पोखरामा पत्रकार दानीमाथि सुरक्षाकर्मीको दुर्व्यवहार

पोखरा न्यूज – ०७ , बैशाख । पोखराबाट आधिकारिक रुपमा सञ्चालित गण्डक न्यूज डटकमका पत्रकार अश्विन दानीमाथि सुरक्षाकर्मीले दादागिरी देखाएका छन् । नेपाली सेनाका अधिकृत र नेपाल प्रहरीका जुनियर अधिकृत लगायतको टोलीले मिडियाको हुँ भन्दा भन्दै पनि दुर्व्यवहार गरी मोबाइल खोसे ।

शनिबार बिहान ट्रेड मल नजिकै भेटिएको शंकास्पद वस्तु डिस्पोज गर्ने तयारी गरिरहेको बेला अफिसियल पेजमार्फत प्रत्यक्ष प्रसारण गरिरहेका दानीलाई नेपाली सेनाका क्याप्टेन र नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक शुशिल घिमिरे सहितका टोलीले हातपात र दुर्व्यवहार गरेको हो । सो कुरा भिडियोमा स्पष्ट छ । पत्रकार दानी सहितका पत्रकारहरु रिपोर्टिङका लागि पुगेका थिए । घटनापछि नेपाल पत्रकार महासंघ कास्कीले विरोध गरेको छ । प्रहरीले गल्ती स्विकार गर्दै अब कमजोरी हुन नदिने बताएको छ ।

प्रहरी भन्छ- ‘कमजोरी भयो, करेक्शन गछौैं’

घटनापछि नेपाल जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख प्रहरी उपरीक्षक ओम रानाले कमजोरी भएको स्वीकार गरेका छन् । कास्की प्रहरी पत्रकार विरुद्ध दादागिरी शैलीमा प्रस्तुत भईरहेको तर्फ ध्यानाकर्षण गराउने क्रममा उनले भने – पहिले आर्मीबाटै भएको रहेछ भन्ने सुनेँ । हाम्रोबाट भएको कमजोरी हामी स्वीकार्छौं । करेक्शन गर्छौं । गल्ती भएको हो । यस्तो हुनुहुँदैन ।’

प्रहरी नायब निरीक्षक शुशिल घिमिरे वडा प्रहरी कार्यालय बैदामका हुन् । त्यस कार्यालयको नेतृत्व गर्ने डिएसपी कोमल शाहलाई यस घटनाबारे जानकारी गराउँदा कुनै पनि मिडियाकर्मीलाई नराम्रो व्यवहार गर्नुहुन्न भन्नेमा आफू सचेत रहेको बताए । यस घटनाबारे म बुझ्छु ।

‘मिडियामाथि नांगो हस्तक्षप’- पत्रकार महासंघ

गण्डक न्यूज डट कमका पत्रकार अश्विन दानीमाथी नेपाली सेनाका एक अधिकृत र नेपाल प्रहरीका सुरक्षाकर्मीले गरेको दुर्व्यवहारको नेपाल पत्रकार महासंघ कास्कीले खेद व्यक्त गरेको छ ।

महासंघ, कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले विज्ञप्ती जारी गर्दै समाचार संकलनको क्रममा फिल्ड रिपोर्टिड. गरिरहेका पत्रकारले म गण्डक न्युजबाट, मिडियाको हुँ भन्दा भन्दै दुर्व्यवहार गर्नु, बलजफ्ती प्रहरी भ्यानमा कोच्नु, संचार सामाग्री (मोबाइल सेट) फुटाइनुलाई मिडिया माथिको नांगो हस्तक्षेपको रूपमा लिएको उल्लेख गरेका छन् ।

