पोखरा न्यूज – ०३, जेठ । म्याग्दीको प्रसिद्ध धार्मिक र पर्यटकीयस्थल मालिका धुरीको नजीकै मोटर बाटो पुगेपछि बुद्धपूर्णिमाको दिन भाकल र पूजा गर्न मालिका मन्दिरमा जाने भक्तजन अब मोटरमा चढेर जान पाउने भएका छन् ।
मालिका गाउँपालिका–७ बिम र ६ दुखु तथा रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीको शिरमा रहेको मालिका धुरीलाई पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्नका लागि मालिका गाउँपालिकालाई सडक सञ्जालसँग जोडेको हो । मालिका–७ बिमबाङसम्म पुगेको सडकलाई विस्तार गरी मालिका धुरीको फेदीमा रहेको नागिथलासम्म पुर्याइएको छ ।
वडाको सिफारिसमा गाउँपालिकाबाट विनियोजन भएको रु ५० लाख बजेटबाट अहिलेसम्म करीब सात किलोमिटर नयाँ ट्र्याक खन्ने काम सकिएको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले जानकारी दिए । गाडीबाट झरेर करीब ४० मिनेटको पैदल यात्रापछि प्रसिद्ध धार्मिकस्थल मालिकाको धुरीमा पुग्न सकिन्छ ।
समुन्द्री सतहदेखि तीन हजार ४०० मिटरको उचाइमा अवस्थित मालिका धुरीमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि गाउँपालिकाले सडकको पहुँचसँगै अन्य पर्यटन पूर्वाधार निर्माणमा समेत जोड दिएको अध्यक्ष रोकाको भनाइ छ । सत्तल, अप्ठ्यारो ठाउँहरुमा रेलिङ, पदमार्गलगायत पूर्वाधार निर्माणमा तीव्र गति दिइएको उनले बताए । उनका अनुसार अन्य पर्यटन पूर्वाधार निर्माणका लागि चालू आवकै लागि गाउँपालिकाले थप रु १५ लाख बजेटसमेत विनियोजन गरेको छ ।
म्याग्दीका ३५ भन्दा बढी गाउँ देख्न सकिने मालिका धुरीबाट सिस्ने, गुर्जा, मानापाथी, धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लुलगायत २० भन्दा बढी हिमशृङ्खलाको लहरै दृश्य अवलोकन गर्न सकिन्छ भने यहाँबाट सूर्योदयको दृश्य मनमोहक देखिन्छ । मालिका क्षेत्रको जङ्गलमा पाइने लालीगुराँस, वन्यजन्तु, पक्षी, विभिन्न प्रजातिका फूल, जडीबुटी र वन पैदावार थप आकर्षण हो ।
धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न लागिएको मालिका धुरीमा पुजा गरेमा मनोकामना पूरा हुने धार्मिक मान्यतासमेत रहेको छ । यहाँ चण्डी पूर्णिमा, बुद्ध पूर्णिमा, भाइटीका र बालाचतुर्दशीमा पूजा तथा भाकल गर्नका लागि टाढाटाढाबाट भक्तजन आउने गरेका कृषि प्राविधिक शिक्षालय विमका संयोजक करन कँडेलले जानकारी दिनुभयो । मालिका, कालिका र जाल्पादेवीको मूर्ति रहेको मालिका मन्दिरमा भाकल पूरा भएमा बोका र परेवाको बली चढाउने चलन छ ।
विसं १९१० देखि पूजाआजा हुन थालेको इतिहास रहेको मालिकामा पछिल्लो समय बलिको विकल्पमा नरिवल चढाउने चलन बसाइएको छ । भगवान् शिव र पार्वती भ्रमणमा आएका बेला पार्वतीको माला खसेकाले मालिका नाम रहन गएको किंवदन्ती छ ।