पोखरामा तायाः मचा नृत्य प्रतियोगितामा ३० टिम सहभागि हुने

दीननाथ बराल, पोखरा न्यूज – २५, साउन । पोखरामा हुने तायाः मचा नृत्य प्रतियोगितामा ३० टिम सहभागि हुने भएकाछन् ।  यही साउन ३१ र ३२ गते पोखराको बुद्ध विशाल बजार सडक क्षेत्रमै संचालन हुने प्रतियोगितामा पोखरा क्षेत्रका करिब ३५ टोलहरु मध्ये ३० टिमको सहभागिता हुने भएको आज (शनिबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

महेन्द्रपुल तायाः मचा समितिको आयोजना नेवाः खल कास्कीको आव्हान र नेपाल पर्यटन वोर्डको प्रवर्द्धनमा संचालन हुने प्रतियोगिताको विजेतालाई ३० हजार, उपविजेतालाई २० हजार, तेस्रो हुनेलाई १० हजार र शान्त्वना हुनेलाई ५ हजार पुरस्कार प्रदान गरिने भएको प्रतियोगिता संयोजक मानकाजी माकाजुले बताए ।

प्रतियोगितामा उत्कृष्ट ख्याली, उत्कृष्ट बाद्यबादक, उत्कृष्ट परि, उत्कृष्ट जोकरलाई जनहि २ हजार ५ सय रपैया प्रदान गरिने भएको छ । त्यसै गरी महिला सहभागी टोलीहरु मध्ये  प्रोत्साहन स्वरुप एउटा टोलीलाई उत्कृष्ट घोषणा गरी १५ हजार नगद प्रमाण-पत्र वितरण गरिने भएको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा रुपाकोट ज्योति सुन चाँदी दुकान रहेको छ ।

नेवारी कला, संस्कृति, भेषभुषाको संरक्षण गर्ने उद्धेश्यले प्रतियोगितालाई विभिन्न तायाः मचा समितिहरुबाट संचालन गर्न लागिएको नेवाः खल कास्कीका अध्यक्ष असोक पालिखेले बताए । २०५४ सालदेखि पोखरामा तायाः मचा प्रतियोगितालाई व्यवस्थित ढंगबाट आयोजना गर्न लागिएको उनले जनाए ।

टोल टोलका तायाः मचा समितिहरुलाई दरिलो पार्ने उद्धेश्यले हरेक बर्ष विभिन्न समितिबाट प्रतियोगिता विभिन्न ठाउँमा हुने गरेको अध्यक्ष पालिखेले बताए । समितिका अध्यक्ष ओमलाल वडगामीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सचिव विकल शाही लगायतले वोलेका थिए ।

करिब २ सय ५० बर्ष पुरानो यो संस्कृतिक परम्परालाई जोगाउन युनेस्को क्लब, पोखरा जेसिज, पोखरेली युवा सांस्कृतिक परिवारको महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो भने पोखरा नेवाः खल कास्कीको स्थापना पश्चात केही बर्षदेख नेवाः खल कास्कीको आव्हानमा तायाः मचा नृत्य प्रतियोगिताको जगेर्नामा ठुलो मद्धत पुगेको समितिको दाबी छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button