पोखरामा निर्माणाधीन फुटवल मैदानको लागि एक करोड रुपैया उपलब्ध गराउने मन्त्री विश्वकर्माको आश्वासन

दीननाथ बराल, पोखरा न्यूज – ६, जेठ । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले पोखराको लामाचौर स्थित गोष्तेघाटमा निर्माण हुदै गरेको फुटवल मैदानको लागि एक करोड रुपैया विनियोजन गर्ने आश्वासन दिएका छन्।  निर्माणाधीन गोष्तेघाट खेल मैदानको शनिबार अवलोकन गर्दैै मन्त्री विश्वकर्माले सेतीनदी किनारामा जग्गाको सहि ढंगले प्रयोग गरी खेल मैदानको रुपमा प्रयोग गरेकोमा खुसि व्यक्त गर्दै पोखराको वैकल्पिक फुटवल मैदानको रुपमा विकसित गर्नको लागि पनि मन्त्रालयबाट थप एक करोड रुपैया विनियोजन गर्ने आश्वासन दिएका हुन्।

उक्त फुटवल मैदान सहितको खेल मैदानको बारेमा लामाचौर खेल मैदान विकास समितिका सचिव बुद्धि बहादुर खत्री क्षेत्रीले मन्त्री विश्वकर्मालाई जानकारी गराए पछि मन्त्रीले अन्तराष्ट्रिय स्तरको फुटवल मैदानमा आवश्यक पुर्वाधार निर्माणको लागि उक्त रकमको व्यबस्थापन सकभर यसै चालु आर्थिक बर्षमा अन्यथा अर्को आर्थिक बर्ष २०७६/०७७ मा विनियोजन गर्ने बताएका हुन् । समितिले मन्त्री समक्ष  उक्त मैदानको थप पुर्वाधार निमार्णको लागि एक करोड रकम आवश्यक भएको जनाएको  थियो ।प्राप्त रकमलाई फुटवल चेन्जीङ रुम र मैदानमा वालुवा सहितको माटो र मल राख्न तथा दुवो रोप्नको लागि खर्चिने भएको सचिव खत्रीले जनाए ।

उक्त खेल मैदानको अवलोकनमा मन्त्रीसंगै राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङ, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठ लगायतकाको सहभागिता रहेको थियो । गोष्तेघाटमा करिब ८७ रोपनी सार्वजनिक जग्गा रहे पनि समितिले करिब ७० रोपनी जग्गालाई खेल मैदानको रुपमा प्रयोग गरेको छ । अन्तराष्ट्रिय मापदण्डको पुरा हुने गरी समितिले ६५ मिटर चौडाइ र १ सय ५ मिटरको लम्वाइमा फुटवल मैदान निर्माण गरेको सचिव खत्रीले जनाए । उक्त फुटवल मैदान निमार्णको लागि हालसम्म करिब २ करोड ४३ लाख खर्च भएको उनले जनाए । उत्तर र पुर्व तर्फ करिब ५ हजार दर्शक क्षमताको प्यारापिट निर्माण भएको छ भने जाली समेत लगाइएको छ ।

समितिले सेभेन ए साइड फुटवलको समेत मैदान बनाउने तथा बास्केटवलको लागि बास्केटवल कोर्ट निर्माण गर्ने योजना अघि सारेको छ । स्थानिय नव आर्दश सामुदायिक विकास समाजको समन्वयमा २०७१ साल देखि गोष्तेघाटमा फुटवल मैदान सहितको अन्य खेल मैदानको निर्माण कार्य प्रारम्भ भएको हो । लामाचौरमै रहेको जय मनकामना बचत तथा ऋण सहकारी संस्थाले मैदान निर्माणको लागि सिड मनिको रुपमा पहिला २५ हजार रुपैयाँ सहयोग गरेको थियो । उक्त मैदान तयार भएसंगै साफ गेम्सको अभ्यास खेलको लागि प्रयोगमा ल्याउन पनि सकिने भएको सचिव खत्रीले जनाए ।

गण्डकी प्रदेशका सांसद तत्कालिन पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष दिपक कोइराला र जिल्ला खेलकुद विकास समितिका तत्कालिन अध्यक्ष सुमन देवकोटाले उक्त मैदान निर्माणको लागि मन्त्रालयमा फायल अघि बढाएको कारणले गर्दा गोष्तेघाटमा आज फुटवल मैदान निर्माण भएको सचिव खत्रीले जनाए । खेलकुद मन्त्रालयबाट करिब एक करोड ८० लाख, स्थानिय श्रोतबाट ३० लाख, सांसद विकास कोषबाट १५ लाख, पोखरा महानगरपालिकाबाट १४ लाख ९० हजार, केयर नेपालबाट ५५ हजार लगायतका बाट सहयोग प्राप्त भएको उनले जनाए । गण्डकी प्रदेशका सांसद एवं पुर्व मन्त्री कुमार खड्का, पुर्व सांसद शारदा पौडेल र चुडामणि जंगलीबाट सांसद विकास कोषको रकमबाट १५ लाख उक्त मैदान निर्माको लागि सहयोग प्राप्त भएको थियो ।

समितिका अध्यक्ष सुरेन्द्रमानसिंह भण्डारीले सवैको साथ र सहयोगले उक्त मैदान निर्माण भएको बताए । पोखरामा हुने कुनै पनि राष्ट्रिय एवं अन्तराष्ट्रिय फुटवल प्रतियोगिता हुदा अभ्यास खेलको लागि उक्त मैदान निकै उपयोगी हुने उनले जनाए । नेपाल सरकारका पुर्व सचिव बाबुराम आचार्यको पनि उक्त मैदान निर्माणमा महत्वपूर्ण भुमिका रहेको अध्यक्ष भण्डारीले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button