विज्ञप्तीमा उल्लेखित

‘यो घटनाको आवश्यक छानबिन गरी दोषी सुरक्षाकर्मी माथि कारवाही गर्न र उचित क्षतिपूर्तिको व्यवस्था मिलाउन नेपाल पत्रकार महासंघ कास्की माग गर्दछ । साथै पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टि गर्न र निर्वाध रूपमा समाचार संकलन र सम्प्रेषण गर्ने वाताबरण निर्माणका लागि राज्य, स्थानिय प्रशासन, सुरक्षा निकाय र नागरिक समुदाय सम्पूर्णमा हार्दिक अपिल गर्दछौं ।’

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवालीले घटनापछि मिडियामाथिको आक्रमण कति सहनु भन्दै दोषी सुरक्षाकर्मीमाथि कारबाहीको माग गरेका छन् ।

सेना आफ्नो कमजोरी लुकाउन चाहन्छ

अस्ति वैशाख ५ गते पोखराका धेरै ठाउँहरुमा शंकास्पद वस्तु भेटिए । पोखराको नदीपुर स्थित प्रदेशसभा भवन नजिकै भेटिएको वस्तु डिस्पोज गर्ने क्रममा एक सेनाका अमल्दार घाइते भए । बम डिस्पोज गर्न पुगेका कालि भञ्जन गणका धर्मबहादुर थापाको हातमा चोट लाग्यो र उनलाई उपचारका लागि काठमाण्डौ लगियो ।

त्यसकारण पनि सेनाले मिडियालाई फोटो र भिडियो खिच्न नदिने मनस्थिति बनाएको हो । विश्वस्त श्रोतले भन्यो- यस्ता बम नै हो कि होइन ? भन्ने खालका वस्तु डिस्पोज गर्ने क्रममा डिस्पोज गर्ने टोलीमै क्षति पुग्नु भनेको आफ्नै असावधानीले हो । सेनाले आफ्ना कमजोरी कहाँ बाहिर आओस् भन्ने चाहन्छ र ? यस्तो कुरा लाइभ हुँदा आफू चुकेको कुरा अरुलाई थाहा हुन्छ । सुरक्षाका कारण पनि हो तर, यो भन्दा पनि सेनाले चाहिँ आफ्नो कमजोरी छोप्न नै हो ।’

घटनाबारे पत्रकार दानीको भनाई 

आज बिहान पोखरा ट्रेड मल पछाडि शंकास्पद वस्तु भेटिएको थाहा भए लगत्तै म घटनास्थल गएँ । मैले व्यक्तिगत रुपमा नभई अफिसियल पेजबाट नै फेसबुक लाइभ गरेको छु । गण्डक न्यूज आधिकारीक अनलाइन भएकाले यसबाट हुने समाचार सम्प्रेषणका गतिविधि पनि आधिकारिक नै हुन् । एक्कासी लाइभ गर्दागर्दै काली भञ्जन गणबाट डिस्पोजल टोलीको नेतृत्व गरेर आएका क्याप्टेनले दुर्व्यवहार गरे ।

मैले खिचेको भिडियोमा स्पष्ट छ, त्यहाँ सैनिक जवानले समेत भिडियो गरिरहेका छन् । त्यसैबेला वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायव निरीक्षक शुशिल घिमिरेको नेतृत्वमा आएको प्रहरी टोलीले मलाई प्रहरी भ्यानमा बलजफ्ती लग्यो । मैले प्रयोग गरिरहेको मोबाइल पटक पटक खोस्ने प्रयास गरे । अन्तिम पटक खोस्दा मोबाइलको बाहिरी कभर नै फुटेको छ ।

म गण्डक न्यूजको मिडियाको भनिरहेको छु । तैपनि भ्यानमा लगियो, पछि दुर्व्यवहार गरियो । फुच्चेहरु अझै दुव्र्यवहार भन्ने ? भन्दै भ्यानमा राखिएको बेला भनिएको छ । त्यसबेला मोबाइलमा लाइभ टुटिसकेको थियो । तत्काल सम्पादक रञ्जन अधिकारी आउना साथ मलाई छाडियो । मैले मिडियाको, गण्डकन्यूजबाट भनिरहेको जानकारी गराउँदा समेत यस्तो हर्कत गरियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button