होटल क्षेत्रमा बार्षिक अर्बौं लगानी थपिंदै तर संरक्षणतर्फ सरकार उदासिन

पोखरा न्यूज – २१, फागुन ।

पश्चिमाञ्चल होटल संघ पोखराको मंगलबार आयोजित १९ औं अधिवेशन तथा ३८ औं साधरण सभामा बक्ताहरुले होटल क्षेत्रमा बार्षिक अर्बौं रुपैयाँको लगानी थपिंदै गएको तर यसको संरक्षणतर्फ सरकार उदासिन देखिएको आरोप लगाए ।

होटल क्षेत्रको लगानीलाई कसरी सुरक्षित बनाउन सकिन्छ भन्ने विषय अहिलेको मुख्य मुद्दा भएको व्यवसायीले बताएका छन् ।  पछिल्लो क्रममा होटलको संख्या बढ्दा होटलको अकुपेन्सी दर भने घट्न पुगेको उनीहरुले बताए । यही क्रममा बैंकहरुले कर्जाको ब्याजदर मनोमानी ढंगले बढाएको भन्दै सरकारले यसविरुद्ध तत्काल हस्तक्षप गर्नुपर्ने उनीहरुको भनाई थियो ।

पोखरामा नयाँ विमानस्थल बन्दै गरेको तर पृथ्वीराजमार्ग, सिद्धार्थ राजमार्ग र भूपि शेरचन राजमार्गको स्तारोन्नती पनि जरुरी भएको सो अवसरमा जोड दिइएको थियो । कार्यक्रमा बोल्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले पर्यटनको विकासका लागि पूर्वाधारको विकास हुनुपर्नेमा जोड दिए । होटलहरुले स्तरीय सेवा दिनेतर्फ पनि सचेत हुनुपर्ने सुझाव उनको थियो ।
गण्डकी प्रदेशले पर्यटनलाई मुख्य प्राथमिकतामा राखी काम गरिरहेको बताउँदै उनले सहासिक र खेल पर्यटनको विकासमा पनि थुप्रै काम गर्न बाँकि नै रहेको बताए । पाहुना नै भगवान हुन् अर्थात् अतिथि देवो भवः लाई मुख्य ब्राण्ड नै बनाएर नेपाल अन्तर्राष्ट्रिय रुपमा प्रबर्दित हुन सक्ने उनले बताए ।

सो अवसरमा बोल्दै प्रदेश सभासद राजिव पहारीले पोखरालाई ग्रिन क्लिन सिटी बनाउनुपर्ने बताए । हिमागृहलाई तत्काल खोल्नुपर्ने भन्दै उनले फेवा तालको माटो निकाल्ने काम रोकिन नहुने उनले बताए । संघका पूर्व अध्यक्ष एवं पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष सुन्दरकुमार श्रेष्ठले होटल बचाउने दायित्व सरकारको पनि भएको बताए । होटल क्षेत्र सबैभन्दा ठूलो लगानी भएको क्षेत्र रहेको पनि उनले सुनाए ।

नेपाल पर्यटन बोर्डका नवनियुक्त सदस्य एवं होटल संघ नेपालका सदस्य विप्लव पौडेलले व्यवसायीको संरक्षण र नेपालको प्रबद्र्धन आफ्नो मूल नारा भएको भन्दै बंगलादेशमा नेपाल प्रवर्द्धन गर्ने गरी छिटै योजना आफूले लिएर आउने प्रतिबद्धता जनाए ।
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सडक नबनेसम्म हिमाल हाँसे पनि पर्यटन नआउने बताए । पर्यटन बसपार्कक सम्बन्धि सम्झौता छिटै हुने भन्दै उनले यही बर्ष भित्र पोखराका १० चोकमा ट्राफिक लाइट राखिने जानकारी दिए । होटल संघ नेपालका कोषाध्यक्ष साजन शाक्यले पोखरा दक्षिण एशियाको पर्यटकीय ढोका बन्न सक्ने भनाई राखे ।

संघका अध्यक्ष विकल तुलाचनको सभापत्विमा भएको कार्यक्रममा पोखरा पर्यटन परिषद्का उपाध्यक्ष गोपिबहादुर भट्टराई, संघका महासचिव गणेशराज पहारी र उपाध्यक्ष लक्ष्मण सुबेदीले पनि भनाई राखेका थिए । कार्यक्रममा बोर्डका सदस्य पौडेल र टेनिस मार्फत् पर्यटन प्रवर्द्धनमा सहयोग गरेको भन्दै कास्की जिल्ला टेनिस संघका संस्थापक अध्यक्ष विनोद कायस्थलाई सम्मान गरिएको थियो । संघले फेवा संरक्षणमा गरेका कामहरुबारे फेवा वाटरसेड इकोसिष्टम म्यानेजमेण्ट बोर्डका तर्फबाट प्रस्तुती पनि दिइएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button