्नुपर्ने बताए । बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बन्दीपुर भनेकै पर्यटनले चिनिएको हुँदा यहाँको पर्यटन विकासका लागि गाउँपालिका जस्तोसुकै योगदान गर्न तयार रहेको बताए । उनले पर्यटक प्रहरीलाई नागरिक र व्यवसायीबाट सहयोग हुनुपर्ने भन्दै गाउँपालिकाको तर्फबाट समेत सक्दो सहयोग गरिने बताए ।

बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष बैंश गुरुङले पर्यटनले मात्र बन्दीपुरको समृद्धि सम्भव भएको भन्दै पर्यटक प्रहरीको स्थापनापछि बन्दीपुर घुम्न आउने पर्यटकले सुरक्षित महसुस गर्ने बताए । बन्दीपुरमा वार्षिक पचास हजार बढी विदेशी पर्यटक घुम्नका लागि आउने गरेका छन् ।

Loading...
© Copyright 2019, All Rights Reserved | Pokhara News | नोट : यस पोखरा न्यूज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा समाचारको अंश हाम्रो अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जान बाध्य हुने छौ ।
Loading...

प्रतिक्रिया

तपाइको इमेल गोप्य राखिनेछ । अनिवार्य भर्नुपर्ने ठाउँ *

Back to top button
Close