पोखरामा यात्रु माथि दुर्व्यवहार गर्ने ट्याक्सी चालकले मागे माफी

समिति भने मिटरमा ट्याक्सी संचालन गर्न असहमत

पोखरा न्यूज –२०, चैत । मिटरमा ट्याक्सी संचालन गर्ने सर्त र यात्रु माथि गरेको दुर्व्यवहार प्रति माफी मागे पछि मंगलबार पक्राउ परेका पोखराका एक ट्याक्सी चालक बुधबार प्रहरी हिरासतबाट छुटेका छन्।

मंगलबार एक यात्रु (दीननाथ बराल) माथि दुर्व्यवहार गर्ने ट्याक्सी चालक अनिल गुरुङले वडा कार्यालय बैदाममा लिखित रुपमै पोखरामा मिटरमा ट्याक्सी संचालन गर्ने र यात्रु बराल माथि गरेको दुर्व्यवहार प्रति माफी मागेसंगै उनी छुटेका हुन् ।  यात्रु बराल पत्रकार समेत रहेकोले नेपाल पत्रकार महासंघ, कास्की र पोखरा ट्याक्सी व्यवसायी समिति बिच भएको बुधबारको वार्तामा समितिले लिखित कुनै प्रकारको पनि सहमति गर्न नसक्ने जनाएको छ ।

समितिका बरिष्ठ उपाध्यक्ष शोभाकान्त सिग्देलले पोखरामा मिटरमा ट्याक्सी संचालन गर्ने बिषयमा कुनै पनि हालतमा लिखित रुपमा सम्झौता हुनै नसक्ने बताए । उनले भने “ हामी व्यवसायी मर्कामा परेका छौं, हाम्रो आन्दोलन अन्तिम चरणमा पुगेको छ, यो अबस्थामा आएर हामीले मिटरमा ट्याक्सी चलाउने विषयमा मौखिक रुपमा मात्र आव्हान गर्न सक्छौं अन्यथा लिखित रुपमा कुनै पनि सहमति गर्न सक्दैनौं । ”

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले संस्थागत रुपमा समितिले आफुहरुले भनेको विषयमा नमाने पछि उक्त विषयमा व्यक्तिगत रुपमै मिलापत्र गर्न आव्हान गरेका हुन् । पहिलो चरणको वार्तामा समितिका बरिष्ठ उपाध्यक्ष पौडेल र उपाध्यक्ष राम्जी घिमिरेले लिखित रुपमै पोखरामा मिटरमा ट्याक्सी संचालन गर्ने बिषयमा तयार भए पनि लिखित रुपमै जाने अबस्थामा एकाएक फोन गरे पश्चात आफुहरुले लिखित रुपमा सहमति गर्न नसक्ने अडान राखेका हुन्।

पोखराको पृथ्बीचोकबाट नदीपुर कोठामा जान खोज्दा पोखराको पृथ्बीचोक (बसपार्क) मा मंगलबार ट्याक्सी चालकहरुले दादागिरी देखाउदै मिटरमा ट्याक्सी संचालन गर्न नमानि यात्रु बराल माथि दुर्व्यवहार गरेका हुन्। यात्रु बरालले दुई वटा ट्याक्सीलाई कारवाहीको माग गर्दै दुर्व्यवहार गर्ने गुरुङलाई लिखित उजुरी दिएका थिए । यात्रु बराल नेपाल पत्रकार महासंघ कास्कीका सहसचिव, रेडियो अन्नपुर्ण, कारोबार दैनिक, पोखरा न्यूज डटकममा आवद्ध छन्।

कास्कीका प्रहरी प्रमुख एस.पी.ओमबहादुर रानाले पोखरामा मिटरमा ट्याक्सि संचालन हुनु पर्ने अन्यथा कारवाही गर्ने बताए । धेरै बर्ष देखि बैज्ञानिक भाडा दर कायम नभएकाले आफुहरु मारमा परेको पोखरा ट्याक्सि व्यवसायी समितिका अध्यक्ष प्रकाशमणि तिवारीले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button