तयार भयो पोखरा अन्तराष्ट्रिय विमानस्थलको धावनमार्ग

मुख्य भवनको काम १० प्रतिशत मात्र बाकीं

गणेश बराल, पोखरा न्यूज – ०५ , बैशाख । नेपालमै पहिलो पटक रिजीट पेभमेन्ट सिस्टममा बनेको पोखरा अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गको निर्माण कार्य पुरा भएको छ । रिजीट पेभमेन्ट ( ढलान ) सिस्टममा २ हजार ५ सय मिटर लम्बाइको धावनमार्ग तयार भएको पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निमार्ण आयोजना प्रमुख विनेस मुनाकर्मीले जनाए ।

पछिल्लोपटक अन्तराष्ट्रिय स्तरमा प्रचलित नयाँ प्रविधि रिजीट पेभमेन्ट ( ढलान ) मा बनेको विमानस्थलको धावनमार्गको चौडाइ ४५ मिटर रहेको छ । धावनमार्ग तिन लेयरमा तयार पारिएको छ । सव बेस लेयर २० सेन्टिमिटर, बिचको लेयर २० सेन्टिमिटर र रिजीट पेभमेन्ट ३४ सेन्टिमिटर गरि ७४ सेन्टिमिटर मोटाइमा धावनमार्ग तयार भएको हो । रन वे रिजीट पेभमेन्ट (ढलान) सिस्टममा बनेकाले पिच भन्दा दिगो हुने बताइएको छ ।

३७ प्रतिशत काम पुरा , सन् २०१९ भित्रमा ६० प्रतिशत निर्माण सकिने

आयोजना प्रमुख मुनाकर्मीले विमानस्थलको निर्माण कार्य द्रुत गतिमा भइरहेको बताउदै हालसम्म ३७ प्रतिशत काम पुरा भएको जनाए । विमानस्थलको निर्माण कार्य सुरु भएको करिब १५ महिनामा विमानस्थलको एप्रोनको निमार्ण कार्य समेत पुरा गरिसकिएको र धावनमार्गको निर्माण कार्य भर्खरै पुरा भएको भन्दै तोकिएको समयभन्दा कम्तिमा ६ / ७ महिना अगावै विमानस्थल निर्माण कार्य पुरा हुने बताए ।

असार मसान्तसम्ममा ३५ प्रतिशत निर्माण कार्य सक्ने लक्ष्य राखिएको भएपनि हालसम्म ३७ प्रतिशत निर्माण कार्य सकिएको र असार मसान्त सम्ममा थप ८ /१० प्रतिशत बढी निमार्ण कार्य सम्पन्न हुने देखिएको उनले जनाए । सन् २०१९ भित्रमा परियोजानको कम्तिमा ६० प्रतिशत निर्माण कार्य पुरा गर्ने लक्ष्यका साथ कामलाई तीव्रता दिइएको आयोजना प्रमुख मुनाकर्मीले बताए । सन् २०२० मा ४० प्रतिशत काम सक्ने लक्ष्य रहेको बताउदै २५ प्रतिशत बाँकी काम भने अन्तिम ६ महिना भित्र हुने बताए ।

मुख्य भवनहरुमा जम्मा १० प्रतिशत काम बाकि, सहायक भवनको पनि ३३ प्रतिशत काम पुरा

विमानस्थल भित्र टर्मिनल लगायतका १४ वटा मुख्य भवनहरु र ४ वटा टावर लगायतका सहायक भवनहरुको निर्माण कार्य दुर्त रुपमा अगाडि बढेको चाईनिज सिएएमसी कम्पनिका जनसम्पर्क अधिकृत कृष्ण प्रसाद चापागाईले पोखरा न्युजसँग बताए । टर्मिनल भवन लगायतका मुख्य भवनको ९० प्रतिशत निर्माण कार्य पुरा भएको र सहायक भवनहरुको निर्माण कार्य एक तिहाइ सकिएको अधिकृत चापागाईले जनाए ।

टर्मिनल लगायतका मुख्य भवनमा स्टिल स्टक्चरको १० प्रतिशत काम बाकी रहेको उनले बताए । स्टिल स्टक्चरका सामग्री हरु चीनबाट बाटोमा आउदै गरेको जनाउदै अधिकृत चापागाईले सामान आइपुगे लगतै बाकी १० प्रतिशत काम पुरा हुने जनाए । अधिकृत चापागाईका अनुसार ह्याङगर, वेष्ट ट्रान्सफर, सिवेज स्टेशन, सेन्ट्रल बेस स्टेशन र स्पेशल भेहिकल कल ग्यारेज लगायतका अधिकांश भवनहरु निर्माणको अन्तिम चरणमा रहेका छन्। परियोजनामा हाल प्राविधिक सहितका २ सय जना चाइनिज र ३ सय जना नेपाली कामदार गरि करिव ५ सय जनाले काम गरिरहेको उनले जनाए ।

माटो कटानको कार्य ८० प्रतिशत पुरा , ड्रप स्टक्चर र रिङरोडको काम अगाडि बढ्दै

विमानस्थलमा माटो कटान तर्फ ८० प्रतिशत काम पुरा भएको अधिकृत चापागाईले बताए । विमानस्थलको पेरिफेरी क्षेत्रमा ट्रयाक निमार्ण गरिएको र एक बर्ष भित्रमा रिङरोड तयार हुने उनले जनाए । विमानस्थलको पानीलाई व्यबस्थापनको लागि ड्रप स्टक्चरको कार्यलाई तिब्रता दिइएको अधिकृत चापागाईले बताए । सन् २०२० भित्रै उक्त परियोजना सक्ने आफुहरुको  योजना रहेको उनले बताए ।

आयोजनाले विमानस्थललाई असर पार्ने देखिएको रिठ्ठेपानीको २४ मिटर डाँडा स्थानिय सरोकारवाला निकायसंग समन्वय गरी कटान गर्ने तयारी गरिरहेको छ । विमानस्थललाई आवश्यक थप पूर्वाधार निर्माणका लागि ६० रोपनी र इन्नधन डिपोको लागि थप ३० रोपनी जग्गा आवश्यक भएको आयोजनाले जनाएको छ।

सन् २०२१ जुलाइ १० भित्र निर्माण कार्य सम्पन्न गर्ने गरि सम्झौता गरेको चाइनिज कम्पनीले निमार्ण कार्यलाई तिव्र गतिमा अगाडी बढाएको छ । करिब २२ अर्ब रुपैयाँ चिनियाँ ऋण सहयोगमा २०१७ को जुलाई ११ (२०७४ असार २७ गते)बाट विमानस्थल निमार्ण कार्य सुरु भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button