पोखराको विन्ध्यवासिनी मन्दिरमा निर्माण गरिएको लिफ्ट राष्ट्रपति भण्डारीद्वारा उद्घाटन

डिएनबी, पोखरा न्यूज – २३, फागुन । 

हुण्डाई मोटर कम्पनी दक्षिण कोरिया तथा लक्ष्मी समुहको नेपालको सहकार्यमा पोखराको विन्ध्यवासिनी मन्दिरमा हालै निर्माण गरिएको लिफ्टको आज (बिहीबार) एक समारोहका बिच राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्।

राष्ट्रपति भण्डारीले देशमा दिगो विकास र भावी पुस्ताको भविष्यको लागि पनि प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षण गर्न जोड दिएकी हुन् । उनले देशमा दिगो विकासको लागि प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षण गर्नुपर्नेमा जोड दिएकी छन्।

प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षण संवर्धन गर्न सके देशमा दिगो विकास र भावी पुस्ताको भविष्य निमार्णको साथै पुण्य आर्जन हुने उनको भनाई थियो । उनले भनिन् “ धर्मको महत्वपुर्ण पक्ष भनेको सेवा हो, प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षण संवर्धन गर्दै मानव हितका लागि धेरै कार्य गर्न सकिन्छ ।” राष्ट्रपति भण्डारीले बिन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको सक्रियतामा मन्दिर दर्शनका लागि इच्छुक तर भौतिक एवम् शारीरिक रुपमा मन्दिरमा पुग्न नसक्ने व्यक्तिहरुलाई लक्षित गरी लिफ्ट जडान गर्नु प्रशंसनीय कार्य भएको बताइन् ।

समितिको अभियानमा सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिदै राष्ट्रपति भण्डारीले ज्येष्ठ नागरिक, असक्त्त, अपाङगता भएका व्यक्तिहरुलाई लक्षित गरी समितिले हालै संचालनमा ल्याएको फिल्ट सेवाले पोखराको धार्मिक पर्यटनको समेत प्रबर्द्धन गर्न थप टेवा पुग्ने व्यक्त गरिन । लिफ्टको उद्घाटनसंगै राष्ट्रपति भण्डारीले विन्ध्यावासिनी मन्दिरमा पुजा आराधना समेत गरेकी हुन् ।

उक्त, अवसरमा राष्ट्रपति भण्डारीले लिफ्ट निर्माणमा सहयोग गर्ने हुण्डाई मोटर कम्पनी दक्षिण कोरियाका प्रतिनिधि उपप्रमुख जोनसोन र लक्ष्मी समुहका निर्देशक सुनील श्रेष्ठलाई सम्मान गरिन् ।

उनको पोखरामा आगमन हुने भनेसंगै पोखरा बिमानस्थल देखि विन्ध्यवासिनी मन्दिरसम्म सुरक्षाको व्यबस्था कडा पारिएको थियो । केहि समय सडक अबरोध पार्दा वा विकल्पको सडकमा अन्यलाई पठाउदा जनताले केहि समय सास्ती भोग्नु परेको गुनासो गरेका थिए ।

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले समितिले निमार्ण गरेको लिफ्ट सेवा धार्मिक तिर्थ स्थलहरु मध्यकै नमुना लिफ्ट सेवा संचालन भएको बताए । धर्म ले व्यक्तिलाई अनुशासन र विधि सिकाउने उनले जनाए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशमा धार्मिक तथा सांस्कृतिक एवं पर्यटनको प्रचुर सम्भावना रहेको बताए । राष्ट्रिय एकतालाई मजबुत बनाउँदै प्रदेशको समृद्धिसँग धार्मिक एवं सांस्कृतिक पक्षलाई जोड्नु पर्ने उनको भनाई छ ।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले समितिमा भएको सिमित स्रोत र साधनलाई अधिक रुपमा प्रयोग गरी मन्दिरमा उत्कृष्ट व्यवस्थापन गर्दै आएको जनाए । उनले पोखरालाई विश्वका १० उत्कृष्ट प्राकृतिक शहरमध्येको एक भएको दाबी गरे ।

समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले कास्कीका अन्तिम राजा सिद्धिनारायण शाहले निर्माण गरेको उक्त मन्दिर निकै पुरानो र ऐतिहासिक भएको दाबी गरे । उक्त मन्दिरले २४० वर्षको इतिहास बोकेको उनले जनाए । मन्दिरको संरक्षण र विकासका लागि २०४६ सालमा समिति गठन भई भएको थियो । करिब एक करोडको लागतमा ८ महिनामा उक्त लिफ्ट सेवा निमार्ण भएको समितिका सचिब तिर्थ श्रेष्ठले बताए ।

प्रदेश सरकारसंगको समन्वयमा समितिले वोरीङको पानी निकाल्ने तयारी गरेको छ भने समितिले मन्दिर परिसरमा संकलन भएको फोहोरलाई व्याबस्थापन गर्न कम्पोष्ट मल बनाउने भएको समितिले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button