सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा, निजी विद्यालय बन्द हुने क्रममा

पोखरा न्यूज – २७, बैशाख । सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर विषयमा बेलाबेलामा चर्चा हुने गरेको छ । सामुदायिक विद्यालयमा शैक्षिक वातावरण नभएको कारण देखाउँदै निजी तथा आवासीय विद्यालयमा आफ्ना विद्यार्थी लैजानेको पनि ठूलै लर्को छ ।

विद्यालयमा शैक्षिक वातावरण बनाउन र विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन, सरकार, समुदाय, विद्यालय व्यवस्थापन समिति, शिक्षक र विद्यालय प्रशासन सबैको उत्तिकै महत्वपूर्ण जिम्मेवारी रहेको हुन्छ ।

स्थानीय सरकार, समुदाय, शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समितिको संयुक्त पहल हुने हो भने सामुदायिक विद्यालयलाई पनि नमूना बनाउन सकिन्छ भन्ने उदाहरण हो बागलुङ नगरपालिका–६ लहरेपिपलमा रहेको लहरेपिपल माध्यमिक विद्यालय । एक वर्ष पहिलासम्म विद्यार्थी सङ्ख्या पुर्याउन हम्मेहम्मे रहेको यो विद्यालयले चालू शैक्षिकसत्रमा मात्रै ११२ नयाँ विद्यार्थी भर्ना गराएको छ । भर्ना अभियान चलिरहेकाले विद्यार्थीको सङ्ख्या अझै बढ्ने प्रधानाध्यापक कृष्णप्रसाद सुवेदीले बताए।

नगरपालिकाले चालू आवमा नगरभित्र नमूना विद्यालय विकास कार्यक्रम ल्याएर विद्यालयलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेको थियो । नगरको कार्यक्रमलाई कार्यान्वयन गर्ने क्रममा वडाध्यक्षले चासो दिएपछि विद्यालयको मुहार फेरिएको छ । विद्यालयमा भौतिक पूर्वाधार सुविधासम्पन्न गराउने काम अहिले धमाधम चलिरहेको छ ।

निजी विद्यालय बन्द

अभिभावकले आफ्ना बालबालिकालाई समुदायिक विद्यालयमा लगेपछि लहरेपिपलमा सञ्चालनमा रहेको निजी विद्यालय बन्द भएको छ । कक्षा ४ सम्म सञ्चालनमा रहेको उज्ज्वल तारा आवासीय प्रावि विद्यार्थीको अभावमा बन्द भएको हो । यो विद्यालयबाट झण्डै ८० विद्यार्थी लहरेपिपल माविमा भर्ना भएको प्रअ सुवेदीले बताए । सुवेदीले भन्नुभयो, “नगरपालिकाले नमूना विद्यालय बनाउने घोषणा गरेपछि विद्यालयको वातावरण नै नयाँ बन्दै गइरहेको छ ।”

शिक्षकलाई तहगत जिम्मेवारी

लहरेपिपल माविको शैक्षिक सुधारका लागि विभिन्न तहमा शिक्षकलाई जिम्मेवारी दिइएको छ । “प्रायः सामुदायिक विद्यालयका शिक्षक आफूले पूरा गर्नुपर्ने कक्षाबाहेक अन्य गतिविधिमा ध्यान दिएको कमै पाइन्छ”, वडाध्यक्ष खिमराज सापकोटाले भने, “हामीले विद्यालयमा कार्यरत सबै शिक्षकलाई कुनै न कुनै जिम्मेवारी दिएका छौँ ।” विद्यालयमा कार्यरत शिक्षकमध्ये कार्यक्षमताको आधारमा तहगत संयोजक बनाइएको छ ।

विद्यार्थी आकर्षित गर्न गरिएका सुधार

खुला विद्यालय परिसरमा बुङ्बुङ्ती धुलो उड्ने गरेको खेल मैदानमा सामुदायिक वनसँग सहकार्य गरेर ढुङ्गा बिच्छ्याइएको छ । विद्यालय परिसरमा तारबार गरिएको छ । “पहिलेपहिले दिउँसोको खाजापछि विद्यार्थीलाई विद्यालयमा भेट्नै गाह्रो हुन्थ्यो”, कक्षा ६–८ संयोजक शिक्षिका पवित्रा कँडेलले भनिन, “विद्यालय परिसरमा तारबार गरिएको छ, विनाजानकारी विद्यार्थी बाहिर जान सक्दैनन्, जसका कारण सबै कक्षामा विद्यार्थी देखिन्छन् ।”

पानीको चरम अभाव रहेको लहरेपिपलमा केही ड्रमको व्यवस्था गरेर खानेपानी सहज बनाइएको छ । माध्यमिक र प्राथमिक तहलाई छुट्टाछुट्टै भवन र व्यवस्थापनमा राखेर पठनपाठन शुरु भएको छ । “साना कक्षाकोठा बालमैत्री बनाइएको छ, अपुग तीन शिक्षक करारमा नियुक्त गरेर पठनपाठनमा लगाएका छौँ ।” विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर केसीले भने “कमजोर विद्यार्थीलाई ट्युसन कक्षाको व्यवस्था गरिएको छ ।” पछिल्लो दुई वर्षयता वडा कार्यालयको पहलमा पुस्तकालय र कम्प्युटर कक्षाको व्यवस्थासमेत गरेकाले विद्यालयप्रति अभिभावक आकर्षित भएको वडाध्यक्ष सापकोटाले दाबी गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button