म्याग्दीका किसान फलफूल खेतीतर्फ आकर्षित

पोखरा न्यूज – १६, चैत । म्याग्दीका किसान अन्नबालीभन्दा फलफूल खेतीतर्फ आकर्षित भएका छन् । परम्परागतरूपमा धान, मकै, गहुँ, कोदो खेती गर्दै आएका किसानले पछिल्लो समय आफ्नो खेतबारीमा सुन्तला र केराका बिरुवा लगाउन थालेका छन् ।

अन्नबालीको तुलनामा कम मिहिनेत र थोरै लगानीमा छिटो नगद आम्दानी लिन सकिने भएकाले आफूहरु अन्नबालीको विकल्पमा फलफूल खेतीतर्फ आकर्षित भएको किसानले बताएका छन् । एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीका सबै वडामा अहिले अन्नबालीको तुलनामा फलफूल र तरकारी खेतीतर्फको आकर्षण बढ्दै गएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

बेनी नगरपालिकाको ज्यामरुककोट, खबरा, राखु, मरेक, बास्कुना, मालिका गाउँपालिकाको बिम, ओखरबोट, देवीस्थान, मङ्गला गाउँपालिकाको अर्मन, कुहूँ, बरङ्जा, रघुगङ्गाको भगवती, बेगखोला, पिप्ले, अन्नपूर्ण गाउँपालिकाको दाना, नारच्याङ र हिस्तान तथा धवलागिरि गाउँपालिकाको ताकम र मुदीका किसानले फलफूल खेती विस्तार गरेका छन् ।

बेनी नगरपालिका–२ खवराका चन्द्रबहादुर कार्कीले १० मुरी धान फल्ने तीन रोपनी जग्गामा २०० बोट केराका नयाँ बिरुवा लगाएका छन् । त्यसैगरी सोही गाउँका भक्तबहादुर कुँवरले खेत, बारी र पाखो जग्गा गरी चार रोपनी क्षेत्रफलमा केरा र मेवाका बिरुवा लगाएको बताए ।

अन्नबालीले लगानी पनि नउठ्ने तथा उत्पादनले बजार पनि नपाउने र खेती लगाउने समयमा कृषि मजदुरको पनि अभाव हुने हुँदा अन्नबाली झन्झटिलो भएकाले फलफूलतिर आकर्षित भएको किसानको भनाइ छ ।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका कृषकले गत वर्षसम्म मकै र कोदो लगाउँदै आएको बारीमा सात हजार नयाँ सुन्तलाका बिरुवा रोपेका स्थानीय कृषक धनसरा पुनले जानकारी दिए । उनका अनुसार जनशक्तिको अभावमा बाँझिदै गएको जमीनलाई उपयोगमा ल्याउन गत वर्षदेखि सुन्तला र केरा खेती विस्तार गरिएको हो ।

फलफूल खेतीलाई अन्नबालीको जस्तो स्याहारसुसार र गोडमेल पनि गरिरहनु नपर्ने, धेरै जनशक्तिको पनि आवश्यक नपर्ने र आम्दानी पनि बढी हुने भएकाले अन्नबालीलाई छाडेर फलफूल खेतीतर्फ लागेको किसानले बताएका छन् ।

साविकको जिल्ला कृषि विकास कार्यालयले गत आर्थिक वर्ष जिल्लाका किसानलाई ५० प्रतिशत अनुदानमा २५ हजार सुन्तलाका बिरुवा वितरण गरेको थियो । गत वर्ष मात्रै ६० हेक्टर थप क्षेत्रफलमा सुन्तला खेती विस्तार गरिएको कृषि ज्ञान केन्द्र म्याग्दीका बागवानी विकास अधिकृत भोजबहादुर थापाले जानकारी दिए । अधिकृत थापाका अनुसार आर्थिक वर्ष २०७३÷७४ मा म्याग्दीमा रु सात करोड ५० लाख मूल्य बराबरको दुई हजार २६५ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button