बाग्लुङको काठेखोलामा घरवास कार्यक्रम शुरु

पोखरा न्यूज – २८, फागुन ।

घरवास (होमस्टे) कार्यक्रम शुरु भएपछि काठेखोला गाउँपालिका–३ धम्जा, ओखलेवासी उत्साहित भएका छन् । गाउँको पर्यटन प्रर्वद्धनमा घरवासले नयाँ आशा जगाएको छ ।

स्थानीय उत्पादन, संस्कृति र खानपानसहितको सेवा घरवासमा उपलब्ध गराउने योजना गाउँलेको छ । घरवासमा जोडिएका चौध घरमा चार चार जनाका दरले पर्यटक राख्न सकिने जनाइएको छ ।

घरवासका लागि आवश्यक पर्ने पूर्वाधार निर्माणको तयारी भइरहेको ‘बेलढुङ्गा सामुदायिक घरवास’ सञ्चालक समितिका अध्यक्ष टेकबहादुर पुनले बताए । घरवास प्रर्वद्धनका लागि गण्डकी प्रदेश सरकारले रु दश लाख अनुदान उपलब्ध गराएको छ ।

‘पर्यटनमैत्री हिसाबले कोठा, फर्निचर, शौचालय बनाउँदैछौँ’ अध्यक्ष पुनले भने, “छिट्टै विधिवत् रुपमा सेवा शुरु हुन्छ ।” पारिवारिक वातावरणमा खाना, आवाससँगै पर्यटकले नजिकका पर्यटकीय गन्तव्यस्थल घुम्ने अवसर पाउनेछन् ।

मगर बाहुल्य रहेको ओखले गाउँ कला, संस्कृतिका हिसाबले पनि धनी छ । रैथाने संस्कृति, रहनसहन बुझ्न, हेर्न चाहने पर्यटकलाई पनि घरवासले आकर्षित गर्ने देखिन्छ । स्थानीय उत्पादनलाई पनि घरवाससँग जोडिने घरवास सञ्चालक गोपाल श्रीसले बताए ।

‘ओखलेलाई जैविक गाउँ घोषणा गर्ने तयारी छ’ उनले भने, “यहाँ आउने पर्यटकलाई स्थानीय खाना खुवाउँछौँ ।” यहाँको मुख्य उत्पादन आलु, भाँगो, फापर, मकै र कोदो हो । स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरणमा पनि घरवासले टेवा पुग्ने विश्वास गरिएको छ ।

समुद्री सतहदेखि दुई हजार ३०० मिटरको उचाइमा पर्ने ओखले प्राकृतिक हिसाबले पनि मनोरम छ । ओखलेदेखि एक घण्टाको पैदलयात्रामा ‘बेलढुङ्गा’, स्वर्गाश्रमजस्ता पर्यटकीय क्षेत्रमा पुग्न सकिन्छ । प्राकृतिक दृश्यावलोकन स्तम्भ (भ्यू टावर) रुपमा चिनिने बेलढुङ्गाबाट दर्जनौँ हिमशृङ्खला देख्न सकिन्छ ।

घरवास सञ्चालकले अनुभव र सिकाइका लागि तालीम, भ्रमणमा जाने योजना पनि बनाएका छन् । पर्यटकलाई आकर्षित गर्न खाना, आवास, सरसफाइ, आतिथ्यता लगायतका सेवालाई स्तरीय बनाइने भएको छ ।

गाउँमा पर्यटन विकास गर्न सके बसाइँसराइ रोक्न सकिने वडा अध्यक्ष यामबहादुर श्रीसको भनाइ छ । ‘पर्यटनलाई उद्यमशीलतासँग जोडौँ’ उनले भने, “गाउँलेको आर्थिक अवस्था उकास्न सकिन्छ ।”

ओखलेसँगै काठेखोला गाउँपालिकाका आठ स्थानमा घरवास कार्यक्रम शुरु भएको छ । गाउँमा पर्यटक भित्र्याउने लक्ष्यसहित घरवास चलाउन गाउँले कस्सिएका हुन् । वडा नं ७ रेशमा बौर, डोटा देउराली, मौरी झरना र रेश सामुदायिक गरी चार घरवास सञ्चालनको तयारीमा छन् ।

यस्तै वडा नं. ५ बिहुँ, थाम्डाँडामा शिवधुरी, वडा नं. ८ लेखानी र वडा नं ४ तङ्ग्रामको फापरखेत, झुलेनीमा सामुदायिक घरवास कार्यक्रम शुरु भएको हो । गण्डकी प्रदेश सरकारले प्रदेशभित्र तीन सय घरवास सञ्चालन गर्ने योजना ल्याएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button